जेनजी सरकारले डा. प्रकाशकुमार श्रेष्ठलाई बनायो योजना आयोगका उपाध्यक्ष - www.nepalclicks.com
काठमाडौं। अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो। योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। श्रेष्ठ केपी ओली सरकारका पालामा योजना आयोगका सदस्य थिए। जेनजी आन्दोलनपछि आयोगको सदस्य पदबाट राजीनामा गरेर बाहिरिएका थिए। सुशीला कार्की नेतृत्वको जेनजी सरकारले स्वच्छ छवि भएका श्रेष्ठलाई योजना आयोगको उपाध्यक्ष बनायो। योजना आयोग आउनुअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए। योजना आयोगमा हुँदै राष्ट्र बैंकको गभर्नरमा उनको चर्चा चलेको थियो। राष्ट्र बैंकमा कार्यकाल छैंदै उनी योजना आयोगको सदस्य बनेका थिए। श्रेष्ठ मौद्रिक अर्थशास्त्री पनि हुन्। राष्ट्र बैंकको विभिन्न विभागमा काम गरेका छन्। राष्ट्र बैंकमा हुँदा उनी तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकारको जिम्मेबारी पनि सम्हालेका थिए। श्रेष्ठ २०५४ मंसिरमा सहायक निर्देशकबाट केन्द्रीय बैंकमा प्रवेश गरेका थिए। सरकारले आयोगको सदस्यमा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ।