केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मेष राशिलाई पुस महिना केही संघर्षमय रहनेछ। समयमा आलस्य गर्ने प्रवृत्तिले काममा पछि परिनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। हातमा आएका केही अवसर गुम्न सक्छन् र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। बलजफ्ती प्रयत्न गर्दा काम बिग्रन सक्छ। समाजका अगुवासँग प्रतिस्पर्धा हुनेछ। खर्च लागे पनि स्रोत–साधन जुटाउन सकिनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ कार्य थालनी हुनेछ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै मनग्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ। अध्ययनतर्फ पहिलेको कमजाेर नतिजा सच्याउन मिहिनेत गर्नुहोला। सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला।
वृष राशिलाई पुस महिना स्वास्थ्य र आम्दानीका दृष्टिले कमजोर रहनेछ। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ। परिश्रमले थकान र अस्वस्थताले कमजोरी निम्त्याउन सक्छ। सामाजिक प्रभाव कमजोर बन्नाले तेज, आँट, पराक्रममा मलीनता आउनेछ। कमजोर समयमै शत्रुहरूले दुःख दिन सक्छन्। परिवारमा द्वन्द्व बढ्ने, काम रोकिने र आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्ने सम्भावना छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन् व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। धेरै लाभ नभए पनि निर्वाहमूलक व्यवसाय गर्न सकिनेछ। अनुसन्धानमूलक अध्ययनमा जुट्नेहरूलाई केही अवसर प्राप्त हुनेछन्। प्रतिकूल समयमा पनि सावधानीले उपलब्धि जोगाउन सकिनेछ। सुरुमा राेकिएका काम महिनाकाे उत्तरार्धमा सम्पादन हुनेछन्।
मिथुन राशिलाई पुस महिना सामान्य फलदायी रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर घर–परिवारमा मतभेद बढ्नाले मन भने अशान्त बन्न सक्छ। परिवेश रमाइलो देखिए पनि काम र पेसामा सन्तुष्ट हुन नसकिएला। आवश्यकता विचार नगरी किनमेल गर्दा अधिक रकम खर्च हुनेछ। कार्यक्षेत्रमा जटिल समस्या सुल्झाउनैपर्ने चुनौती आउन सक्छ। तापनि निरन्तर प्रयत्न गर्दा चिताएकाे काम सम्पादन हुनेछ। खर्च लागे पनि केही स्रोत–साधन जुटाउन सकिनेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। आफ्नो उपलब्धिमा दाबी गर्नेहरू पनि क्रमशः पछि हट्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। प्रतिकूल परिस्थितिमा पनि सावधानीले उपलब्धि जोगाउन सकिनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्।
कर्कट राशिलाई पुस महिना राम्रै उपलब्धिमूलक रहनेछ। स्थापित पेसा–व्यवसायले उचाइमा पुर्याउन सक्छ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले काम गर्ने जोश–जाँगर बढ्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुने समय छ। नियमित आम्दानी बढ्नाले पुरानो कर्जा, सापटी घटाउन सकिनेछ। अध्ययनमा सफलता मिल्नेछ। तर, समयमा आलस्य र अनावश्यक हठ गर्ने प्रवृत्तिले बेलाबेला विवादमा परिनेछ। अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। पारिवारिक असमझदारीले पनि काम राेकिन सक्छ। आफन्त र सहयाेगीसँग सदैव सुमधुर सम्बन्ध राख्ने प्रयास गर्नुहाेला।
सिंह राशिलाई पुस महिना आर्थिक दृष्टिले न्यून उपलब्धिमूलक रहनेछ। पेटको समस्याले सताउने हुँदा स्वस्थकर खानपानमा ध्यान पुर्याउनुहोला। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। उद्योग–व्यवसायमा थप लगानी जुटाउनुपर्ने हुन सक्छ। परिश्रम गर्नेहरूलाई भने सम्भावनाका बाटाहरू फेला पर्नेछन्। औजार र उपकरणमा खर्च बढे पनि कृषि–उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ। पशुपालनबाट पनि सामान्य लाभ उठाउन सकिनेछ। समस्या पर्दा सन्तान र सहयोगीका माध्यमबाट काम बन्नेछन्। व्यापारमा भने केही मन्दी आउने र धनको अभाव भइरहने सम्भावना छ। कम आम्दानी, अधिक खर्च, काममा विलम्ब, पढाइमा अवरोध, आलोचना जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। तापनि शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ।
कन्या राशिलाई पुस महिनामा संघर्ष गरेरै काम सम्पादन गर्नुपर्ने चुनाैती देखिन्छ। अवसर खाेज्दा व्यवधान पनि सँगसँगै आउनेछन्। अरूको भरपर्दा काम राेकिन सक्छ, स्वयं जुट्नुहाेला। कतिपय काममा मर्यादा र नियम मिचेर पनि अघि बढ्नुपर्ने हुन सक्छ। तापनि याे महिना लाभदायक रहनेछ। सुरुमा घरका समस्या सुल्झाउने प्रयास गर्नुहाेला। हठ गर्दा बाधा हुनेछ तर आँट गर्दा अप्ठ्यारै स्थितिमा पनि काम बन्नेछ। कृषि तथा पेसा–व्यवसायमा फाइदा हुनेछ। तर साझेदारी र सगाेलकाे सम्पत्तिमा विवाद आउन सक्छ। साथीभाइ, शुभचिन्तक र फरक मत राख्नेहरूलाई सम्मान गर्नुहाेला। बुद्धिकाे उपयाेगले चुनौती पार लगाएर पनि लक्ष्यमा पुग्न सफल भइनेछ। सेयर तथा साझेदारीमा फसेको धन उठाउन सकिनेछ। विद्यार्थीहरूलाई महिनाकाे उत्तरार्ध बढी फलदायी रहनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ।
तुला राशिलाई पुस महिना उत्साहवर्द्धक रहनेछ। अड्किएका काम सजिलै बन्नेछन् र नयाँ काम गर्न जाेश–जाँगर बढ्नेछ। परिस्थिति अनुकूल बन्दै जानेछ, नयाँ अवसर जुट्नेछन् र मिहिनेतले उपलब्धि दिलाउनेछ। धन, गरगहना र भाैतिक साधन जुटाउने समय छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। बल, तेज, पराक्रम बढ्नुका साथै आफ्नाे क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। उद्योगधन्दा तथा पेसा–व्यवसाय फस्टाउनेछ। आर्थिक पक्ष सबल बन्नेछ। तर हठ गर्ने बानीले साथीभाइ भने टाढिन सक्छन्। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। साथीभाइको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। भूमिको उपयोग र कृषिबाट प्रशस्त लाभ हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ।
वृश्चिक राशिलाई पुस महिनामा केही संघर्ष गर्नुपरे पनि सामान्य प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा केही मन्दी आए पनि नियमित आम्दानी भइरहनेछ। भौतिक सुख–सुविधा प्राप्त भइरहनेछन्। तर्कशक्ति बढ्नेछ र अध्ययनले उचाइको बाटो समाउनेछ। कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ। तर महिनाकाे उत्तरार्धमा स्थिति खस्किनाले सामान्य कामलाई समेत निकै प्रयत्न गर्नुपर्ने देखिन्छ। अभिव्यक्तिको लय कठोर बन्नाले साथीभाइ टाढिन सक्छन्। मौसमी प्रभावले ज्वराे र टाउकाे दुख्ने समस्या आउन सक्छ। फजुल खर्च बढ्नेछ। पहिलेका उपलब्धि जाेगाउने प्रयास गर्नुहाेला।
धनु राशिलाई पुस महिनामा केही उतारचढाव आउनेछन् । योजना ठूलो बने पनि उपलब्धि हातपार्न समय लाग्नेछ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ।प्रगति र उपलब्धि भन्दा पनि आत्मसम्मानका लागि संघर्ष हुनेछ। टाउको दुखाइ र आँखाको समस्याले सताउनेछ। सहयाेगी र शुभचिन्तकसामु बोलीको लयमा ध्यान पुर्याउनुहाेला। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण देखिनेछन्। पेसागत जिम्मेवारी बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ र बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। सामाजिक काममा रुचि बढ्नेछ। महिनाकाे उत्तरार्धमा पहिले गुमेको उपलब्धि हातपार्न सफल भइनेछ। महत्त्वाकांक्षाले पनि लक्ष्यमा पुर्याउन प्रेरित गर्नेछ। तार्किक क्षमता बढ्नेछ भने अध्ययनमा पनि प्रगति हुनेछ। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला, मिहिनेतले सफलता दिलाउन सक्छ।
मकर राशिलाई पुस महिना केही संघर्षमय रहनेछ। विवादास्पद काममा हात हाल्नाले दुःख पाइनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। काम बने पनि पूर्वार्द्धमा खर्च बढी हुनेछ। अधिक खर्च हुनाले अभाव सामना गर्नुपर्ला। परिस्थिति अनुकूल नभएसम्म कार्ययोजना अघि नबढाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। वादविवाद र मुद्दा–मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। पेसा–व्यवसायमा लगानी जुटाउन नसक्दा आयस्रोत कमजोर बन्नेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। यात्राको उद्देश्य प्राप्त नभई दुःख मात्र पाइनेछ। नियमित काम गर्न सकिनेछ तर नयाँ काममा जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ।
कुम्भ राशिलाई पुस महिनाभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। रोकिएका कामले गति लिनुका साथै आयस्रोत बढ्नेछन्। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। मिहिनेतले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। सेयर तथा व्यापारमा मनग्य फाइदा हुनेछ। भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ। मिहिनेतीहरूलाई नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने बलियो सम्भावना छ। राष्ट्रिय स्तरको मान–सम्मान प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। परिवारमा सुख–समृद्धि बढ्नेछ। सामाजिक तथा राजनीतिक वृत्तमा पनि प्रभाव बढ्नेछ। पहिलेको स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ। कर्मयोगले उचाइको बाटो समाउनेछ। दिगो काम तथा व्यवसाय प्रारम्भ हुने समय छ। अध्ययनमा प्रगति हुनेछ।
मीन राशिलाई पुस महिना उत्साहवर्द्धक रहनेछ। स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। राजनीतिक प्रभाव बढ्नेछ भने समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् र प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन्। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर जुराउनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुन सक्छ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। समाजमा तारिफयाेग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। व्यापारमा थन्किएका वस्तुसमेत बिक्री हुनेछन्। कृषितर्फ उत्पादन बढ्नाले मनग्य फाइदा हुनेछ। अध्ययनमा भने केही पछि परिने सम्भावना छ, मिहिनेत गर्नुहोला। सेयर तथा साझेदारीमा भने रकम अड्किने सम्भावना छ, सजग रहनुहाेला।