३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त - www.onlinepana.com
काठमाडाैं । देशमा विदेशी विनिमय सञ्चिति ३० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चार महिनामा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । २०८२ असार मसान्तमा यो रकम २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । The post ३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).