खण्डग्रास चन्द्रग्रहण

खण्डग्रास चन्द्रग्रहण

By उपप्रा. लक्ष्मीप्रसाद बराल
अक्टोबर 28, 2023

आज राति नेपाललगायत एसिया, अफ्रिका, युरोप र अस्ट्रेलियाका मुलुकहरूबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ। नेपालमा राति १ः१९ बजेदेखि २ः३८ बजेसम्म ग्रहण देख्न सकिनेछ। नेपाली पञ्चाङ्गअनुसार जम्मा १ घण्टा १९ मिनेट देखिने ग्रहणको मध्यकाल राति १ः५९ बजे रहनेछ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ।

चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ। चन्द्रमाको पूरै भाग छायाभित्र पसेको अवस्थामा खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र पसेको अवस्थामा खण्डग्रास चन्द्रग्रहण देखिन्छ। चन्द्रग्रहण लाग्ने परिस्थिति वर्षमा दुईपटक मात्र सिर्जना हुन्छ।

चन्द्रग्रहणलाई खुला आँखाले पनि हेर्न सकिन्छ। तर सूर्यग्रहण खुला आँखाले हेर्न अत्यन्त हानिकारक हुन्छ।

तर ज्योतिषशास्त्रबमोजिम चन्द्रग्रहण पनि सबैले हेर्न मिल्दैन। आज मेष राशिअन्तर्गत अश्विनी नक्षत्रमा चन्द्रग्रहण लाग्ने हुँदा मेष राशि र अझ अश्विनी नक्षत्र हुनेहरूलाई ग्रहणको प्रतिकूल प्रभाव देखापर्न सक्छ। आजको ग्रहणफल विचार गर्दा मेष राशिलाई घात, वृषलाई व्यय र मिथुनलाई लाभ कर्कटलाई कर्मसुख, सिंहलाई मानहानि, कन्यालाई कष्ट, तुलालाई दाम्पत्यमा समस्या, वृश्चिकलाई सुख, धनुलाई चिन्ता, मकरलाई व्यथा, कुम्भलाई श्रीप्राप्ति, मीनलाई क्षति हुने देखिन्छ।

चन्द्रग्रहण लाग्नुभन्दा ९ घण्टा अघिदेखि ग्रहणको सूतक लाग्ने हुनाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन। यसर्थ दिनको ४ः१९ बजेदेखि अशक्त बालक, वृद्ध र आतुरबाहेक अन्यलाई भोजन गर्न हानिकारक हुन्छ। ग्रहण लाग्ने समयमा शयन, खेलकुद, हास्यविनोद, शृंगार, मूर्तिस्पर्श आदि गर्न हुँदैन। शास्त्रवचनअनुसार ग्रहणको समयमा सुत्नाले आयु क्षीण हुन्छ, पिसाब गरे दरिद्र हुन्छ, दिसा गरे अर्को जन्ममा किराफट्यांग्रा हुन्छ, विषयवासनामा लिप्त रहे सुँगुरको जुनी प्राप्त हुन्छ, शृंगार गरे कुष्ठरोग लाग्छ, भोजन गरे दुर्गति हुन्छ, अरूलाई बन्धनमा राखे सर्पको जुनी प्राप्त हुन्छ, हिंसा गरे नरकको भागीदार बन्नुपर्छ।

ग्रहणको समयमा स्नान, तर्पण, श्राद्ध, जप, होम, भजन, कीर्तन, अनुष्ठान, दान, मन्त्रसिद्धि, तन्त्रविद्या साधनाजस्ता धार्मिक तथा आध्यात्मिक कार्यहरू गर्नु अत्यन्त लाभदायक मानिन्छ।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

Comments

    Sonu kumar sah

    chantran grahan

    DayaRam yadav

    all

    Naresh Bohara

    no


Reply to DayaRam yadav जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ