Redirecting...

फलफूल बजार सुनसानः बढ्यो मूल्य, छैन सुन्तला र बदामको व्यापार - taksarnews.com

फलफूल बजार सुनसानः बढ्यो मूल्य, छैन सुन्तला र बदामको व्यापार - taksarnews.com
Source: tsar

काठमाडाैँ । फलफूल बजार यतिखेर सुनसान प्राय बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावमा व्यापार घटेको व्यवसायीहरू बताउँछन् । यतिबेला सुन्तलाको सिजन हो तर सुन्तला पनि बजारमा कम मात्रै उपलब्ध रहको व्यवसायीहरूको भनाइ छ । स्याउ, केरा र बदामको कारोबार पनि कम रहेको छ । नेपालमा उत्पादन कम, आयात बन्द लगायतको कारण सबै सामग्रीहरूको मूल्य समेत वृद्धि भएको छ । फलफूल व्यवसायी कमल पन्थले यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको बताए । सुन्तला उत्पादन गर्ने किसानले मूल्य नपाउने, उपभोक्ताहरूले बढी मूल्य तिर्नुपर्ने वर्तमान अवस्था रहेको उनको भनाइ छ । किसानले उत्पादनमा मल, औषधि तथा मजदुरीमा ठूलो खर्च गरेपनि विचौलियाका कारण उचित मूल्य पाउन नसकेको उनले बताए । बजारमा विचौलियाको प्रभाव हाबी हुँदा किसान र थोक व्यवसायी प्रत्यक्ष कारोबार हुन नसकेको उनको भनाइ छ । विचौलियाका कारण किसान र व्यवसायी दुवै पक्षलाई घाटा भएको उनले बताए । “अहिले सुन्तलाको सिजन छ, पहिलोको जस्तो सुन्तलाको उत्पादन राम्रो छैन । सुन्तलाको उत्पादन गर्दा किसानहरू धेरै मर्कामा छन् । किसान र व्यवसायी दुवै मर्कामा छौँ । यसमा फाइदा किसानलाई पनि छैन, व्यवसायीलाई पनि छैन । बिचका विचौलियालाई फाइदा छ,” उनले भने । उनकाअनुसार विचौलियाहरूले फलको फूल खेल्न नपाउँदै किसानसँग सम्झौता गर्ने गरेका हुन्छन् । उनीहरूले फल फल्नु भन्दा अगाडी नै एड्भान्स दिएका कारण व्यापारीहरू सिधै गएर किन्न नमिल्ने उनले बताए। किसान र व्यपारीको बिचमा सम्झौता भएर कारोबार भए सबै पक्षलाई फाइदा हुने उनले बताए। नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेले जेनजी आन्दोलनपछि व्यापार कम भएको बताए । उनले भारत र चीनबाट हुने आयात ठप्प हुँदा पनि व्यापारमा प्रभाव पारेको बताए । उनकाअनुसार तातोपानी नाका हुँदै नेपाल आउने कन्टेनरहरू रोकिएका छन् भने केरुङ नाकासमेत पुल बन्द भएको कारण सुचारु रूपमा आयात हुन सकेको छैन । उनले बजारमा स्याउ–केरा जस्ता प्रमुख फल आपूर्ति नुहँदा अभाव सिर्जना भएको बताए । उनले हाल केरा आयात बन्द हुँदा बजारमा केराको अभाव भएको पनि बताए । नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने भएपनि आगामी केही वर्षसम्म स्थानीय उत्पादनले मात्र माग धान्न नसक्ने उनको भनाई छ । बजारमा स्याउ केराको नै बढी कारोबार हुने उनले बताए । नेपालमा केरा उत्पादन भएपनि पर्याप्त नुहँने हुँदा माग धान्न मुस्किल हुने बताए ।उनले सरकारले सरोकारवालासँग छलफल गरेर मात्रै फलफूलजन्य आयात रोक्ने नरोक्ने निर्णय गर्नुपर्नेमा जोड दिए। व्यवसायी सुमन ढुंगानाले चिसो मौसम र ठूलो संख्यामा जनशक्ति विदेशिएको कारण फलफूल खपत घटेको बताए। ढुंगानाकाअनुसार किसानले समयअगावै सुन्तला टिप्न थालेपछि सिजनमै अभाव भएको छ । तिहारपछि आउने सुन्तला दशैँमा नै टिपिँदा बजारमा कमी आएको र मूल्य पनि वृद्धि भएको उनले बताए । फलफुलको मात्रै होइन सिजनमा बदामको व्यापार पनि घटेको छ । व्यवसायी हरिनारायण साहले बदामको व्यापार गत वर्षको तुलनामा ६० प्रतिशतले घटेको बताए । उनले नेपालमा मान्छे नै नभएको कारण व्यापारमा कमी आएको बताए । शाहले आवश्यक खाद्यवस्तुमा आयात सहज बनाउन पनि सरकारलाई आग्रह गरे । उपभोक्ता वीरेन्द्र घिमिरेले फलफूल मंहगो भएको बताए ।उनले किसानले कम मूल्य पाउने तर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने गरेको गुनासो गरे। विचौलियाका कारण मंहगी बढेको उनको भनाइ छ । किसान र व्यापारी प्रत्यक्ष जोडिन सक्ने सरकारी संयन्त्र नहुँदा उपभोक्ता र किसान दुवै मारमा परेको उनले बताए । व्यवसायी मनु गुप्ताले चिसो बढेसँगै फलफूलको व्यापार पनि घटेको बताए । भारत–चीनबाट आयात कम भएपछि पनि बजारमा फलफूल पनि व्यापक कमी देखिएको उनको भनाइ छ । – न्युज एजेन्सी नेपाल