केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
वार्षिक राशिफल - कर्कट
२०८२ | वार्षिक राशिफल
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई २०८२ काे वर्षारम्भ आसलाग्दो देखिए पनि बीचमा केही कठिनाइ र उतारचढाव देखापर्नेछन् भने मध्यान्तरपछि स्थितिमा केही सुधार आउनेछ। तर वर्षको अन्त्यतिर शक्तिक्षयका साथै स्वास्थ्य, कर्म र धनमा समस्या आउने सम्भावना छ। सुरुमा आयभावका देवगुरु र पराक्रमका केतु विशेष शुभफलदायी र लाभदायक रहनेछन्। तर जेठ लाग्नासाथ बृहस्पति खर्चभावमा र राहु विनाशभावमा जाने हुँदा सन्तोषजनक आर्थिक उपलब्धि नहुन सक्छ। फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव देखापर्न थाल्नेछन् भने धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। विशेष गरी कर्जा लिएर काम गर्नेहरूलाई लगानी नउठ्ने चिन्ताले सताउन सक्छ। प्रतिकूल स्थानान्तरणले नाेकरीमा चुनौती देखापर्नेछ। विद्यार्थीहरूकाे अध्ययन र लेखनमा साेचेकाे उपलब्धि नहुन सक्छ। विदेश ताक्नेहरूलाई यात्रा सम्भावित देखिए पनि विदेशकाे बसाइ सहज नहुन सक्छ। राहु कष्टभावमा रहनाले शरीरमा चोटपटक, रोग, अर्थहानि, अवरोध, मानसिक चिन्ता जस्ता विघ्नबाधा आइरहनेछन्। धन तथा वाणीभावमा केतुको प्रभावले धन सञ्चयमा बाधा, आलोचना र वादविवाद निम्त्याउन सक्छ। भाग्यभावमा शनिकाे उपस्थितिले कार्यक्षेत्रमा गतिराेध आउनेछ। जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई प्रगतिका मार्गहरू अवरूद्ध रहनेछन्। काम बीचैमा राेकिने र समयमा सम्पादन गर्न नसकिने अवस्था रहनेछ। आफ्नाे कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। लामाे समय अरूका लागि उपयाेग भइनेछ। घर–परिवार तथा सन्तानका विषयमा केही चिन्ता बढ्नेछ। तापनि सद्विचारले प्रेरित हुनेहरूलाई त्याग र समर्पणको भावना जागृत हुनेछ। परोपकार तथा सत्कर्ममा धन उपयोग हुनेछ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहहरूको विधिवत् शान्तिकर्म र आफ्ना इष्टदेवको पूजा–आराधना गर्दा फाइदा हुनेछ। बृहस्पतिका लागि बगलामुखी र शिवजी तथा राहुका लागि वटुकभैरव र छिन्नमस्ताको दर्शन पूजा गर्नुहोला। शनिबाट शुभफल प्राप्त गर्न श्रीहनुमान् र काली भगवतीकाे आराधना गर्नुहाेला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, साउन, कार्तिक र फागुन महिना कष्टदायी रहनेछन्।