राष्ट्रिय छन्द दिवस

राष्ट्रिय छन्द दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
मार्च 3, 2022

राष्ट्रिय छन्द दिवस।  सामान्य अर्थमा छन्द भनेको लय हो। गद्यको नियम व्याकरण भए झैँ पद्यको नियम छन्द हुन्छ। कवितालाई लय दिने काम छन्दको प्रयोग बाट हुन्छ। छन्दको सामान्य अर्थ लय हुन्छ भने लय कविताको आधारभूत गुण। छन्द मिलाई कविता लेख्नु एक जटिल कार्य हो। छरपस्ट छरिएका भावनाहरूलाई क्रमबद्ध अनि लयबद्ध गर्दा छन्दको जन्म हुने गर्दछ। नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिए अनुसार आजको दिन नेपालमा राष्ट्रिय छन्द दिवस मनाउने गरिन्छ। पछिल्लो समय कविता अर्थात पद्यमा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउने अभियान अन्तर्गत कवि माधव वियोगीले २०५३ सालमा “छन्द बचाउ” अभियान सुरु गरेका थिए। त्यही अभियान सुरु भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ८ गतेको दिन राष्ट्रिय छन्द दिवस मनाउने गरिन्छ। 

पछिल्लो समयमा विभिन्न नयाँ प्रस्तुति त्यसमा पनि गीत कविता हरूमा छन्दको प्रयोग कम भइरहेको परिपेक्षमा छन्द बचाउ अभियान सुरु भएको हो। जब वर्णहरू या मात्राहरूको नियमित सङ्ख्याको विन्यासबाट आह्लाद पैदा हुन्छ, तब त्यसलाई छन्द भनिन्छ।  साहित्यमा, अझ भन्नु पर्दा कवितामा छन्द संस्कृतिको रक्षा गर्दै छन्द शैली अझ बढी उजागर गर्नका निमित्त यो दिवस मनाउने गरिन्छ। जब कवितामा मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, गेयहरू नियम सङ्गत रूपमा मिल्दछ, तब छन्दात्मक रचना तयार हुने हो। 

वेद एवं रामायण तथा महाभारत जस्ता काव्य रचना हरू पनि ती समयमा छन्द प्रयोग गरी लेखिएका थिए। रामायणमा “शार्दूल विकृडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै रहेको छ र ती संस्कृतका छन्दहरू हुन्। नेपाली कविता विशेषतः तीन स्रोतका लय वा छन्द विधानमा रच्ने गरिन्छन्। पहिलो संस्कृत परम्पराबाट आएका शास्त्रीय छन्द। दोस्रो नेपाली लोक परम्परामा प्रचलित लोक छन्द र तेस्रो पाश्चात्य परम्पराबाट आएको मुक्त छन्द। शास्त्रीय वार्णिक, मात्रिक, लोक छन्द आदिलाई बद्ध छन्द भनिन्छ। र, जसलाई हामीले गद्य कविता भन्छौ ती मुक्त छन्द हुन्। बद्धको अर्थ बाँधिएको भन्ने हुन्छ र मुक्तको अर्थ स्वतन्त्र वा बन्धनरहित भन्ने हुन्छ ।

छन्दले कवितालाई साहित्यका अन्य विधाहरू भन्दा भिन्न मौलिक साहित्य विधाका रूपमा प्रस्तुत गर्छ। छन्द ले कवितालाई मधुर अनि साङ्गीतिक बनाई भावक अर्थात् श्रोतालाई आह्लादित/आनन्दित गर्ने काम गर्दछ। नेपाली छन्द कविताको इतिहास पल्टाउँदा प्रथम नेपाली छन्द कविका रूपमा शक्ति वल्लभ अर्यालद्वारा वि.सं. १८३९ तिर रचिएको भनी अनुमान गरिएको कविता “तनहुँ भकुन्डो” लाई मानिँदै आएको छ। त्यस समयमा लेखिएको उक्त दुई पद्य श्लोक नै नेपालीमा लेखिएको पहिलो मुक्तकका रूपमा लिइन्छ। तनहुँ भकुन्डो वार्णिक छन्दको प्रयोग गरी लेखिएको छ। त्यसै गरी लोक लय/छन्दको प्रयोग गरी वि.सं. १८२६ मा सुवानन्द दास द्वारा लिखित ‘पृथ्वी नारायण’ कवितालाई नेपाली कविताको पहिलो स्वरूप मानिन्छ।  

कवि शिरोमणि लेखनाथ पौडेल, राष्ट्र कवि माधवप्रसाद घिमिरे, युग कवि सिद्धिचरण श्रेष्ठ, भरत राज पन्त जस्ता कविहरूले शास्त्रीय छन्दलाई प्रमुखता दिदै आफ्ना रचना हरूमा छन्दलाई विशेष प्राथमिकता दिएका थिए। नाट्य सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मी प्रसाद देवकोटाले मुक्त छन्दका कविताहरू लेखेका थिए भने देवकोटा शास्त्रीय छन्द, लोक छन्द र मुक्त छन्द गरी तीनै छन्द शैलीमा कविता र काव्य सृजनामा बेजोड रहेका देखिन्छन। त्यसै गरी मोहन कोइराला लगायत भूपी शेरचन जस्ता कविहरूले भने मुक्त-छन्दका कविताहरू लेखेका थिए।  कविता लगायत मुक्तक आदिमा छन्दको प्रयोग बाट श्रोता लाई चोटिलो प्रहार गर्दै आनन्दित तुल्याउन सकिन्छ। पक्कै पनि त्यस्तो चोटिलो प्रहार गर्न सक्ने कविता लेखन भने त्यति सजिलो छैन। चार हरफको बन्धनभित्र बाँधिएर कविता वा मुक्तक त्यो पनि छन्दमा लेख्न सक्नु पक्कै पनि सजिलो भने होइन। 

राष्ट्रिय छन्द दिवसको अवसरमा आज देशका विभिन्न साहित्यिक डबलीहरूमा छन्दमा लेखिएका कविता वाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गर्ने गरिन्छ। राष्ट्रिय छन्द दिवसको अवसरमा छन्दका कविता अनि काव्यहरू मन पराउनुहुने र यसको साधना गर्नुहुने सम्पूर्ण स्रष्टा र भावकहरूलाई नेपाली पात्रोको तर्फबाट हार्दिक बधाई तथा शुभकामना। यस अवसरमा श्री इन्दिरा प्रसाई द्वारा लिखित छन्द दिवसको एक लेख हामीले यहाँ राखेका छौ। 

छन्द अभियान र माधव वियोगी 

‘एकदिन नारद सत्यलोक पुगी गया लोको गरुँ हित भनी’

यस धरामा आएपछि होस् सम्हाल्दा नसम्हाल्दै सर्वप्रथम मेरा कानमा परेको श्लोक यही हो। मेरी आमा यो श्लोक बारम्बार गाउनु हुन्थ्यो। हुनत आमालाई गृहस्थी सम्हाल्दा हत्पति फुर्सत् त  हुँदैनथ्यो। तर फुर्सत् भइहाल्यो भने आमाले रातो कपडामा बेरेर राखेको पुरानो एउटा किताब खोलेर पढ्नु हुन्थ्यो। 

सायद मेरी आमाका लागि त्यस जमानामा त्यही एउटा किताब मनोरञ्जनको विशेष साधन हुनुपर्छ । किन भने उक्त किताब छुने बित्तिकै आमाको अनुहार नै उज्यालो हुन थाल्थ्यो। थाकेर लखतरान भएकी मेरी आमाले सबै थकान बिर्सिँदै गएझैँ भएर त्यो किताब खोलेर पढ्नु हुन्थ्यो। त्यतिबेलाको आमाको त्यो उज्यालो अनुहार र मीठो स्वर अहिले पनि मेरा कानमा गुञ्जिने गर्छ।  

त्यस जमानामा जब संसारमा टेलिभिजन अथवा मोबाइल र युट्युबको कल्पना पनि भएको थिएन र अझ हाम्रा घरमा त रेडियो नै पनि निकै पछि आएको थियो। यो कुरा अक्षरसँग मेरो परिचय हुनु अघिको हो। 

त्यसबेला अक्षर पढ्न सिकेपछि “त्यो किताब त म पढ्छुपढ्छु” भन्ने मलाई लाग्थ्यो। तर आमाले त्यो किताब हामीलाई पल्टाउन त परै जाओस् राम्रोसँग छुन पनि दिनु हुन्न थियो। कपडामा बेरेर राखिने त्यो किताब पढिसकेर आमाले पूजाकोठामा भएको उहाँको विशेष काठको दराजमा थन्क्याउनु हुन्थ्यो। र त्यस दराजमा ताल्चा पनि लाउनु हुन्थ्यो। त्यस ताल्चाको साँचो पनि ठूलो  साँचाकै झुप्पोमै हुन्थ्यो। जुन झुप्पो एउटा रुमालमा गाँठो पारिएको हुन्थ्यो। अनि त्यो रूमाल आमाको कम्मरमा सिउरिएको हुन्थ्यो। यसरी आमाले कसैले हत्तपत्त छुन पनि नपाउने गरी थन्क्याउने गर्नु भएको सो किताब अप्राप्य झैँ भएकैले पनि हुन सक्छ उक्त पुस्तक मेरा लागि निकै महत्त्वको थियो। यो कुरा पनि म किताबको दुनियाँमा आउनु अघिकै हो।  

खासमा मैले धेरै पछिमात्र बुबाको मुखबाट थाहा पाएकी थिएँ, त्यो किताब दुई कारणले मेरी आमाका लागि प्रिय रहेछ। एक त उहाँले सोही किताबबाटै सावाँ अक्षर चिन्नु भएको रहेछ; अनि अर्को मेरी आमाले हजुरआमासँग मागेर सोही किताब माइतीबाट दाइजो ल्याउनु भएको रहेछ। त्यसैले हामी सबै चुल्बुले केटाकेटीको सिकार हुनबाट जोगाउन उक्त किताबलाई अमूल्य निधि झैँ सुरक्षित राख्नुहुँदो रहेछ मेरी आमा। अनि जब सोही पुस्तकबाट अक्षर सिकेकी मेरी आमा दुर्गादेवी नेपालले आफ्नो अदम्य ईच्छा र साहसका कारण ‘बगेको खोला’ (२०७२) आत्मकथा नै लेख्नु भएपछि भने मलाई उक्त मेरी आमाको प्रिय किताबप्रति थप गौरव भएको छ। 

अलि ठूली भएपछि उक्त किताब नै आदिकवि भानुभक्त आचार्यको प्रख्यात कृति ‘रामायण’ भएको मैले थाहा पाएकी थिएँ। त्यसैबीच  रामायणकै अर्को किताब बुबाले किनेर घरमा ल्याउनु भएको थियो र मैले त्यसपछिमात्र  ‘रामायण’ मज्जाले छुन र पढ्न पनि पाएकी थिएँ। तर आमाले झैँ लय हालेर पढ्न मलाई कहिल्यै आएन। अर्थात् सिक्ने कोशिसै पनि गरिन् भन्नू उपयुक्त हुन्छ। 

लयका कविता भनेको छन्द हो र छन्द थरिथरिका हुन्छन् भन्ने कुरा सात आठ कक्षामा पढ्न थालेपछि मैले चाल पाएकी हुँ। त्यति बेलासम्ममा म  स्कूलका कतिपय कवि गोष्ठीमा कविता सुनाउने पनि भइसकेकी थिएँ भने साथीहरूका लागि अटोग्राफका पन्नामा नाउँको लहर मिलाउने कविता लेख्नमा सिपालु पनि थिएँ। अनि त्यतिबेला नै साथीहरूका लागि प्रेमपत्र लेखिदिने काम पनि फाट्ट फुट्ट चल्न थालिसकेको थियो। त्यो मेरो बाल जीवनको पेसै थियो। जस बापत मलाई साथीहरूले उनीहरूका घरबाट ल्याएको वा किनेर भए पनि टिफिनको समयमा खाजा खुवाउने गर्थे। 

त्यति बेला हाम्रा विद्यालयका किताबहरूमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी प्रवृत्ति पद्य कविहरूका कविता  मैले नपढेको पनि होइन। तर यी त पाठ्य पुस्तकका घोकन्ति विद्यामा परेका थिए। अनि मेराओरिपरि जताततै भने गद्य कविताकै सेरोफेरो थियो। साथै गोपालप्रसाद रिमाल, भूपी शेरचन, ईश्वरवल्लभ, मोहन कोइरालाआदि गद्य कविहरूको डङ्का बजेको पनि त्यो समय थियो। 

तर छन्दमा कविता लेख्नुपर्छ भन्ने प्रेरक पथ मैले कतैबाट पनि नपाएको  भने सत्य हो।

छन्द भनेको पुरानो शैली, गाइने वा बूढाबूढीले गाउने रामायणजस्तै गीताङ्गी हो भन्ने किसिमले त्यतिबेला चल्ने चर्चाका प्रभावले मेरो मन पनि जितेको थियो। छन्दमा लेख्नेहरू ‘डेट एक्सपायर्ड’ साहित्यकार हुन् भन्ने नै त्यतिबेला मैले पनि बुझेकी थिएँ।

छन्दकवि भन्ने बित्तिकै अलि हियाउने किसिमको प्रवृत्तिरुपि सरुवा रोगको सिकार पनि म भएकै थिएँ। त्यसैले आधुनिक कवि हुने लहडमा धमाधम गद्य कविताकै बाटोमा म पनि अघि बढेँ। 

त्यसपछिका समयमा म जति जति वयका साथै वैचारिक पनि प्रौढतातर्फ उन्मुख हुन थालेँ अनि छन्द कविताको अर्थ र अौचित्य पनि मेरा सामू क्रमशः उघ्रिन थाल्यो। संस्कृत साहित्यका महत्तम ग्रन्थहरूका पनि जानकारी हुँदै गएपछि भने मलाई बितेको समयप्रति दुखेसो भएको छ। संस्कृत भाषा नजान्नु, शास्त्रीय छन्दबद्ध कविता लेख्न नसक्नु तथा शास्त्रीय सङ्गीत नजान्नु मेरा लागि ज्यादै ठूलो अज्ञानता रहेछ भन्ने भास मलाई भएको छ। तर समय बितेपछि उघ्रेको आँखा सरह भएर अब यी सबै मेरा लागि मरुभूमीको मृगतृष्णा सरी पनि भएको छ। यसबेला त म फगत् बितेको समयप्रति केवल निरस तर लोभिलो दृष्टिमात्र फर्काउने निरर्थक प्रयत्न गर्न सक्छु। 

वास्तवमा छन्द नै जीवनको गति रहेछ। बेछन्दको जीवनको त अर्थै रहेन छ। छन्दबाट टाढा हुने कवि र आमाविनाको शिशुको अवस्था झन्नै झन्नै उस्तै हुने रहेछ। कस्तो रहेछ त्यो पाषाण समय जस्ले हामीलाई हाम्री छन्दमाताबाट टाढा राखेछ। मलाई बितेको समयप्रति दुखेसो मात्र छ।

मलाई लाग्छ संस्कृत शिक्षालाई पाखा पारिनु हाम्रो समाज अधोमुखी हुँदै जानुको प्रमुख कारण हो। अर्को कुरा मानव जीवनलाई शिष्ट र मर्यादित बनाउन बालबालिकालाई बेलैदेखि संस्कृत भाषासाहित्य र छन्दको ढाँचामा पनि सामेल गरिनु पर्छ। वास्तवमा समाजलाई छन्दको लयमा आबद्ध गर्न सके धेरै किसिमका विसङ्गतिहरूबाट मुक्त पार्न सकिन्छ भन्ने मलाई लागेको छ। नव नेपालको निर्माण गर्ने हो भने बालबालिकाहरूलाई माध्यमिक तहसम्मको शिक्षामा अङ्गेजी भाषा र विज्ञान प्रविधिका साथसाथै यदि संस्कृत भाषा, परम्परागत संस्कृति, नैतिक शिक्षा, योग र प्रकृतिपरक ज्ञानका साथै छन्द कविताको जगसमेत बसाल्नु पर्छ। तब हाम्रो नेपालको भविष्य पनि सुरक्षित र स्वस्थ्य हुन्छ भन्ने पनि मलाई विश्वास छ।

मेरो त अब उर्वर समय समाप्त प्रायः भइसकेको छ। यति बेला छन्दको कखरा सिकेर महाकाव्यको रचना गर्ने धृष्टतामा बाँकी रहेको जीवन गतिलाई मैले अवरुद्ध पार्नु पनि हुँदैन। 

अहिले कल्पन चाहिँ म पनि सक्छु, माधव वियोगीजस्ता गुरु मैले पनि त्यतिबेला पाएको भए म अवश्य पनि छन्दकै विद्यार्थी बन्ने थिएँ होला।अनि वर्तमान पुस्ता र भावी पुस्ताका भाग्यमानी युवाहरूप्रति ईर्ष्या गर्नबाट पनि मलाई कसैले रोक्न सक्दैन। ती भाग्यमानीहरूको आरिस गर्नबाट पनि मलाई कसैले पञ्छाउन सक्तैन। जसले माधव वियोगीजस्ता सकारात्मक, सरल, शान्त, प्रतिभाशाली, परोपकारी र निष्काम कर्मयोगी गुरु पाएका छन्। 

नेपाली साहित्यका प्रत्येक विधाले माधव वियोगीजस्तै एकनिष्ठ, शिष्ठ, मर्यादित र अनुशासित विशिष्ठ स्रष्टा एवम् अविरल अभियन्ता पाउन सके समग्र नेपाली साहित्यको विकासका लागि कसैले चिन्ता गर्नु पर्ने थिएन। 

कर्मनिष्ठ माधव वियोगीबाट छन्द अभियानका सन्दर्भमा विश्वव्यापी आन्दोलन र यसले पाउँदै आएको उच्चतम सफलताप्रति गर्वले शिर ठाडो पार्दै  यसबेला म उहाँको जिन्दावादको नारा घन्क्याउँछु। 

  • जय छन्द अभियान ! 
  • जय माधव वियोगी ! 

© इन्दिरा प्रसाई

राष्ट्रिय छन्द दिवस

यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Related Posts

इन्द्रजात्रा

मार्च 2, 2017
By श्यामलाल श्रेष्ठ

भानु जयन्ती

जुलाई 12, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

चैते दसैं

अप्रील 1, 2020
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    Raju Sah

    Dhati

    विना श्रेष्ठ

    सस्कृति, परम्परा, माैलिक तथा नैतिक शिक्षा कायम रहाेस छन्द दिवसकाे सबैमा शुभकामना


Reply to Raju Sah जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Nepal

Lalitpur, Nepal
Bagmati
Nepal
No upcoming events

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!