Redirecting...

छोरीलाई अर्को एउटा चिठी - sahityapost.com

छोरीलाई अर्को एउटा चिठी - sahityapost.com
Source: shpt

प्रिय छोरी, आज एउटा निरीह पुरुष बाबु तिमीसँग आँखा जुधाउने सामर्थ्यको अभावमा अक्षरका सहाराले आफ्ना केही विचार व्यक्त गर्दै छ । कृपया, झर्को नमानी पढ्छ्यौ, बुझ्छ्यौ र मनन गर्छ्यौ भन्ने आशा राख्छु । छोरी ! म सबैभन्दा पहिले तिमीलाई तिम्रो पहिचान ‘छोरी’ शब्दबाट नै सम्बोधन गर्दै छु । हुन त घरमा मैले तिमीलाई भला ‘छोरा’ शब्दले नै सम्बोधन गरेको किन नहुँ ! शायद त्यस छोराभित्र मेरो अभिमान जोडिएको छ अर्थात् म पुरुष भएको अभिमान ! हुन सक्छ, मेरो अवचेतन मनमा छोरा नभएको कुण्ठाको अभिव्यक्ति पनि । जे भए पनि ‘छोरी’ तिम्रो स्वत्व हो; तिम्रो पहिचान हो । सबैभन्दा पहिले तिमीले यही सम्बोधनभित्रको पहिचान खोज्नु छ, र स्थापित गर्नु छ । यसका लागि पुरुषभित्रको पुरुषत्वसित त लड्नु नै छ भने सँगसँगै महिलाभित्रको पुरुषत्वसँग झन् ठूलो युद्ध लड्नु छ । यसका लागि सबैभन्दा पहिले तिमीले आफैँसँग पनि लड्नु छ; कतिपय तिम्रा स्वाभाविक कमजोरीहरूसित लड्नु छ । जीवन भोगाइका चरणमा सदियौँदेखि स्थापित विभेद, हिंसा, पहिचान, परनिर्भरता, स्वतन्त्रता, आत्मसम्मान र अवसर जस्ता अनेकन विषयका बारेमा तिमी सजग र सतर्क हुनु छ । छोरी, तिम्रो स्वत्व भनेको तिमी नारी हुनु हो, र आफ्नो पहिचान स्थापित गर्नु हो । छोरी भएर जन्मनुको अर्थ मात्र होइन ‘नारी’ । फरक लिङ्गको लैङ्गिक पहिचान मात्र पनि होइन । जसरी जन्म स्वाभविक र प्राकृतिक हुन्छ, त्यसरी नै जन्मजात हरेक मानिसले पाउनै पर्ने व्यक्तिगत, सामाजिक, सांस्कृतिक र कानूनी समानताको हकदार हो नारी । आफ्नो स्वत्वका लागि बाहिरी सौन्दर्य र पोशाकलाई नारीको सङ्कीर्णताभित्र सीमित नगर्नू । ती तिम्रा कमजोरी बनेर शृङ्गार, पोशाक, भोजन आदि विषयका रूपमा उपस्थित हुन सक्छन् । यी जुन मानिसका पनि हुन्छन् तर तिमीले आफ्नो स्वत्वका लागि तिनलाई आफ्नो पहिचान बनाउनु हुँदैन । ती त केवल बाहिरी आवरण हुन्; वैयक्तिक अभिरुचि हुन् । ती तिम्रा पहिचान होइनन् । ती तिम्रा मात्र क्षणिक आवेग र संवेगका विषय हुन् । यदि कसैले तिमीलाई ती तिम्रा मात्र पहिचान नै हुन् भनेर स्थापित गर्न र गराउन खोज्छ भने सम्झनू– त्यसले तिमीलाई स्वतन्त्र हुन दिएको छैन । तिमी त्यस्ता विषयमा नअल्झनू बरु तिनको विवेकपूर्ण, रुचिपूर्ण प्रयोगमा अग्रसर रहनू र कटिबद्ध प्रतिवाद गर्नू । किनकि, त्यसले तिम्रो पहिचानलाई सङ्कुचित बनाउने छ । सम्झनू, यसले तिमीलाई कतै लक्ष्यविमुख बनाउने त छैन ? छोरी, तिमीले हरेक पाइला पाइलामा विभेदको सामना गर्नुपर्ने छ । त्यो पारिवारिक र सामाजिक विभेद जन्मनुपूर्वबाट शुरु हुन्छ । यो शृङ्खला म, तिम्री आमा र घरपरिवार हुँदै तिम्रा निकटस्थबाट गोरेटाका रूपमा कोरिएर समाज र राष्ट्रको व्यापक राजमार्ग बनिदिन्छ । तिमीलाई थाहा नहोला, तिमी कोखमा भएकै अवस्थामा हामीलाई अत्यन्त ‘प्रेम गर्छु भन्नेहरू’ले भ्रुणको लिङ्ग पहिचान गर्न अनौठो सुझाव दिएका थिए । शायद मैले त्यो सल्लाह त्यतिखेर मानेको भए आज तिमीलाई सम्बोधन गरेर यो चिठी पनि लेख्नु पर्दैनथ्यो । छोरी जन्मनु नै गलत मान्ने सामाजिक दृष्टिकोण बोकेको समाजमा तिमीलाई जन्माएर हुर्काउनु र सुरक्षित बचाउनु नै चुनौतीपूर्ण थियो, र छ । मेरा र तिम्री आमाका मनमा पनि त्यो कलुषित र नृशंस विचार उत्पन्न भएको भए मसँग अहिले कुनै छोरीलाई यो चिठी लेख्ने नैतिक साहस जीवित हुन्थ्यो ? हामीले तिनीहरूका कुरा सुन्यौँ तर निर्णय आफैँ गर्‌यौँ । हामीले ‘हाम्रा छोरी मात्र छन्’ भन्दा विश्वविद्यालयमा प्राध्यापन गराउनुहुने विद्वान् प्राध्यापकको ‘छोरीको गोत्र परिवर्तन हुने’ मुर्ख उपहास पनि सुन्यौँ । त्यस दिन लाग्यो, हाम्रा विश्वविद्यालयले कतै लैङ्गिक विभेद सिर्जना गर्दै त छैनन् ? हरेक पटकका भेटघाट र पारिवारिक जमघटमा ‘छोरा कहिले ?’ भन्ने प्रश्नको सामना गर्दै तिम्रो अनुहारमा हेरेर हामीले गर्व गरेका छौँ, र हाँसेका छौँ । किनकि, हामीले तिमीमा नै हाम्रो अस्तित्व देख्यौँ, तिम्रो पहिचान देख्यौँ, र स्वाभिमान पनि देख्यौँ । त्यसैले तिमीले पनि आफ्नो अस्तित्व जोगाउनू तर विचलित नहुनू । तिमी गर्भमा हुँदादेखिको यो दृष्टिकोण कदम कदममा विस्तारित छ । जन्मेदेखिन् तिमीले हरेकसँग यस विभेदका विरुद्धमा लड्नु छ । धार्मिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक पहिचानका आधारमा तिमीले मसँग, तिम्रै आमासँग, परिवारका अन्य सदस्य र समग्र यो समाजसँग डटेर लड्नु छ । तिमीले हरेस नखानू । लड्नुपर्ने यो भीषण यात्रामा सधैँ सधैँ यो निरीह बाबु तिम्रा पछाडि नहुन पनि त सक्छ ! छोरी ! तिमीले अकल्पनीय हिंसाको सामना गर्नुपर्ने छ । पहिलो कुरा त तिमीले ‘म’बाट नै जोगिनु छ अर्थात् बाबुबाट नै जोगिनु छ । पहिलो त समाजमा महिलामाथि हुने यौनहिंसा यति क्रूर र बर्बर छ, जो घरपरिवार र लोकप्रियताको मदले मत्तहरू पनि यस्तो बर्बरताको नायक बनेका दृष्टान्त छन् । समाजमा यस्ता बाबु पनि छन् जो आफ्नै छोरीमाथि यस्ता खाले हिंसा गर्न किञ्चित् सङ्कोच मान्दैनन् । म पनि त यही समाजको उत्पादन हुँ । तसर्थ तिमी हरेक पाइलामा आफ्नै बाबुबाट समेत बच्नुपर्छ । यो नसम्झनू, समाजको हरेक बाबु खराब छ । बरु सम्झनू, कोही कुनै बाबुका कारणले सबै बाबु बदनाम छन् तसर्थ तिमी सतर्क रहनुपर्छ । यो सधैँ नसम्झनू कि सधैँ सबैले तिमीलाई स्नेह गरिरहेछन्; सद्भाव प्रकट गरिरहेछन्; माया गरिरहेछन् । समाजका ‘कथित पुरुष’ दृष्टिबाट तिमी जोगिनु छ । म यतिखेर तिम्रो बाबु भएको र सँगसँगै पुरुष प्रतिनिधि पनि भएका नाताले तिमी र तिमी जस्तै छोरीमाथि हुने हिंसाप्रति लज्जित छु । के भन्नुँ र छोरी ! समाचारमा यस्ता विषय प्रकाशन र प्रसारण भएका दिन तिमीसँग आँखा जुधाउने साहस मसँग हुँदैन । म पुरुष भएकै नाताले र अभिभावक पनि भएकाले यस्ता विकृति र हिंसाको नैतिक हकदार पनि हुँ । मैले समाजका ‘कथित छोरा’लाई संस्कार सिकाउन सकेनछु । त्यसैले छोरी, मलाई माफ गर । तिम्रो बाबु पनि यसै समाजको हिस्सा भएकाले यी र यस्ता घटनाप्रति जिम्मेवार छ, लज्जित छ । छोरी, यो हिंसाको आयाम व्यापक छ । यस्तो खाले हिंसा हाम्रै घरपरिवारबाट शुरु भएर साथीसँगी हुँदै समाजभरि व्याप्त छ । यो हिंसा शारीरिक, मानसिक, सांस्कृतिक, पारम्परिक आदि विभिन्न रूपमा विकसित छ । तिम्रा सहपाठीबाट हुने, पेशागत जीवनमा सहकर्मीबाट हुने यौनजन्य हिंसाका बारेमा तिमी सचेत बन्नुपर्छ । सार्वजनिक स्थल र यातायातमा तिमीले भोग्नुपर्ने दुरवस्था त यहाँ उल्लेख गरेर के सम्भव होला ? तिमीसँग बोल्ने, नजिकिने, बोल्दा प्रयोग गरिने शब्द, तिमीप्रतिको हेराइ आदि पुरुषका दृष्टिकोणबाट तिमीले यो हिंसाको स्वरूप बुझ्नुपर्छ । यी यस्ता तमाम विषय र क्षेत्रमा तिमी संवेदनशील बन्नुपर्छ । तिमी कमजोर होइन, सशक्त बन्नुपर्छ । पहिचान र स्वाभिमानपूर्वक बाँच्ने तिम्रो अठोट हुनुपर्छ । किनकि, सधैँ सधैँ यी विषय सम्झाइरहने तिम्रो बाबु तिमीसँग नहुन पनि सक्छ । छोरी ! हाम्रा संस्कार र रीतिरिवाजले तिमीलाई नैतिकताको घुम्टो ओढाइदिएका छन् । तिमी नैतिकवान्, सभ्य र सुसंस्कृत बन्नका लागि यी कुरा गरिएका हुँदा हुन् त मेरो विमति रहँदैनथ्यो । तर मलाई लाग्छ, त्यस उच्च नैतिकताको घुम्टाले तिम्रो स्वाभिमान र स्वतन्त्रतामाथि धावा बोलेको छ । यही उच्च नैतिकताको शिरपोश म जस्ता पुरुषलाई पनि लगाइदिएको भए प्रश्न बारम्बार तिमीमाथि उठ्दैनथ्यो । अहिले प्रश्न केवल तिम्रो चरित्रमाथि उठ्छ; नियतमाथि उठ्छ । तिमी बलात्कार जस्तो जघन्य अपराधबाट पीडित हुँदा पनि प्रश्न तिमीमाथि नै उठ्दै छ । तिमी किन कुनै पुरुषसित गयौ, सँगै हिँड्यौ, खायौ वा तिमीले किन त्यस्तो पहिरन लगायौ ? आफ्नो विषयगत लोकप्रियताको उचाइ र उन्मादयुक्त पुरुषले कुनै ‘प्रशंसक छोरी’ लाई नगरकोट वा कार्यस्थलमा लगेर वा पुगेर अनुचित लाभ लिन्छ वा लिन खोज्छ, र पनि म गल्ती तिम्रै देख्छु । मेरो दृष्टिदोष र बौद्धिक दिवालियापनको शिकार तिमी नै हुनुपरेको छ । मलाई माफ गर किनकि नैतिकता र इज्जतको ठूलो भारी समाजले तिमीलाई जिम्मा लगाएको छ । हामी पुरुष त जति नैतिकहीन, चरित्रहीन र अविवेकी भए पनि शिर ठाडो पार्न सक्छौँ; गर्व गर्न सक्छौँ । हामीलाई यी सब विषयबाट पुरुष भएकै कारणले उन्मुक्ति छ । समाजले तिमीलाई संस्कारको घुम्टो ओढाएको छ नि है ? छोरी ! लोकप्रियता यस्तो मनोरोग रहेछ जुन लागेपछि नैतिकता, जिम्मेवारी, कर्तव्यबोध, बुद्धि र कानुन कुनै पनि विषयलाई बेवास्ता गर्न मिल्दो रहेछ र निर्धक्क त्यस्ता चरित्रहीनका बारेमा सार्वजनिक रूपमा प्रदर्शन गर्न, लेख्न र बोल्न पनि मिल्दो रहेछ । के गर्नु र ? आखिर म पनि त त्यस्तै पुरुष रहेछु । तिमीले त्यस्ता मनोरोगीको अहंको तुष्टिका लागि आफ्नो स्वत्व गुमाउनु हुँदैन । शायद समाजले म जस्ता पुरुषलाई महिलाप्रति गर्नुपर्ने सम्मानजनक व्यवहार सिकाएको भए यतिबेला म लज्जित हुनुपर्ने थिएन । तर छोरी, तिमीले हरेस नखानू; सबैसित लड्नू; विचलित नहुनू । तर, तिम्रो यो लाचार बाबु सदैव तिम्रा पछाडि सशरीर नहुन पनि त सक्छ । छोरी, तिमीले घरव्यवहारबाट देख्यौ; भोग्यौ र जान्यौ कि छोरी हुनुको अर्थ र पीडा । तिमीले शिक्षामा समान अवसर पाइनौ; तिमीले सङ्घर्ष गर्यौ । तिम्रो बाबुले शिक्षाको अवसर पाइरहँदा बाबुसमानकी तिम्री फुपू वनमा घाँसको डोको बिसाएर विरह पोख्दै हुनुहुन्थ्यो । धन्य ! तिमी छोरी भएर नै हाम्रो जीवनमा आयौ र त हामीले शिक्षामा लैङ्गिक विभेद गर्ने अवसर पाएनौँ । यदि तिमीसँगै तिम्रो दाजु वा भाइ पनि जन्मिएको हुँदो हो त पक्कै तिमीले घरमै यो विभेद भोग्नुपर्थ्यो कि ! त्यसैले तिमीले तमाम तिमी जस्तै छोरीहरूको शिक्षामा समान अवसरका लागि लड्नुपर्ने छ । अवसर प्राप्तिको लडाइँमा तिमीले धर्मपरम्परा र संस्कारसँग लड्नुपर्ने छ । क्षमता र कार्यसमय समान हुँदाहुँदै पनि पारिश्रमिक र सुविधामा तिमीले विभेद सहनुपर्ने छ । यस्तो विभेद अझ बढी असङ्गठित क्षेत्रमा हुने छ । तिमीले देखेकी छौ, एक्काइसौँ शताब्दीको आजका दिनमा कतिपय देश र समाजमा महिला भएकै कारण आफ्नो अनुहार पनि लुकाएर हिँड्नुपर्ने बर्बर हिंसा विद्यमान छ । भन त, यस्तो अवस्थामा शिक्षा र समान अवसरका लागि तिमीले कति सङ्घर्ष गर्नुपर्ला ? यो भीषण लडाइँ तिमीले एक्लै लड्नुपर्ने छ; तिमीलाई हराउन खोज्ने प्रशस्त हुने छन् । तिमीलाई थकाउने अनेक हर्कत हुन सक्छन् तर तिमी कदापि नथाक्नू । यस पवित्र यात्रामा तिम्रो बाबु सधैँ तिमीसँगै भौतिक रूपमा नहुन पनि त सक्छ । छोरी ! तिमीले आफ्नो रूप र बाहिरी सौन्दर्यमा घमन्ड नगर्नू । तिम्रो जीवनको सौन्दर्य तिम्रो आत्मसम्मान र स्वाभिमान हो । उमेरजन्य स्वाभाविक सौन्दर्य वा आकर्षणबाट तिमी प्रभावित बन्नु अन्यथा होइन । तर सम्झ त, के ती तिम्रा गन्तव्य हुन् ? कदापि होइनन् । एउटी स्वाभिमानी, सबल, आत्मनिर्भर र स्वतन्त्र पहिचानयुक्त नारी व्यक्तित्वको निर्माण नै तिम्रो लक्ष्य हुनुपर्छ । तिम्रो सपना तिम्रा बाबुआमा होइनन्, ती तिम्रो सपनाका सिँढी हुन् । तिनै सिँढी चढेर तिमीले सफलताको सगरमाथा चढ्नु छ । तिम्रो सपना घरपरिवार, समाज र राज्यबाट उत्पन्न उत्पीडनको अन्त्य हुनुपर्छ । जीवनमा आफूले चालेका जुनै क्षेत्रका सफलताको हकदार म मात्र हुँ भन्ने सोच्नु बुद्धिमानी होइन । जीवनमा लडिन्छ र त उठिन्छ । हारिन्छ, जितिन्छ । सबै क्षेत्रमा सफलता प्राप्त हुँदैनन् । औपचारिक शिक्षा, रोजगारी, सीप परीक्षण, वैदेशिक यात्रा, पेशागत जीवन, विवाह, सन्तानप्राप्ति आदि हरेक क्षेत्रमा आफूले सोचे जस्तो नहुन सक्छ । असफल भइन्छ । यत्तिमै जीवन सकिँदैन । शिक्षामा सोचे जस्तो नतिजा नआउन सक्छ । खोजे जस्तो रोजगारी नपाइन सक्छ । पेशा व्यवसायमा हानिनोक्सानी हुन सक्छ । विवाहमा विचार नमिल्ने पात्रसँग सम्झौता गरेर बाँच्नुपर्ने हुन सक्छ । आफैँले रोजेको व्यक्ति पनि खराब निस्कन सक्छ । जीवनमा विवाह नै नहुन पनि सक्छ । सन्तान नजन्मन सक्छ । के भयो त ? यस्तो हुन्छ । यस्तो हुने तिमी मात्र हुने छैनौ । यो तिम्रो मात्र होइन, अरूको पनि हुन्छ । तिमी छोरी अर्थात् नारी भएकै कारणले हुने पनि होइन । तिमीले यी तमाम विषयमा सम्झौता गर्नुपर्छ भन्ने आशय कदापि होइन । यसमा अरूको पनि जिम्मेवारी हुन सक्छ भन्ने हो । के जीवन यति मात्रै हो ? होइन, त्यसैले अरूका कारणले उत्पन्न कमजोरीलाई आफ्नो असफलतासँग जोड्न तिमी जत्तिकी छोरीलाई सुहाउँदैन । तिमीले ती सानाठूला असफलतालाई सँगाल्नुपर्छ, र तिनै असफलताको सिँढीबाट उचाइ चढ्नुपर्छ । एउटा ढुङ्गो पनि कुशल शिल्पीको छिनाको चोट खाँदा खाँदा सुन्दर मूर्तिमा परिणत हुन्छ भने तिमी त सजीव र आत्मसम्मान भएकी छोरी हौ । तिमीले सानातिना अफ्ठ्यारा, असफलता, दबाब र कार्यबोझबाट हरेस खान सुहाउँदैन । यदि तिमीले हरेस खायौ भने फेरि म जस्ता पुरुषलाई तिमी जस्तै छोरी निर्बल, लक्ष्यहीन र असक्षम हुन्छन् भन्ने प्रमाण जुट्ने छ । तिमी जस्तै अन्य छोरीहरूले हरेस खानुपर्ने छ । तसर्थ छोरी, तिमीले आफ्नै कमजोर मानसिकतासँग ठूलो युद्ध लड्नु छ । तर सम्झ, यस युद्धमा तिम्रो यो असक्षम बाबु तिम्रा पछाडि सधैँ सधैँ हौसला बढाउन भौतिक रूपमा उपस्थित नहुन पनि त सक्छ । छोरी, लेख्नुपर्ने विषय अनगन्ती छन् । चिठी लामो भयो, सबै विषय लेख्न यहाँ सम्भव नहोला । हाम्रा सपना अनेक हुन सक्छन्, तिमी हाम्रा सपनाका लागि बाँच्ने होइन । तिम्रो सपना एक हुनुपर्छ र त्यसका लागि तिमी बाँच्नुपर्छ । हामी आफू असफल भएकाले तिमीमा हाम्रा सपनाको भारी बोकाउन चाहन्छौँ तर तिमी अरूको सपनाको भरिया बन्नु हुँदैन । मेरा रुचिका आधारमा आफ्ना पाइला चाल्ने मेरी छोरीको सपना होइन, आफ्नै बलबुतामा स्वाभिमान र आत्मसम्मान कमाउने छोरीको सपना प्रतिबिम्बित हुनुपर्छ । तिमीले आफ्नो गन्तव्य चुन्नुपर्छ र यात्रा तय गर्नुपर्छ । अन्त्यमा, तिम्रो जीवनका हरेक पाइलामा तिमी लड्दा होस् वा सफलताको उचाइमा उड्दा होस्, तिम्रो बाबु तिमीसँग नहुन सक्छ । तिमी लड्दा आफैँ उठ्न र उचाइबाट झर्दा सम्हालिन पनि सक्नुपर्छ । तिमीले हजुरआमा, आमा, काकी, फुपू, बहिनी, माइजू, सानिमा, ठुल्यामा आदि सबैलाई सँगै लिएर हिँड्नुपर्छ । हामीले एक्लै हिँड्ने प्रयत्न गर्यौँ । त्यसैले आफ्ना भावना अक्षरमा कोर्नुपर्ने स्थितिमा पुगेँ । म पुरुष भएकै कारण तिमी ‘छोरी’प्रति समाजले गरेका विभेद र अन्यायको जिम्मेवार छु । हाम्रो सत्तामा रहेको यस समाजले समभाव सिकाउन नसक्नुको नैतिक जिम्मेवारी मैले लिनै पर्छ । त्यसैले, तिमीले पनि हामीले जस्तै गर्यौ भने एउटा सपना मात्र मर्ने छैन; तिम्रो भविष्य मर्ने छ, पहिचान मर्ने छ र यस चिठीको सार पनि मर्ने छ । मेरो सपना छ– मेरी छोरी ‘छोरी’ नै बन्ने प्रयत्न गरोस्; आत्मनिर्भर, स्वतन्त्र र स्वाभिमानी । बाल्यकालमा बाबुआमाको आश्रय, जवानीमा पतिको परनिर्भरताको जीवन र पारिवारिक बन्धनमा बाबुआमा वा सासूससुराको भरोसाको भारी मात्र नबनोस्; सहयात्री बनोस् । त्यस्ती छोरी जो बाबुको हातका औँला समाएर आफू मात्र घिस्रिने होइन बरु बाबुहरूलाई पनि हिँड्न मार्गप्रशस्त गर्ने सहज बाटो बनाउने छोरी होओस् । तिमी कसैको उपभोग्य वस्तु र विषय बन्नु हुँदैन । कसैको कृपापात्र, सौन्दर्य र सजावटकी वस्तु छोरी हुँदै होइन । ऊ त शिर ठाडो पारेर सगौरव बाँच्ने आत्मनिर्भर छोरी बन्नुपर्छ । पहिचान र स्वाभिमान बोकेकी छोरी नै हरेक बाबु र पुरुषको पनि आत्मसम्मान हो त्यसैले तिम्रो सफलता पनि यसै कुरामा निर्भर छ । यही विचारको सार्थकतामा तिम्रो बाबु जीवनपर्यन्त तिमीसँगै हुने छ । बिदा । उही तिमीलाई माया गर्ने लाचार बाबु The post छोरीलाई अर्को एउटा चिठी appeared first on साहित्यपोस्ट.