एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेसँगै मतदान सुरु - nagariknews.nagariknetwork.com
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पहिलो मतदान गरेका छन्।आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि झण्डै एक घण्टा ढिलो गरी मतदान सुरु भएको हो। नयाँ नेतृत्व चयन गर्न भृकुटीमण्डपमा प्रतिनिधिहरू लामबद्ध भएका छन्। विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मंगलबार हुने भनिएको मतदान स्थगित गरिएको थियो।३०१ सदस्यीय नयाँ केन्द्रीय समितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन्। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।