ज्ञानेन्द्र शाह असली राजा होइनन् : प्रधानमन्त्री ओली - www.pardafas.com
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतवार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिए । प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछिको अवस्थालाई स्मरण गर्दै भने, ‘राजा मारियो, रानी मारिए, युवराज मारिए । त्यसपछि यता उता नभएको भाई खोजेर ल्याएर राजा बनाइएको हो । त्यो असली राजा होइन, कुसको राजा हो ।’ उनले वास्तविक राजतन्त्रको अन्त्य राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्युसँगै भइसकेको जिकिर गरे । ‘वास्तविक राजतन्त्र त त्यही बेलामा सकिएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘पछि त कठपुतली शासन भयो ।’ ओलीले इतिहासलाई फर्केर हेर्दै २००७ सालको प्रसंग उठाए । उनले तत्कालीन राजा त्रिभुवन भारत गएको र त्यो बेलै ‘राजा फर्काउँदैनौं, अरु कुरामा सम्झौता गर्छौं’ भनेको भए नेपाल सामन्तवादबाट चाँडै मुक्त हुने दाबी गरे । ‘त्यो बेलाको त्रुटीले गर्दा नै २०६५ सालसम्म जनताले राजतन्त्रको शोषण भोग्नुप¥यो,’ उनले टिप्पणी गरे । राजतन्त्रलाई षड्यन्त्रकारी शासनको संज्ञा दिँदै उनले २०६५ साल जेठ १५ गते गणतन्त्रको घोषणा हुनु नै नेपाली जनताको जित भएको बताए । साथै, उनले दरबार हत्याकाण्डपछि निर्माण गरिएको अख्तियार आयोग र त्यसले शेरबहादुर देउवामाथि मुद्दा चलाउन खोजेको प्रसंग पनि उठाउँदै त्यसलाई जनताको अधिकारमाथिको हस्तक्षेपको उदाहरणका रुपमा प्रस्तुत गरे ।