वीणा हाङ्गखिमको ‘चरैवेति ! चरैवेति !!’ - sahityapost.com
यस पुस्तकमा मिलन बान्तवाज्यूले लेख्नुभएको प्रकाशकीयमा नारीको महत्वलाई यसरी दर्शाउनुभएको छ । “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्रफला: क्रिया: ।।” अर्थात् जहाँ नारीहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ देवताले वास गर्छन् । जहाँ नारीहरूको सम्मान गरिँदैन, त्यहाँ गरिएका सबै कर्म निष्फल हुन्छन् । यस भनाइले एकछिन सोच्न बाध्य बनायो । आजभोलि महिलालाई सम्मान नगरेरै हो कि भगवान् रिसाउनुभएको—महिला हिंसा, स–साना बच्चीहरू बलात्कृत हुनु, छोराछोरीले आमालाई वृद्धा–आश्रममा लगेर राख्नु आदि । डा. वीणा हाङ्गखिमद्वारा रचित पुस्तक हो – ‘चरैवेति ! चरैवेति !!’ । यसको अर्थ हिँडिरहौं हिडिरहौं भन्ने हुँदो रहेछ । अनेक विधामा कलम चलाउनु भएकी वीणा हाङ्गखिमको यस दशौं संस्मरणात्मक कृति, जसमा उहाँको बाल्यकालदेखि उच्च शिक्षा (विद्यावारिधि) पूरा गर्दासम्मका आफूले भोगेका अनुभवहरू सँगालिएका छन् । साधारण परिवारमा जन्मनुभएको हो हाङ्गखिम ! उहाँका बुबाआमाले शिक्षाको महत्त्व बुझेअनुरूप सन्तानलाई शिक्षाबाट वञ्चित गराउनु हुँदैन भनेर शिक्षाको बाटो देखाउनुभएको छ । यसरी नै वीणाले साहित्यकार शरद क्षत्रीको सिर्जनामा शोधकार्य पूर्ण गरी विद्यावारिधिको डिग्री हासिल गर्नुभएको छ । एउटी नारीले घरपरिवार, आफ्नो पेशा, सँगसँगै पढाइलाई लैजान धेरै परिश्रम गर्नुपर्छ । यो सजिलो कुरा छैन । उहाँको साहित्यप्रतिको रुचि सानैदेखि देखिन्छ । त्यो कुरा उहाँले स्कूल पढ्दादेखि कविता लेख्दै लुकाउँदै राखेको कुराले पुष्टि गर्छ । एक्काइस वटा शीर्षकमा रचित संस्मरणात्मक, जसमा उहाँले जीवनको उकाली ओरालीमा आफूले भोगेका स–साना घटनाहरूलाई सरल र मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ । बाल्यकालदेखि चलेको उहाँको कलम र अनि कथा, कविता बाहिर प्रकाशित नहुँदाको बेला लक्खीदेवी सुन्दास गुरुआमाले पुर्याउनु भएको मद्दत उहाँले बिर्सनुभएको छैन । हुन पनि हो कोही व्यक्तिभित्र लुकेर रहेको प्रतिभा बाहिर निकाल्न कसैको प्रेरणा हुनु अति आवश्यक छ । एउटा साहित्यिक कार्यक्रममा जाँदा सबैलाई आफू स्रष्टाहरूको माझ द्रष्टा मात्र भएकोमा हीनताबोध हुन्छ । यहाँ लेखक हाङ्गखिमलाई पनि त्यही भएको छ । हो, त्यही हीनताबोधले नै उहाँलाई अझ अगाडि बढ्ने प्रेरणा मिलको छ । पुस्तकमा त्रिभुवन विश्वविद्यालयको काममा आउँदा पाएको दुःखलाई समेत उहाँले ऊर्जामा परिणत गरेर पाठकलाई प्रभाव पार्नुभएको छ । दार्जीलिङमा जन्मनुभएका वीणा हाङ्गखिमको नेपाली भाषा र साहित्यप्रतिको श्रद्धा असाध्यै गहिरो देखिन्छ । आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा भएको साहित्यिक कार्यक्रममा उपस्थित हुनु, त्यहाँको माटोको टीका लगाउनुले त्यो कुरा दर्शाउँछ । उहाँले दार्जीलिङदेखि काठमाडौँ आउँदा जाँदा बाटामा भोगेका कठिनाइलाई पनि सहज रूपमा लिनुभएको छ । काठमाडौँ आउँदा आफूसँग भएको दुई दिनको खाली समयलाई पोखरा घुम्न गएर त्यहाँको रमणीय दृश्यको भरपुर आनन्द लिनुको साथै त्यहाँको पर्यटकीय स्थलको वर्णन गर्नुभएको छ । पाठकलाई पुस्तकबाटै त्यस ठाउँ पुगेको अनुभव हुन्छ । विद्यावारिधिको लागि उहाँले त्रिभुवन विश्वविद्यालय रोज्नुले नेपाली भाषा र साहित्यप्रतिको उहाँको तिर्खालाई बुझ्न सकिन्छ । नेपाल आउन पाउँदा उहाँलाई चेली माइत गएको खुशीजस्तै अनुभूति हुन्छ । त्यसै त्यसै फुरुङ्ग परेर कहिले पुगौं जस्तो हुने र दार्जीलिङ फर्कनुपर्दा मन भारी हुने, बाटामा देखिने दृश्यहरूलाई छोड्दै जानु परेकोमा मन रिक्त हुने र हवाईजहाजको झ्यालबाट देखिएका नदी तथा हिमालहरूको वर्णनले पनि नेपालप्रतिको प्रेम दर्शाइएको छ । भनिन्छ – पिता आकाश र माता धर्ती ! बुवा भएको घरमा आकाश पनि खस्दैन रे । लेखिका डा. वीणा हाङ्गखिमको बुवा परलोक भएको पीडामा आकाश खसेको आभास हुन्छ । उहाँले कल्पना गरेको घर, निकै दिनदेखि छोडेको घर कस्तो अवस्थामा होला, त्यहाँ आमा एक्लै हुनुहोला भन्दै सोच्दै आउँदा घरमा छिमेकीहरूले सफा गरेर उनीहरूले नै स्वागत गर्दा छक्क पर्नुहुन्छ । यो सबै, बुवाले राख्नुभएको इष्टमित्र, बुवाले समाजमा गर्नुभएको राम्रो कामको परिणाम हो । सबैजना बुवालाई सम्झेर यो दुःखको घडीमा साथ दिन आउनुभएकोमा कृतज्ञ हुनुहुन्छ लेखिका । सन् २००८ मा शोधकार्यको लागि भद्रपुर एयरपोर्ट जान लाग्दा प्लेन छुट्ने त्रास भइरहे थियो । त्यस बेला एउटा गाडीले एयरपोर्ट पुर्याइदिएको र प्लेन छुट्नबाट बचेको कुरा हाङ्गखिमले सम्झिनुहुन्छ र त्यस भद्रपुरुषलाई ‘भगवान्ले पठाइदिनुभएको दूत’ मान्नुहुन्छ । पुस्तकमा जसलाई पनि आफ्नो सम्झने साइनो लगाएर बोल्ने उहाँको उदारवादी चरित्र देखिन्छ । सप्तकोशीका ती ‘स्वर्गदूतहरू’ शीर्षकमा कति त्रासको वातावरण छ तर उहाँले यसलाई जे हुन्छ राम्रै हुन्छ भनेर सहज रूपमा लिनुभएको छ । अझ उहाँले सप्तकोशीको महाप्रलयमा ठोकर खाएर विद्यावारिधि चाँडै सकिएको भनेर सन्तोक मान्नुभएको छ । त्यस त्रासलाई शक्तिमा बदल्नुभएको छ । त्यस्तै अर्को प्रसङ्ग छ, अति नै प्रिय साथी मेरीको सम्झनामा उनीसँग बिताएका पलहरू सम्झँदै उनको मृत्युको खबरले आफू स्तब्ध भएको कुरा लेखिएको छ । मेरीको जन्मदिवसमा उनलाई सम्झँदै उनले गरेका पुण्य कर्महरू सम्झँदै श्रद्धाञ्जली दिनुभएको छ – “प्रिय मेरी ! तिमी मोक्षको हकदार छ्यौ त्यसैले परमात्मामा लीन भएर स्वर्गमै विराजमान भइरहनु तिमी । अब भुलेर पनि यस धरतीमा पाइला नटेक्नू ।“ मृत्युलाई यति सहज रूपमा स्वीकार गर्नसक्नु उहाँको जीवनभोगाइ र गहिरो बुझाइको परिणाम हो । वास्तवमा जन्मसँगै मृत्यु अवश्यम्भावी छ । यो यथार्थ थाहा हुँदाहुँदै पनि हामी अनावश्यक पीर, चिन्ता र भयमा बाँचिरहेका हुन्छौँ । तर यस पुस्तकमा ‘एक दिन मर्नै छ भने समाजका लागि राम्रा काम गरेर मर्नुपर्छ, र त्यसरी नै ईश्वरको प्रिय बन्न सकिन्छ’ भन्ने सत्यलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । राम्रो कर्मद्वारा मृत्युलाई जितेर अमर बन्न सकिने सन्देश दिँदै मृत्युञ्जयी मेरीलाई जन्मदिनको अविस्मरणीय क्षणमा अमरत्वका लागि हार्दिक शुभकामना अर्पण गरिएको छ । यसैगरी, परलोकवासी आमाको जीवनमा आएका उतार–चढाव र उहाँको स्वभावका विविध पक्षहरूलाई पनि संवेदनशील रूपमा प्रस्तुत गरिएको छ । आमाको परिभाषा दिँदै लेखक भन्नुहुन्छ, “आमा त्यस्तो अस्तित्व हो, जसलाई सधैँ आफूसँगै रहिरहोस् भन्ने चाहना हुन्छ । एक क्षण पनि आमालाई नदेख्दा पानीबिनाको माछाजस्तै व्याकुल भइन्छ । तर जीवन निर्वाहका बाध्यता र परिस्थितिका कारण शारीरिक दूरी बढ्न बाध्य हुनुपर्छ । त्यस अवस्थामा पनि मन भने सधैँ आमासँगै हुन्छ ।“ आमासँग बिताएका क्षणहरूको सम्झनामा लेखकले मनमा बारम्बार आइरहने स्मृतिहरूको मार्मिक चित्रण गर्नुभएको छ । आमालाई मन पर्ने रातो जवाकुसुम घर–आँगनभरि रोपिएको प्रसङ्ग र आफू मरेपछि चरा बन्न पाऊँ भन्ने आमाको इच्छा उल्लेख गरिएको छ । प्राथमिक चरणमा प्राथमिक विद्यालय धाउँदाका स्मृतिहरूमा ‘थर्ड पिरियड’ का सर—जसलाई ‘थर्ड सर’ भनिन्थ्यो—को चर्चा गरिएको छ। उहाँको रुचि, व्यवहार र व्यक्तित्व उजागर गर्दै गाना गाउने, बाजा बजाउने, अनुशासनमा बस्ने जस्ता गुणहरू उल्लेख गरिएका छन् । लेखकले आफ्ना बुवा–आमाको निधनका बेला आफूलाई कसरी सम्झाउनुभयो भन्ने प्रसङ्ग पनि समेट्नुभएको छ । उहाँलाई आजसम्म पनि ती गुरु असल अभिभावकझैँ लाग्ने कुरा व्यक्त गर्नुहुन्छ । ‘सुख सबैसँग बाँड्ने र दुःख आफैँमा सीमित राख्ने’ उहाँको चाहना तथा जीवनमा जे–जस्तो परिस्थिति आए पनि त्यसअनुसार अघि बढ्दै जानुपर्छ भन्ने सकारात्मक सोच उल्लेखनीय छ । यस्तै गुरुको आशीर्वादकै कारण लेखकले जीवनका जस्तोसुकै आपत–विपतलाई पनि सहज रूपमा स्वीकार गर्न सक्नुभएको अनुभूति गराउनुभएको छ । ‘फिक्कल एफ.एम. र वरपिपलको छहारी’ शीर्षकमा गणेश रसिकज्यूको परिचय, उहाँले प्राप्त गर्नुभएका विभिन्न पुरस्कार, सम्मानहरू र उहाँका साहित्यिक रचनाहरूको नामावली साथै उहाँले भ्रमण गर्नुभएका देशहरूको वर्णन गरिएको छ । सन् २००८ मा नेपाल स्रष्टा समाजद्वारा लेखिका लगायत आठ जना साहित्यकारहरूलाई निम्ता दिइएको र सो क्रममा भएका भेटघाट, विभिन्न स्थानको घूमघाम लगायतका रमाइला प्रसङ्ग राखिएका छन् । स्रष्टा समाजका प्रतिनिधि वर्ग र दार्जीलिङकालाई वरिष्ठ साहित्यकार, गीतकार तथा गायक गणेश रसिकद्वारा लघु टेलिफिल्म र चिया चमेनाको निम्ति गरिएको निमन्त्रणा स्वीकार गरेर सो टेलिफिल्मको बारेमा लेख्नुभएको छ । सो टेलिफिल्म कुन्द दीक्षितद्वारा निर्मित थियो । उक्त टेलिफिल्म दश वर्षे द्वन्द्वकालको बारेमा रहेछ । त्यो समय बर्बर थियो । यसले लेखिकाका आँखा रसाएका छन् । केही समयपछि रसिकज्यूले फिक्कल एफ.एम. मा अन्तर्वाताको लागि निमन्त्रणा गर्नुभएको र साथमा ज्वाइँलाई पनि सँगै ल्याउन आग्रह गर्नुभएको छ । उहाँहरूको आत्मीयता किताबमा मीठो गरी प्रस्तुत भएको छ । ती दिनहरूलाई लेखिकाले निकै नै सम्झनुहुन्छ । हाङ्गखिले आफ्नो माहिली बहिनीज्वाइँलाई पनि सम्झनुभएको छ । जीवनको उकाली–ओरालीमा गरेको बहिनीज्वाइँको संघर्षलाई सम्मान गर्नुहुन्छ । दार्जीलिङको सुखसयलमा हुर्केको मान्छे कसरी नेपालको पहाडी क्षेत्रको दुर्गम गाउँमा पुग्यो । साँझ बिहान छाक टार्न मुश्किल पर्ने, बिरामी परेको बेलामा उपचार गराउन समेत दुई दिन बुट्यान समातेर उकालो लाग्नुपर्ने ठाउँमा, त्यहाँका बालबालिकालाई शिक्षाको उज्यालो छर्न पुग्नुपर्ने बहिनीको कथाले पाठकको आँखा रसाउँछ नै । जसरी भए पनि आफ्नै मुलुक फर्केर समाज सेवामा लाग्नुहुन्छ । उधारो तिर्न पुनः लमजुङ फर्किनुहुन्छ । आज लेखकको बहिनीज्वाइँको भौतिक शरीर यस धर्तीमा छैन तर उहाँको अनुशासन, उहाँको इमानदारिता उदाहरणीय छ । यस कुरा लेखिकाले दार्शाउनुभएको छ । अर्को मार्मिक प्रसंग हो – डा. अञ्जना वस्ती भट्टराईकृत प्रथम पुस्तक संस्मरण संग्रहमा भूमिका लेख्न पाउँदा लेखक अत्यन्त खुशी हुनुहुन्छ । त्यस कृति लोकार्पणमा सामेल हुन अत्यन्तै हतार भएको उहाँ बताउनुहुन्छ । उहाँले भट्टराई परिवारलाई साहित्य रूपी महासागरको संज्ञा दिनुभएको छ भने आफूलाई खोला नाला । आफ्नै घरको प्राङ्गणमा भएको सो कार्यक्रममा उहाँका चिनारु र चिनजान नभएका साहित्य प्रेमीसँग भेटघाट हुँदा अत्यन्त खुशी हुनुभएको, बेलुका चन्द्रकला भट्टराईको घरमा बास बसेको कुरा र चन्द्रकलाले गर्नुभएको आतिथ्य सेवाबाट कृतज्ञ हुनुहुन्छ । ‘भूमिका लेखन र अविस्मरणीय दमक यात्रा’ शीर्षकको रचना पढिरहँदा मलाई मेरै मावलीघरमा यत्रो ठूलो कार्जे भइरहँदा अझ भन्नुपर्दा साहित्यिक यज्ञ भइरहँदा आफू किन पुग्न सकिनँ भन्ने कुरामा पश्चाताप भइरहेको छ । भौगोलिक दूरीले टाढा भए पनि, सिमानाले फरक परे पनि हामी नेपाली भाषीको मन त एउटै रहेछ । नेपाली भाषा–साहित्यले हामीलाई एउटै परिवार बनाएको छ । यो कुरा यस पुस्तककी रचयिता डा. वीणा हाङ्गखिमज्यूको सद्भावले देखाउँछ । उहाँ जहाँ भए पनि हामफालेर पुग्नुपर्ने त्यो दृढताले देखाउँछ । यस ‘चरैवेति ! चरैवेति !!’ पुस्तकमा उहाँका बाल्यकालदेखिका अनुभवहरू संगालिएका छन् । बाल्यकालको सम्झना साथै उच्च शिक्षा अध्ययन गर्दा र विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन जाँदा, फर्कंदा बाटामा पर्ने विभिन्न रमणीय स्थलहरूको परिचय र वर्णन गर्नुभएको छ । उहाँका दृष्टिले उतारेका दृश्यहरूलाई अत्यन्त सरल भाषामा पाठकले पुस्तकबाट नियाल्न सक्छन् । उहाँले जीवनको गोरेटोमा भेटिएका र छुटेका साथीहरूलाई पनि सम्झनुभएको छ । यस पुस्तकमा हाँसो, रोदन, सुख, दुःखका साथै संघर्षको क्रममा पाएका कठिनाइलाई पनि प्रेरणाको रूपमा लिन सकिन्छ,यसलाई अनुभवको रूपमा लिएर जीवन जिउन सहज हुन्छ भन्ने भनाइ लेखकको छ । उहाँको लेखन सरल, सहज र मार्मिक छ । यो पुस्तक पढ्दा पाठकलाई दुःख नगरी सफलता मिल्दैन भन्ने प्रेरणा मिल्छ । जीवन एउटा यात्रा हो । यो प्रसंग सार्थक भएको छ । त्यसैले ‘चरैवेति ! चरैवेति !!’ शीर्षक छनौट सार्थक छ । स्रष्टा डा. वीणा हाङ्गखिमको साहित्यिक यात्राले सफलताको शिखर चुमोस् यसरी नै हामीले उहाँका सिर्जनाहरू पढ्न पाइरहूँ ‘चरैवेति ! चरैवेति !!’ र उहाँलाई धेरै धेरै शुभकामना पनि । The post वीणा हाङ्गखिमको ‘चरैवेति ! चरैवेति !!’ appeared first on साहित्यपोस्ट.