
विश्व आदिवासी दिवस
संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन १९९४ लाई विश्व भरि रहेका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा घोषणा गर्यो र त्यही वर्ष, सम्मेलनले १० डिसेम्बर देखि सुरु हुने गरी विश्वका आदिवासीहरूको अन्तराष्ट्रिय दशकको पनि घोषणा गर्यो। २३ डिसेम्बर १९९४ मा, संयुक्त राष्ट्र सघंको महासभाले विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ को दिन अन्तराष्ट्रिय रूपमा मनाउनु पर्ने निर्णय गरेको थियो। आदिवासी जनसङ्ख्या सम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्य समूहले मिति १९८२ अर्थात् २०३९ बि.स.लाई अन्तराष्ट्रिय दशकको पहिलो बैठकको दिनलाई सङ्केत गर्ने गर्दछ। संयुक्त राष्ट्र सङ्घको पहिलो अन्तराष्ट्रिय दशकको लक्ष्य भनेको आदिवासी जनजातिहरूको मानव अधिकार, वातावरण, विकास, शिक्षा र स्वास्थ्य जस्ता समस्याहरू, विभिन्न क्षेत्रका आदिवासी जनजातिहरूले भोगिरहेका विभिन्न प्रकारका समस्याहरू समाधान गर्न का लागि अन्तराष्ट्रिय सहयोगलाई सुदृढ गर्नु थियो।पृष्ठभूमि: नेपालका आदिवासीहरू
नेपालमा गणतन्त्रको आगमन पछि आदिवासीहरूलाई आधिकारिक रूपमा आदिवासी जनजातिहरूको रूपमा वर्णन गरिएको छ। मुलुकको कुल जनसङ्ख्याको ३५.८१ प्रतिशत आदिवासीहरू देशको विभिन्न स्थानमा पूर्वदेखि पश्चिम, तथा उत्तरदेखि दक्षिणसम्म बसोबास गर्दै आइरहेका छन्। तर, आदिवासी जनजातिको लागि काम गरिरहेका संस्थाहरू भने यो प्रकाशित तथ्याङ्कको तुलनामा आदिवासी हरू अझ धेरै बढी हुन सक्ने दाबी गर्दछन्। जनसङ्ख्यामा एक महत्त्वपूर्ण हिस्सा ओगटेको तथ्यको बाबजुद पनि, इतिहास पल्टाएर हेर्दा आदिवासी जनजातिलाई भाषा, राजनीति, संस्कृति तथा अन्य विभिन्न अवसरहरूमा सीमान्तकृत गरिएको देखिन्छ।ई.श. २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२६ जात र अन्य जातीय समूहहरूले १२३ भन्दा बढी भाषाहरू बोल्दछन्। यहाँ बिर्सनु नहुने एक तथ्य के हो भने देशका ९० प्रतिशत भाषाहरू आदिवासी मानिसहरूले बोल्ने गरेका छन्। नेपालका आदिवासीहरूको हिमाल, पहाड र तराईको मैदानमा बसोबास गर्ने अर्थात् देशको विभिन्न स्थानमा बसोबास गर्ने सबैको आ-आफ्नै छुट्टै संस्कृति, तथा भाषाहरू साथ आफ्नै तौर तरिका र विश्वास प्रणाली हरू पनि छन्। देशका कूल ७५ जिल्लाहरू मध्ये २७ जिल्लामा आदिवासी जनसङ्ख्याको बाहुल्य रहेको छ। अधिकतर आदिवासीहरू देशको दुर्गम ग्रामीण क्षेत्रको पनि ग्रामीण इलाकाहरूमा बस्छन् र त्यहाँ उपलब्ध जमिनबाट आफ्नो र परिवारको दैनिक जीविका चलाउन बाध्य छन्।आदिवासीहरूको बारे बारेमा कुरा गर्दै गर्दा नेपालमा धेरै जसो सजिलै भेटिने आदिवासी हरू भनेका, थारु, झन्गड, धानुक, राजवंशी, गंगाई, संथाल, सतार, धिमाल, ताजपुरिया, मेचे, कोचे, किसान, मुण्ड, कुसबडिया, चेपाङ, आदि हुन्। तर, कुनै पनि व्यक्तिले यो नामको सूची पूर्ण गर्न सक्दैन किनकि यी आदिवासीहरू बाहेक नेपालका विभिन्न स्थानमा आदिवासी जनजातिहरूको अझै ठुलो संख्या रहेको छ।नेपाली संस्कृति, भाषा, धर्म, जैव-विविधता र सामाजिक सांस्कृतिक विविधताका हिसाबले एक धनी देश हो भन्ने कुरालाई नकार्न सकिँदैन। सन २००२ (बि.स. २०५९) मा नेशनल फाउन्डेसन (एन.एफ.डी.आई.एन) को माध्यमबाट नेपालमा आदिवासी जनजातिहरू मध्ये ५९ भन्दा बढी आदिवासी समुदायलाई औपचारिक र कानुनी मान्यताका साथ नेपाल सरकारले आदिवासी जनजातिहरूलाई कानुनी रूपमा आदिवासी जनजाति भनेर मान्यता दिने एवं चिनाउने काम गरेको छ।ई.श १९८२ (२०३९ बि.स) मा जेनेभामा आयोजना गरिएको आदिवासी जनसङ्ख्या सम्बन्धी पहिलो संयुक्त राष्ट्रसङ्घ कार्य समूहलाई मान्यता दिनका लागि विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस प्रत्येक वर्षको ९ अगस्टमा मनाइन्छ। डिसेम्बर २३, १९९४ (२०5१ बी.स) मा, संयुक्त राष्ट्र सधको साधारण सभाले अन्तराष्ट्रिय आदिवासी जनसङ्ख्याको अन्तराष्ट्रिय दशकको समयमा हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गर्यो।ई.श. २००४ (२०६१) को संयुक्त राष्ट्रसङ्घ सम्मेलनले विश्वका आदिवासी जनजातिहरूको दोस्रो अन्तराष्ट्रिय दशक (२००५-२०१४) घोषणा गर्यो, जसले दोस्रो दशकमा पनि आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गर्यो। दोस्रो दशकको लक्ष्य संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातावरण, र सामाजिक र आर्थिक विकास जस्ता क्षेत्रहरूमा आदिवासी जनजातिहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि अन्तराष्ट्रिय सहयोगलाई थप सुदृढ गर्नु रहेको थियो।आदिवासी दिवस किन मनाइन्छ
अप्रिल २००० (२०५७ बि.स.) मा मानवअधिकार आयोगले आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र सङ्घ स्थायी फोरम स्थापना गर्न प्रस्ताव पारित गर्यो जुन आर्थिक र सामाजिक परिषद्ले अनुमोदन गरेको थियो। फोरमको उद्देश्य आदिवासी हरू सम्बन्धित संस्कृति, आर्थिक र सामाजिक विकास, शिक्षा, वातावरण, स्वास्थ्य र मानव अधिकार सम्बन्धी विषयहरूमा छलफल गर्नु हो।आदिवासी समुदायहरूले स्वास्थ्य सेवामा धेरै कम पहुँच अनुभव गरिरहेका छन्, यसैले तिनीहरू विभिन्न रोगको सिकार भइरहेका पनि छन्। उनीहरूलाई यस समस्याहरूबाट बचाउन आवश्यक सेवाहरू, लगायत सरसफाइ सम्बन्धित जानकारीहरू र अन्य रोग रोकथामकारी उपायहरूमा उनीहरूको सहज पहुँच पुगेको छैन, जस्तै सफा पानी, साबुन, कीटनाशक, इत्यादि। त्यस्तै स्थानीय आदिवासी जनजाति बसोबास गर्ने स्थानीय क्षेत्रमा चिकित्सा सुविधाको अभाव नेपालको सबैभन्दा डरलाग्दो अवस्था हो किनकि कुनै पनि इलाका, हरू सम्म पहुँचयोग्य सडकहरू नहुनु वा भएको खण्डमा पनि विकटता जस्ता कुराहरूमा राज्य र सम्बन्धित निकाय हरूको तुरुन्त ध्यान जानु पर्ने आवश्यकता टड्कारो देखिन्छ। यस विषयमा धेरै देखिएको र अनुभव गरिएको अर्को कारक तत्त्वको कुरा गर्दा, आदिवासी हरू अवस्थित ठांउहरुमा स्थानीय चिकित्सा सुविधाहरू अक्सर कम सुसज्जित र कम कर्मचारीहरू रहेको पाइएका छन् जुन एकदम नै आधारभूत आवश्यकता तथा अवस्थाको स्वास्थ्य सेवा को लागी समेत पर्याप्त छैन। आदिवासी मानिसहरूले स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्न नसक्ने अवस्थामा अर्को समस्या, स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा कार्यकर्ताले उनीहरूले बोल्ने भाषाको ज्ञान नभएको कारण, भाषाको सामना गर्न नसक्नु पनि एक समस्या हो।आदिवासी मानिसहरू खाद्यान्न असुरक्षाको सामना पनि त्यतिकै गर्छन् उनीहरूको परम्परागत भूभाग र क्षेत्रहरू वा यहाँ सम्म कि जलवायु परिवर्तन प्रभावहरू को परिणाम समेत खेप्दै आइरहेका छन्। आदिवासी जनजातिहरू जलवायु परिवर्तन प्रभावबाट पनि प्रभावित छन् किनकि उनीहरू आफ्नो जीविकोपार्जनका लागि नाजुक इकोसिस्टममा निर्भर छन्। उदाहरणका लागि, उनीहरूले परम्परागत स्वदेशी ज्ञान र वातावरण ढाँचा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने गर्दछन्। आदिवासी जनतासँग विभिन्न स्थानीय बिउ बिजन र कृषिको धेरै प्रजातिहरूको ज्ञान छ जसले कृषि क्षेत्रमा लामो समयसम्म अनुकूल र टिकाउपन बढाउन मद्दत गर्दछ। यसैले आदिवासी जनजातिको आधारभूत आवश्यकता तथा अन्य विभिन्न आवश्यकताको बारेमा चेतना जगाउन प्रत्येक वर्ष अगस्ट ९ ले विश्वको आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ। विशेष गरी अब यस दिनको अवसरमा हामी उनीहरूको परम्परागत ज्ञान, उनीहरूका आवाज र आदिवासीहरूको ज्ञानको अवलोकन गर्न सक्छौँ र तिनीहरू प्रयोग पनि गर्न सक्छौँ।अन्तमा
देशमा आएको विभिन्न राजनीतिक परिवर्तन पछि, अहिले नेपालमा आदिवासी जनजातिको हितका लागि काम गरिरहेका विभिन्न सङ्गठनहरू छन्। आदिवासी जनजातिको अधिकार र पहिचानको लागि लड्ने प्रमुख उद्देश्यका साथ नेपाल सरकारले मान्यता दिएका विभिन्न स्वायत्त प्रतिनिधि छाता सङ्गठनहरू पनि प्रशस्तै छन्। त्यसैले आदिवासीहरूका लागि काम गरिरहेका, आदिवासीहरूका लागि समान र लोकतान्त्रिक समाज निर्माणमा योगदान पुर्याउने लक्ष्यको साथ जुटेका सङ्घ संस्था हरूका लागि आदिवासीहरूको हक हितका लागि राज्य सङ्ग मिलेर अगाडि बढ्ने उचित अवसर हातमा आएको छ । जुन संस्थाको नाम जे होस, तर के उनीहरूले आदिवासीहरूको लागि वास्तवमै केही गरिरहेका छन् वा छैनन् यो कुरा अबका दिनहरूमा महत्त्व राख्ने छन्। नामले होइन कामले, कसले आदिवासीहरूको लागि के गर्यो भनेर समयले बताउने छ। रत्नपार्क वरपरका जुलुसहरू वा टुँडिखेलमा भाषणले अब धेरै समय आदिवासीहरूलाई झुक्क्याउन सकिने छैन। जब सम्म यी संस्थाहरू साँच्चै आदिवासीहरूको हक हितका लागि कार्य गर्दैनन् र आदिवासी जनजातिको अधिकारको लागि साँचो प्रतिबद्धता देखाएर काम गर्दैनन् तब सम्म आदिवासीहरूले पनि उनीहरूलाई साँचो रूपमा विश्वास गर्ने छैनन्। जबसम्म राज्य र आदिवासी जनजातिहरूका लागि काम गर्ने संस्थाले आफ्नो काम इमानदारीताका साथ प्रदर्शन गर्दैनन् , आदिवासी जनजातिहरूको विकास र अधिकारका लागि यस दिन मनाउनु व्यर्थ हुनेछ।संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन १९९४ लाई विश्व भरि रहेका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा घोषणा गर्यो र त्यही वर्ष, सम्मेलनले १० डिसेम्बर देखि सुरु हुने गरी विश्वका आदिवासीहरूको अन्तराष्ट्रिय दशकको पनि घोषणा गर्यो। २३ डिसेम्बर १९९४ मा, संयुक्त राष्ट्र सघंको महासभाले विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ को दिन अन्तराष्ट्रिय […]

श्रावण शुक्ल पुत्रदा एकादशी
श्रावण शुक्ल एकादशीको नाम ‘पुत्रदा एकादशी’ हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीको महात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। यस एकादशीको व्रतकथा यसप्रकार रहेको छ:द्वापर युगको आरम्भतिर महिष्मती भन्ने देशमा महीजित नामका राजाले राज्य गर्दथे। उनको राज्य–व्यवस्था अति राम्रो भए पनि उनी पुत्रहीन हुनाले अत्यन्त दु:खी थिए। यही कारण उनलाई राज्य सुखदायक लाग्दैन थ्यो। उनी भन्ने गर्थे – अपुत्रस्य सुखं नास्ति इह लोके परत्र च। अर्थात् जसको सन्तान छैन, त्यसका लागि यो लोक परलोक दुवै पीडादायी हुन्छन् । त्यसैले उनले पुत्र प्राप्तिका लागि अनेक उपाय गरे, तापनि पुत्र प्राप्ति हुनै सकेन।यस्तैमा आफ्नो उमेर ढल्किन लागेको देखेर राजाले आफ्ना प्रजाका प्रतिनिधिहरूको सभा बोलाएर भन्न लागे– हे प्रजाजन, मैले यस जन्ममा कुनै पापकर्म गरेको छैन। त्यसैले मेरो भण्डारमा अन्यायपूर्वक कमाएको धन छैन। मैले देवता र ब्राह्मणहरूको धन कहिल्यै खोसेको छैन। कसैको धन असुल गरेको छैन। समस्त प्रजाजनलाई पुत्रजस्तै पालें । जघन्य अपराधीलाई पनि पुत्र तथा बान्धव ठानेर दण्ड दिएँ। कहिल्यै कसैलाई घृणा गरेको छैन। सबैलाई समान व्यवहार गरें। सज्जनहरूलाई सधैं पूजा गरें। यसरी धर्मको पूर्ण पालना गरेर राज्य गर्दा पनि मेरा पुत्र छैनन् । त्यसैले म अत्यन्त दु:खी छु। यसको कारण के हुन सक्ला ? कृपापूर्वक बताइदिनुभए आभारी हुने थिएँ।आफ्ना राजाको यो वेदना हरण गर्नका निमित्त मन्त्री र केही विशिष्ट जनहरू वनमा गए । त्यहाँ विशेष तपस्वी ऋषिमुनिहरूको दर्शन गरी परामर्श लिने विचार गरे। राजाको उत्तम कामनाको पूर्तिका लागि एक श्रेष्ठ तपस्वी मुनिको खोजी गर्दा उनीहरूले एक आश्रममा अति वयोवृद्ध धर्मका ज्ञाता, परमात्मामा मन लगाएर निराहार तपस्या गरिरहेका जितेन्द्रिय, जितात्मा, जितक्रोध, धर्मविद् एवं समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे। त्यस बेला लोमश ऋषिको कल्प व्यतीत भएर एउटा केश झरेको थियो।त्यस्ता ऋषिलाई उनीहरूले प्रणाम गरे। ऋषिले पनि तपाईंहरू के कामले आउनुभएको होला ? तपाईंहरूको भलाइ गर्न पाउँदा मेरो जन्म सार्थक हुनेछ भनी प्रश्न गर्नुभयो। लोमश ऋषिका वचनले आश्वस्त प्रजाजनले राजाको वृत्तान्त सुनाए र राजाको समस्या समाधान गर्ने उपाय सुझाउन आग्रह गरे।हामी उनै राजाका प्रजा हौं। अत: उनको पीडाले हामी पनि दु:खी छौं। तर, हजुरको दर्शनले हामीलाई यो संकटबाट मुक्ति मिल्ने विश्वास जागेको छ। किनकि महापुरुषको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन्। अब हजुरले कृपापूर्वक राजाको पुत्र हुने उपाय बताउनुहोस्।प्रजाजनको यस्तो प्रार्थना सुनेर ऋषिले आँखा बन्द गरी केही छिनका लागि ध्यानमग्न हुनुभयो। त्यसपछि ऋषिले राजाको पूर्वजन्मको वृत्तान्त बताउनुभयो– यी राजा पूर्वजन्ममा एक निर्धन वैश्य थिए। गरिबीका कारण यिनले धेरै नराम्रो कर्म गरेका थिए। यो एक गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्थे। एक समय ज्येष्ठ शुक्ल पक्षको द्वादशीका दिन मध्याह्न कालमा दुई दिनदेखि भोकै रहेकाले उनी एक जलाशयमा पानी खान गए। त्यहाँ भर्खरै ब्याएकी प्यासी गाई पानी खाइरहेकी थिइन्। उनले ती प्यासी गाईलाई पानी खान नदिई धपाएर आफूले मात्र पानी खाएकाले राजालाई यो दु:ख आइपरेको हो। एकादशीको दिन भोकै बसेको हुनाले उनी राजा भए र प्यासी गाईलाई जल पिउन लाग्दा धपाएकाले पुत्रविहीनताको पीडा सहनुपरेको रहेछ। यो कथा सुनेपछि समस्त प्रजाजनले उक्त पापबाट मुक्ति तथा प्रायश्चित्तको उपाय सुझाउन पनि आग्रह गरे।त्यसपछि लोमश ऋषिले भन्नुभयो– श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ। तपाईंहरू सबैले पुत्रदा एकादशीको व्रत गरी रात्रिमा जागरण गर्नुहोस्, यसले राजाको पूर्वजन्मको पाप अवश्य नष्ट हुनेछ र उनलाई पुत्रप्राप्ति पनि हुनेछ। लोमश ऋषिको उपदेश सुनेर मन्त्रीसहित सबै प्रजाहरू नगरमा आए र श्रावण शुक्ल एकादशीमा ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको व्रत र जागरण गरे। यसरी विधिपूर्वक व्रत एवं पारण गरिसकेपछि द्वादशीका दिनमा सबैले उक्त पुण्यफल फल राजालाई दिए। त्यही पुण्यका प्रभावले रानीले तत्कालै गर्भ धारण गरिन् र प्रसवकालपछि उनको अत्यन्त तेजस्वी पुत्र उत्पन्न भयो।यो कथा सुनाइसकेपछि भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभयो– हे राजन, यसरी श्रावण शुक्ल एकादशीको नाम पुत्रदा पर्न गयो। सन्तान सुखको कामना हासिल गर्नका लागि यस व्रतको पालना गरौं। यसको माहात्म्य मात्र सुन्नाले पनि मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ र यस लोकमा सन्तान सुख तथा परलोकमा स्वर्गको सुख प्राप्त गर्दछ।श्रावण शुक्ल एकादशीको नाम ‘पुत्रदा एकादशी’ हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीको महात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। यस एकादशीको व्रतकथा यसप्रकार रहेको छ: द्वापर युगको आरम्भतिर महिष्मती भन्ने देशमा महीजित नामका राजाले राज्य गर्दथे। […]

यल पञ्चदान
यल पञ्चदान। किम्बदन्ती अनुसार नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो “पञ्चदान पर्व”। पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण महिना मा पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ। यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। आजको पर्व “यल” अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम “यल पन्चदान” भएको हो। साथै, यही महिनामा गुँला पर्व पनि मनाउने गरिन्छ। शाक्य मुनी बुद्धलाई बुद्ध हुने भविष्यवाणी गर्ने बुद्ध नै दिपंकर बुद्ध थिए।पहिलो पटक आजको दिन पाटनमा मनाए बाहेक दोस्रो पटक भने भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ। एउटा प्रख्यात जनश्रुति अनुसार पाटन नगरमा भिक्षाका लागि भिक्षु दीपंकर आएका बेला उनलाई तत्कालीन राजाले धेरै दान दिए पनि उनले ग्रहण गरेनन्। त्यसै गरी त्यस बेलाको पाटनको गुइत विहारमा बस्ने लक्ष्मी थकु नामक एक गरिब महिलाले श्रद्धापूर्वक दिएको भिक्षा दान भने भिक्षु दीपंकरले बढो कृतज्ञताका साथ ग्रहण गरे। यो घटना सुनेपछि राजाले सुनारको रूपमा काम गरेर धन आर्जन गर्न थालेछन्। यसरी आफ्नै पसिनाले आर्जित धन बाट विभिन्न वस्तुहरू सङ्ग्रह गरी राजाले भिक्षु दीपंकर सामु समर्पण वा भिक्षा दान गरेको अवस्थामा भने उनले ग्रहण गरेछन्। यसै जनश्रुति अनुसार बौधमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ। यसरी आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ। यस पर्वमा बौद्ध मार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दीपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्।सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ “पुण्य दान” हुने गर्छ। र, नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत रहेको छ। यही महिनामा सम्पूर्ण नेपाली हरू माझ असारको धान रोपाई सकिए पछि साउन १५ को दिन खिर खाने चलन रहेको छ। यसरी घरमा पाकेको खिर दानको रूपमा बाहेक घर परिवार, नाता गोता, इस्ट मित्र सबैलाई खुवाउने चलन पनि रहेको छ। बौद्ध मार्गी नेवार समुदायले आज आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक सहित घरमा पनि दान शाला बनाउने र त्यहाँ बाट अन्न, फलफूल, गेडागुडी र दक्षिणा आदि दान दिने गर्छन्। बुद्ध धर्मका अनुयायी मध्ये बज्राचार्य, बुद्धाचार्य, शाक्य हरू अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन्। शाक्य मुनी बुद्धको बोधि ज्ञान प्राप्ति पछि विभिन्न मार्गहरूको रूपमा बुद्ध धर्म विकसित भयो। काठमाडौँ उपत्यकाका नेवारहरूमा ती विकसित मार्गहरू (श्रावक यान, महायान र बज्र यान) मध्ये बज्र यान बुद्ध धर्मको प्रभाव रहेको छ। यसरी बज्र यानि परम्परा अनुसार उनीहरूले विभिन्न संस्कृतिहरू विकास गरेका छन्। जुन परम्परा अनुसार विभिन्न चर्याहरू विकास अनि प्रयोग गरी यही जन्ममा नै बुद्ध हुन सकिने सिद्धान्त अपनाएको देखिन्छ। ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाका नेवार बौद्धहरूले प्राचीन कालदेखि नै दानको अभ्यासलाई निकै महत्त्वपूर्ण स्थान दिँदै आएका छन्। जस अनुरूप विभिन्न तरिकाले दान दिने अभ्यास पनि गर्दै आएका छन्। यसरी दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकास गरिएको पर्व नै पञ्चदान पर्व मान्न सकिन्छ। यस समुदायको साथै बौद्ध धर्ममा पनि यो पर्व बुद्ध बोधिसत्त्वको पूजा गर्ने पर्वको रूपमा परिचित रहेको छ। काठमाडौँ उपत्यकाको पाटनमा र अन्यत्र मनाइने पञ्चदान पर्व भन्दा भक्तपुरमा मनाइने पञ्चदान पर्वमा केही भिन्नता भने देख्न सकिन्छ। भक्तपुरमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका पाँच महाविहारमा विराजमान रहेका दीपंकर बुद्धका मूर्तिहरूलाई नगर परिक्रमा गराएर यो पर्व मनाइन्छ। यस परिक्रमाको क्रममा परम्परागत गुँला धाः बाजा बजाउने प्रचलन पनि रहेको छ, जुन बाजा पञ्चदान पर्वमा मात्रै बजाउने गरिन्छ। त्यस्तै गरी यो पर्वको उपलक्षमा परम्परागत विहार र बहीहरूमा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शन गर्ने पनि गरिन्छ ।भक्तपुरमा नगर परिक्रमा को क्रममा प्रशन्नशील महाविहार, झौर-बही, चतुर्ब्रम्ह महाविहार, जय कीर्ति विहार र कुथुबही विहारमा रहेका पाँच दीपंकरहरूलाई नगर परिक्रमा गराइने गरिन्छ। नगर परिक्रमा गराउनु अघि ती पाँच दीपंकरलाई सूर्यमढी अवस्थित आदिपद्म महाविहारमा भेला गराउने प्रचलन रहेको छ। यस भेलामा विशेष पूजाआजा गरे पश्चात् ती पाँच दीपंकर बुद्धलाई बाजागाजा सहित नगरका टोलहरू परिक्रमा गराइन्छ। उक्त परिक्रमामा दीपंकर बुद्ध सङ्ग-सँगै बौद्ध परम्पराअनुसार बौद्धमार्गीहरू दान पात्र जसलाई गुलुपा पनि भनिन्छ हातमा लिई भिक्षाटनमा सहभागी हुने प्रचलन रहेको छ। अन्त्यमा दीपंकरहरूलाई संयुक्त पञ्च दान गर्ने चलन अन्तर्गत टौमढी को पश्चिम डबलीमा सबै दीपंकरलाई लस्करै राखेर बाजा गाजा सहित संयुक्त पञ्चदान गरेर यो पर्व समापन गरिन्छ। भिक्षा दान अनि दान ग्रहणको परम्पराले दान दिने र लिने, दुवै पक्षको धार्मिक तथा आध्यात्मिक प्रगति र मोक्ष प्राप्त हुने विश्वास रहेको छ। मानव जीवनलाई सार्थक बनाउन अरूलाई सहयोग गर्नु पनि हो र यसरी दान गर्दा अलौकिक सुख: प्राप्त हुने भएकाले दान गर्नु, सहयोग गर्नु अनुसरणीय नै हो। जुनै पनि समुदायको पर्व अनुसरण गरेर गक्ष अनुसार सक्दो दान गर्नु राम्रो कुरा भएको हुँदा दान गरौँ सबैलाई मदद र सहयोग गर्ने बानीको विकास गरौँ।पञ्चदान पर्वको अवसरमा शील, शान्ति, प्रज्ञा, मैत्री-भावना, विश्वबन्धुत्व भावनालाई समेत साझा संस्कृतिका रूपमा विकास गर्दै नेपालको मौलिक र साझा संस्कृतिका रूपमा रहेका हरेक समुदाय अनि सम्पदाको अध्ययन, अन्वेषण र संरक्षण गर्नु हामी सबै नेपालीको साझा दायित्व र कर्तव्य हो। दुःखित मनमा मानवताको मलहम लगाउने कार्य अर्थात् दान सबैले गरौँ। पञ्चदान पर्व सबैले आ-आफ्नो ठाउँबाट मनाउने परम्पराको विकास गर्दै सबैको संस्कृति, पर्व इत्यादि को संवर्द्धन गरौँ। पञ्च दान पर्व / यल पञ्च दान पर्वको सबैमा नेपाली पात्रोको हार्दिक शुभ - कामना। श्रोत: पञ्च दान र यल पञ्चदान पर्वको बारेमा इन्टरनेटमा रहेका विभिन्न नेपाली वेब पत्रिकाहरूबाट जानकारी लिएर तयार पारिएको। यल पञ्चदान। किम्बदन्ती अनुसार नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो “पञ्चदान पर्व”। पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण महिना मा पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ। यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। आजको पर्व “यल” अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै […]