बैरो विभागमा बिचौलियाको बिगबिगी - ehimalayatimes.com
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा पछिल्लो समय ठगी धन्दा मच्चाउने बिचौलियाको बिगबिगी बढ्दै गएको छ । कामको खेजीमा विदेशिने नेपाली कामदारलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने बिचौलिया अहिले वैदेशिक रोजगार विभागको काठामाडौं ताहाचलस्थित कार्यालय परिसर लगायतका स्थानमा सक्रिय भइरहेका छन् । विदेशिने युवालाई विभिन्न प्रलोभनमा पार्ने र उनीहरूबाट लाखौँ रकम ठगी गर्ने विचौलियाको ठूलो जालो नै रहेको सम्बन्धित जानकारहरूको भनाइ छ । विभिन्न म्यानपावर कम्पनीबाट खाडी तथा अन्य मुलुकमा रोजगारीमा जान लागेका तथा विभिन्न समस्यामा परेर स्वदेश फर्केका पीडितहरूलाई बिचौलियाले ललाइफकाई जालमा पार्ने र उनीहरूबाट मोटो रकम असुल गर्ने गरेका छन् । राम्रो म्यानपावरबाट आकर्षक तलबमा कम लागतमै विदेश पठाइदिने, श्रम स्वीकृति निकालिदिने, म्यानपावर कम्पनीमा बुझाएको रकम असुलउपर गरिदिने लगायतका झुटा आश्वासन दिएर घेराबन्दीमा पारी पीडितलाई झन् पीडित बनाउने गरेका छन् । वैदेशिक रोजगारको क्षेत्रमा लामो समयदेखि यस्ता बिचौलियाको समूह नै सक्रिय रहेको र त्यसलाई रोक्न सम्बन्धित सरकारी निकायको काम कारबाहीसमेत प्रभावकारी हुन सकिरहेको छैन । विभाग परिसरमै त्यस्ता बिचौलियाको ठूलो समूह दिनहुँ खुलेआम घुमिरहँदा पनि विभागका कर्मचारी र प्रहरी प्रशासनसमेत मूकदर्शक जस्तै बनिरहेको पीडितहरूको गुनासो छ । केही समयअघि श्रम मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएकी प्रधानमन्त्री सुशीला कार्कीले पनि वैदेशिक रोजगार क्षेत्रमा ठगी धन्दा बढेको गुनासो आइरहेको भन्दै सम्बन्धित निकायलाई त्यसप्रति चनाखो हुन र त्यस्ता घटनाको छानविन गरी दोषीलाई कडा कारबाही गर्न निर्देशनसमेत दिनुभएको थियो । तर, उहाँको निर्देशनपछि पनि दिनहुँजसो बिचौलियाले ठग्नेक्रम भने बढ्दै गइरहेको पाइएको छ । दैनिक एक हजार पाँच सयको हाराहारीमा नेपाली युवा कामको खोजीमा विदेशिने गरेका छन् । यस्तै, विदेश पुगेर काम, पारिश्रमिक लगायतका तोकिएका सेवा सुविधा नपाएर अलपत्र परी फर्केका, म्यानपावरले रकम ठगी गरी पीडित बनेका युवा दिनहुँ सयौँको संख्यामा विभागमा न्यायका लागि पुग्ने गरेका छन् । ती युवालाई नै बिचौलियाले चंगुलमा फसाएर ठगी गर्ने गरेका हुन् । विगतमा श्रम स्वीकृति लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था थियो । अहिले अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था लागू भए पनि बिचौलियाको ठगी धन्दा भने नरोकिएको पीडित पक्षको गुनासो छ । विदेशसम्मै बिचौलियाको जालोस्वदेशमा मात्र नभएर यस्ता ठगी धन्दा मच्चाउने बिचौलियाको जालो नेपाली कामदार कार्यरत विदेशी मुलुकमा समेत सक्रिय रहेको पाइएको छ । विदेशस्थित नेपाली दूतावास र त्यहाँ कार्यरत कर्मचारीलाई समेत प्रभावित पारेर बिचौलियाले काम गर्न गएका नेपाली कामदार र नेपाली वैदेशिक रोजगार व्यवसायी समेतलाई फसाउने गरेका छन् ।काम र पारिश्रमिक नपाएर विदेशमा अलपत्र अवस्थामा परेका तथा स्वदेश फर्कन नसकेका नेपाली युवालाई बिचौलियाले विदेशमै ठग्ने गरेका छन् । यस्तै, कम्पनीको नक्कली मागपत्र नेपालमा सञ्चालित म्यानपावरलाई पठाएर ठगी गर्ने गरेको पनि दूतावासहरूले जानकारी दिएका छन् । केही समयदेखि त्यस्ता ठगीमा संलग्न बिचौलियाको समूहले विभिन्न कम्पनीका नक्कली मागपत्र (डिमाण्ड) प्रमाणीकरणका कागजात नेपाली म्यानपावर कम्पनीलाई पठाएको पाइएको छ । त्यस्ता डिमाण्ड पठाउने समूह सक्रिय रहेको भन्दै मलेसियास्थित नेपाली दूतावासले नेपाली व्यवसायीलाई सतर्क रहनसमेत भनेको थियो । उनीहरूले दूतावासमा विभिन्न कम्पनीका नाममा डिमाण्डका कागजात अनलाइनको माध्यमबाट नेपाली व्यवसायीलाई पठाउने गरेको पाइएपछि दूतावासले सचेत रहन आग्रहसमेत गरेको छ । बिचौलिया रोक्न विभागले सक्रियता बढाएको छ : निर्देशक पौडेलवैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी उपेन्द्रराज पौडेलले भने वैदेशिक रोजागरीको क्षेत्रमा ठगीमा संलग्न रहेका बिचौलियाको धन्दा रोक्न विभागले सक्रियता बढाएको बताउनुभएको छ । ‘विगतमा बिचौलियाको बिगबिगी रहेका कारण धेरै व्यक्ति ठगीमा पर्ने गरेका थिए’, उहाँले हिमालय टाइम्ससँगको कुराकानीमा भन्नुभयो, ‘अहिले श्रम स्वीकृति लिने व्यवस्था अनलाइन माध्यमबाट भइरहेको छ, यसले विभागमा सेवाग्राहीको चाप कम छ, साथै, अहिले विभाग बिचौलियाको ठगी धन्दा रोक्न सक्रिय रूपमा लागिरहेको छ ।’ उहाँले न्यायका लागि विभाग आउने सेवाग्राहीलाई सकेसम्म छिटो र प्रभावकारी रूपमा न्यायसम्पादन गर्ने काम भइरहेको बताउनुभयो । कतिपय अवस्थामा प्रहरीको सहयोगमा त्यस्ता बिचौलिया नियन्त्रणमा लिने र कारबाही अगाडि बढाउने काम गरिरहेको उहाँको भनाइ छ । केही दिनअघि मात्रै विभागले १३ जना बिचौलियालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो । पछिल्लो समय विभागमा आउनुभएका महानिर्देशकको नेतृत्वमै श्रम क्षेत्रका समस्या समाधान गर्ने र सुधार गर्ने कामलाई तीव्रता दिएको पनि उहाँले बताउनुभयो । व्यवसायीलाई सचेत गराइरहेका छौँ : महासचिव बस्नेतयता, म्यानपावर व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि आफ्ना सदस्य व्यवसायीलाई विभिन्न वहानामा हुने ठगी र बिचौलियाको सक्रियताप्रति सचेत गराउँदै आएको जनाएको छ । संघका महासचिव महेशकुमार बस्नेतले समय-समयमा व्यवसायीलाई व्यावसायिक समस्याका विषयमा तालिम तथा विभिन्न सेमिनारहरू सञ्चालन गर्ने गरेको बताउनुभयो । संघले विभागलाई पनि आधिकारिक व्यवसायीभन्दा बाहिरका व्यक्तिलाई प्रवेश नदिन र कुनै सेवा प्रवाह गर्नुपर्दा आधिकारिकता लिन पनि आग्रह गर्दै आएको उहाँको भनाइ छ । संघले समन्वय समिति नै गठन गरेर व्यवसायीलाई विभिन्न खाले जानकारी लिने, दिने गरेको पनि उहाँले बताउनुभयो । म्यानपावर कम्पनीलाई सरकारी निकायमा सेवा लिन जाँदा आफ्ना आधिकारिक कर्मचारीलाई मात्र खटाउन र कुनै समस्या आएका तत्काल संघमा समन्वय गर्न पनि भन्दै आएको बस्नेतले जनाउनुभयो । भ्रामक विज्ञापनप्रति सचेत रहन आग्रहयता, वैदेशक रोजगार विभागले केही बिचौलियाको सक्रियतासँगै इजरायलको केयरगिभर रोजगारीका नाममा भ्रामक विज्ञापन भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि आकर्षक तलबसहित विभिन्न किसिमका सूचना तथा विज्ञापन टिकटकलगायत सामाजिक सञ्जालमा प्रशारण भएको भन्दै सचेत रहन आग्रह गरेको हो । सो विषयमा नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न दुई पक्षीय समझदारीअनुरूप इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सहायक कामदार पठाउने सम्पूर्ण काम सरकारदेखि सरकार (जी टू जी ) प्रक्रियामार्फत मात्र हुने भन्दै त्यस्ता झुट्टा विज्ञापनमा विश्वास नगर्न सचेत गराएको हो । विभागले यस्ता विज्ञापनमा ध्यानकर्षण भएको भन्दै कुनै निजी संस्था, कम्पनी, व्यक्तिलाई सो पदमा फाराम भर्न, विज्ञापन गर्न, वा पठाउन अधिकार नरहेको जनाएको छ । विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले सूचना जारी गर्दै त्यस्ता भ्रामक विषयका पछि नलाग्न सबैलाई सचेत गराउँदै त्यस्तो भ्रामक विज्ञापन र समाचारमा संलग्न भई ठगी गरेको पाइएमा जोसुकै व्यक्ति, संस्था वा कम्पनीलाई कडा कारबाही गरिने पनि जनाउनुभएको छ ।