थाइल्यान्डमा आँधीको विनाश : ६ जनाको मृत्यु, लाखौं प्रभावित - nagariknews.nagariknetwork.com
गत महिनादेखि उष्णकटिबन्धीय आँधी विफाले निम्त्याएको बाढी र पहिरोका कारण थाइल्यान्डमा छ जनाको मृत्यु भएको छ भने दुई लाख ३० हजारभन्दा बढी मानिस प्रभावित भएको विपद् व्यवस्थापन अधिकारीले शनिबार बताए। थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई २१ देखि भएको भारी वर्षाका कारण १२ वटा प्रान्तमा बाढी आएको छ, जसमध्ये अधिकांश उत्तरी र मध्य क्षेत्रमा परेको छ। आँधीको प्रभावलाई नजिकबाट निगरानी गर्ने र प्रभावितलाई आवश्यक सहयोग गर्न प्रान्तसँग समन्वय गरिरहेको एजेन्सीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ। सामाजिक सञ्जालमा राखिएको तस्बिरमा बाढीले बासिन्दा डुबानमा परेको र सडकमा प्लास्टिकको डुङ्गा प्रयोग गरेको देखाइएको छ। यद्यपि थाइल्यान्डको मौसम विभागले आगामी दिनमा वर्षा कम हुने अनुमान गरेको छ। वैज्ञानिकले मानव निर्मित जलवायु परिवर्तनले मौसमी परिवर्तन निम्त्याइरहेकाले विनाशकारी बाढीको सम्भावना बढेको जनाएका छन्। यसअघि सन् २०११ मा थाइल्यान्डमा बाढीले ५०० भन्दा बढी मानिसको ज्यान लिएको थियो भने लाखौं घर क्षतिग्रस्त भएको थियो। एएफपी