१४औँ हस्तकला दिवस - ehimalayatimes.com
ललितपुर । नेपाल हस्तकला महासंघले १४औँ हस्तकला दिवसका अवसरमा विभिन्न कलाकार तथा हस्तकला व्यवसायीहरूलाई सम्मान र पुरस्कृत गरेको छ । आइतबार ललितपुरमा आयोजित महासंघको ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवस कार्यक्रम कार्यक्रममा गत आर्थिक वर्ष २०८१/८२ सबैभन्दा बढी हस्तकला निर्यात गर्ने एभरेष्ट फेसनका प्रमुख कार्यकारी निर्देशक महेश्वर श्रेष्ठलाई सम्मान गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले सम्मान प्रदान गर्नुभएको थियो । त्यस्तै, सोही आर्थिक वर्ष हस्तकला निर्यातमा दोस्रो स्थान हासिल गर्ने ओम साइराम फेल्ट प्रालिका मेघराज (राम) बुढाथोकी र हस्तकला निर्यातमा तेस्रो स्थान हासिल गर्ने एभरेष्ट फेसन फेल्ट एण्ड निट प्रालिका सुगम श्रेष्ठ र एलभिन श्रेष्ठलाई पनि सम्मान गरिएको छ । सबैभन्दा बढी निर्यात गर्ने एभरेष्ट फेसनका प्रमुख कार्यकारी निर्देशक श्रेष्ठ, ओम साइराम फेल्ट प्रालिका बुढाथोकी र एभरेष्ट फेसन फेल्ट एण्ड निट प्रालिका सुगम श्रेष्ठ र एलभिन श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल हस्तकला महासंघका अनुसार महासंघका गैरसदस्यमध्ये सबैभन्दा बढी हस्तकला निर्यात गर्ने फिन्जो सोनाम इन्टरप्राइजेजका कर्मा छोडुप गुरुङलाई सम्मान गरिएको छ भने हस्तकला निर्यातमा उल्लेखनीय योगदान पुर्याउने तथा १० करोडभन्दा बढी निर्यात समूहका देवचक्र एक्सपोर्ट प्रालिका निर्देशक राधिका महत, १० करोडभन्दा बढी निर्यात समूहका निर्यातकर्ता र पोतजन्य वस्तुमा प्रथम स्थान हासिल गर्ने माइन्डफुल क्राफ्ट प्रालिका कुवेर सापकोटा, सदस्यमध्ये उत्कृष्ट उद्यमी बागमती आर्ट्स एण्ड ह्याण्डी क्राफ्टसका प्रोप्राइटर सगुना श्रेष्ठका साथै सदस्यमध्ये परम्परागत विधातर्फका उत्कृष्ट कलाकार मनोज शाक्यलाई पनि सम्मान र पुरस्कृत गरिएको छ । त्यस्तै, हस्तकला निर्यातमा योगदान पुर्याउनुहुने नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा हस्तकलाअन्तर्गत विभिन्न विधाका वरिष्ठ र ज्येष्ठ कलाकारहरूलाई पनि सम्मान गरिएको छ । हस्तकला क्षेत्रका सिद्धहस्त विभिन्न विधामा संलग्न ७० वर्षभन्दा माथि १७ जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको हो । उत्कृष्ट निर्यातकर्ता र ज्येष्ठ कलाकारहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसअघि महासंघ सचिवालयमा झण्डोतोलन गरी महासंघका अध्यक्ष रविन्द्र शाक्यले ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवसको शुभारम्भ गर्नुभएको थियो भने ललितपुरस्थित बागमतीको पुलनजिक रहेको महासंघको स्वर्ण स्तम्भमा माल्यार्पणसमेत गर्नुभएको थियो । ललितपुरको पाटन संग्रहालयमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठ, हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यलगायतले हस्तकलाको निर्यात प्रवद्र्धनमा जोड दिनुभएको थियो । सो अवसरमा हस्तकलामा लगानी सहजीकरण गर्ने उद्देश्यका साथ महासंघ र एनएमबी बैंकसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । २०२९ मंसिर २८ गते साबिक नेपाल हस्तकला उद्योग संघका रूपमा स्थापना भएको नेपाल हस्तकला महासंघले हरेक वर्ष विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरी हस्तकला दिवस मनाउँदै आएको छ । देशको कला संस्कृति संरक्षण र प्रवद्र्धनका साथै निर्यात व्यापारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकला आत्मनिर्भर अर्थतन्त्रको महत्वपूर्ण धरोहर मानिन्छ । स्वदेशी सीप, श्रम र स्वदेशी कच्चा पदार्थमा आधारित हस्तकलामार्फत् स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ । निर्यातमूलकमात्रै नभई नेपाली कला संस्कृतिको धरोहरका रूपमा रहेको हस्तकला नीतिगत समस्याबीच गुज्रिँदै आएको छ । विविध समस्या र चुनौतीबीच पनि हाल हस्तकला उद्योग व्यवसायले प्रत्यक्ष र अप्रत्यक्षरूपमा झण्डै ११ लाख व्यक्तिहरूलाई रोजगारी प्रदान गरिरहेको छ भने अधिकांश महिला वर्ग, जनजाति एवं आदिवासी र सिमान्तकृत समुदायको अर्थोपार्जनको आधार पनि हस्तकला उद्योग व्यवसाय रहेको छ । वार्षिकरूपमा २७ अर्ब हाराहारी भारत, चीनलगायत तेस्रो मुलुकमा हस्तकलाजन्य वस्तु निर्यात हुँदै आएको छ । हाल ३६ विधाअन्तर्गत ८२ प्रकारका हस्तकलाका वस्तु महासंघबाट सूचीकृत भएका छन् । नेपालको निर्यातमा महत्वपूर्ण योगदानस्वरूप महासंघ अध्यक्षलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति(सिआइपी) का रूपमा सम्मानसमेत गरेको थियो ।