एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय - kendrabindu.com
संयुक्त राष्ट्र । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँग नजिकबाट समन्वय गर्दै राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जानकारी दिए । उनका अनुसार श्रीलङ्कामा संयुक्त राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले सरकार नेतृत्वको उद्धार र क्षति मूल्याङ्कनमा सक्रिय साथ दिएका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, सरसफाइ सामग्री, भान्सा सम्बन्धी आवश्यक सामान, पानीका ट्याँकी लगायतका आपत्कालीन सामग्री पुर्याइएको छ, साथै विस्तृत क्षति मूल्याङ्कन र प्रारम्भिक पुनःस्थापनाका कामहरू पनि अघि बढाइएका छन् । भियतनामका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूका लागि संयुक्त राष्ट्र आकस्मिक राहत समन्वयकर्ता टम फलेट्चरले संयुक्त राष्ट्र आकस्मिक राहत कोषबाट २६ लाख डलर बराबरको रकम छुट्याएका छन् । यस सहयोगले बसोबास, खानेपानी, सरसफाइ र खाद्य सुरक्षासम्बन्धी कार्यहरू मजबुत बनाउनेछ, जसले सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने प्रवक्ताले बताए । इन्डोनेसियामा आचे क्षेत्र भीषण बाढीले थलिएको अवस्थामा सरकारको नेतृत्वमा भइरहेको राहत कार्यलाई चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद निरन्तर अघि बढाइएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघले स्वास्थ्य, खानेपानी, सरसफाइ र रसद व्यवस्थापनमा सरकारसँग समन्वय गरी सहयोग गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रहरूमा भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको र आवश्यकताअनुसार सम्बन्धित देशका सरकारी निकायहरूसँग निरन्तर समन्वय जारी राख्ने जनाएको छ । अविरल वर्षा र उष्णकटिबन्धीय चक्रवातका कारण दक्षिण तथा दक्षिणपूर्व एसियाका श्रीलङ्का, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम र मलेसिया सहितका देशहरू यस वर्ष दशककै सबैभन्दा ठूलो बाढी–पहिरो प्रकोपबाट प्रभावित बनेका छन् । -सिन्ह्वा