केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
वार्षिक राशिफल - तुला
२०८२ | वार्षिक राशिफल
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई २०८२ सालमा ग्रहहरूको अनुकूल प्रभावले सामान्य परिवेशबाट विशेष अवसरको लाभ लिँदै उत्साहजनक सफलताको उचाइतर्फ आरोहण गर्ने समय छ। सञ्चित र आर्जित कर्मफलको उपयोग गर्दै जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ। पहिलाे महिना केही संघर्षमय देखिए पनि जेठदेखि धर्मभावमा जाने बृहस्पतिको प्रभावले अध्ययनमा प्रगति हुनेछ र व्यावहारिक ज्ञानको उच्चता प्राप्त गर्न सफल भइनेछ। अध्ययन तथा रोजगारीका सिलसिलामा विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ। मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ। घरगृहस्थी सुखद् र आनन्दमय रहनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। यही वर्ष घर–परिवार र सन्तानसुखको योगसमेत रहेको छ। शनि र केतुकाे काे अनुकूल प्रभावले राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। आँटले काम लिनेहरूका लागि ठूलो अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। आम्दानीका नयाँ स्राेत फेला पर्नेछन्। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। सन्तानभावमा रहेका राहुकाे प्रभावले सन्तानको भविष्यप्रति चिन्ता बढ्न सक्छ। राहुकाे प्रभावले वर्षभरि पेटको समस्याले सताउन सक्छ। परीक्षाकाे मुखमा अध्ययनमा व्यवधान हुनाले राम्रो नतिजा ल्याउन मुस्किल पर्नेछ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखापर्न सक्छन्। प्रतिकूल समयमा ग्रहदेवताकाे विधिपूर्वक शान्तिकर्म गर्दा फाइदा हुनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा–आरधना गर्दा राहुको दोष शान्त हुनेछ। साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ। जेठ, असोज, कार्तिक र माघ महिना स्वास्थ्यका लागि अशुभ रहनेछन्।