असन्तुष्टिको मानवशास्त्र - nepalnews.com
बाउले नपढेर दु:ख पाएमैले पढेर दु:ख पाएँ गाउँमा बाउहलो जोतिराछन् सहरमा मटाउको जोतिराछु गरेर खानलाईबाउसँग संसार छ भोक भोकै मर्न तयारमसँग अहंकार छ बाउले नपढेर दु:ख पाएमैले पढेर दु:ख पाए। कवि उपेन्द्र सुब्बाको समान अन्तर शीर्षकको यो कविताले पढेका र नपढेका मान्छेका दु:ख, जीवनपद्धति र सोच झल्काएको छ। पढेकोभन्दा नपढेको मान्छे कम दु:खी हुने कविताको सार छ। आवश्यकतासम्बन्धी अर्थशास्त्रको सामान्य सिद्धान्त छ– मानिसका आवश्यकताहरू असीमित हुन्छन्, तर ती आवश्यकता पूरा गर्ने साधन र स्रोत सीमित हुन्छन्। मान्छेका आवश्यकताबारे म यहाँ दुईवटा उदाहरण प्रस्तुत गर्छु। एकदिन म नारायणहिटी दरबार संग्रहालयको प्रवेशद्वारनेर उभिइरहेको थिएँ। सडकमा पैसा मागिरहेका एक बालकलाई विदेशी नागरिकले नेपाली १०० रुपैयाँ दिए। बालक खुसीले उफ्रेर अरूसँग थप पैसा नमागी दौडेर गयो। पाँच वर्षजतिअघि मैले फिजियोथेरापी गरिरहेको अस्पतालमा २६ वर्षका युवा पनि भेटेँ। उनी डीभी परेर अमेरिका गएका रहेछन् र त्यहाँ दिनरात नभनी काम गर्दा खुट्टामा समस्या देखिएछ। अमेरिकामा थेरापीको उपचार महँगो हुने भएकाले नेपाल आएका रहेछन्। मानिसका आवश्यकता र इच्छाले ल्याउने सुख-दु:ख तथा सन्तुष्टि-असन्तुष्टिको दृष्टान्त मात्रै हो यो। मानव तथा समाजको विकासक्रममा कुन चरणबाट मानिसमा असन्तुष्टि उत्पत्ति हुँदै आयो भन्ने लिखित प्रमाण त छैन। यद्यपि, अमेरिकी मानवशास्त्री मार्सल साहलिन्सले आफ्नो पुस्तक स्टोन एज इकोनोमिक्समा प्रागैतिहासिककालको पाषाण युग (करिब २५ लाखदेखि २५ हजार वर्ष)को समाज मौलिक तथा समृद्ध थियो भनेका छन्। पुस्तकमा उबेला सामूहिकता, स्वतन्त्रता, खुसियालीका साथै मानिस स्वस्थ पनि भएको लेखकको दाबी छ। त्यस समयमा प्रतिदिन औसत तीनदेखि पाँच घण्टा काम गर्दा पुगेको थियो, जबकि १८औँ र १९औँ शताब्दीमा १२ देखि १६ घण्टा काम गर्नुपरेको थियो। अहिले पनि औद्योगिक राष्ट्रहरूमा आठ घण्टा काम, आठ घण्टा निद्रा र आठ घण्टा मनोरञ्जन भने पनि जनजीवन सहज र सन्तोषजनक पाइँदैन। विभिन्न प्रतिवेदन अध्ययन गर्दा विश्वमा आत्महत्या तथा युद्धको दर औद्योगिक राष्ट्रहरूमा बढी भएको देखिन्छ। आठदश वर्षदेखिको विश्व खुसी सूचकांकको तथ्यांकमा शीर्षस्थानमा रहेका फिनल्यान्ड, डेनमार्क, नर्वेजस्ता राष्ट्रहरूमा स्वतन्त्रता र स्वच्छता छ। कमै मात्र भेदभाव छ। व्यक्तिको जीवनमा सामाजिक संस्थाहरूको छाया न्यून छ। व्यक्तिगत आवश्यकता सापेक्षित रूपमा पूरा हुन्छन्। समाजविज्ञानको नियम नै छ, कुनै घटना र कारणबीच अन्तरसम्बन्ध हुन्छ। समाज विकासको प्रारम्भिक चरणमा असन्तुष्टिका सीमाहरू सीमित थिए। समाज जटिल र परनिर्भर हुँदै गएपछि यसका प्रकृति र प्रवृत्ति क्रमशः फरक हुँदै आएका छन्। समाज विकासको चरणमा करिब १२ हजार वर्षदेखि मानिसले घुमन्ते तथा सिकारी जीवनबाट स्थायी र कृषि समाजको विकास गरेपछि पौष्टिक खानेकुरा प्राप्त गर्न प्रतिदिन धेरै परिश्रम र समय व्यतीत गर्नुपरेको थियो। शारीरिक तथा मानसिक रूपमा थप खट्नुपरेको थियो। जब मानिसले आगो, धातुको आविष्कार गर्यो, उत्पादन प्रक्रियामा सहभागी हुन थाल्यो, त्यसपछि नै निजी सम्पत्ति, परिवार, नाता, राज्यजस्ता सामाजिक संस्थाको प्रादुर्भाव भयो। मानिस बिस्तारै बौद्धिक-सामूहिकताबाट निजी, भेदभावकारी, असंवेदनशील र असहिष्णु बन्न थाल्यो। स्वतन्त्रता खुम्चिन थाल्यो। क्रमश: असन्तुष्टि व्यापक बन्न थाल्यो। नेपालको सामाजिक संरचना, बनोट र सांस्कृतिक अवस्थाको अध्ययन गर्दा सापेक्षित रूपमा सहरभन्दा गाउँका, आधुनिक राज्य संस्थाको कानुनी परिधिभन्दा आफ्नै संस्कार, संस्कृति, समान उत्पादन प्रणाली, जीवनपद्धति, बौद्धिक-सामूहिक निर्णय, सामुदायिक कार्य र सम्बन्ध भएकाहरू बढी सन्तुष्ट, समृद्ध र एकताबद्ध भएको पाइन्छ। इसापूर्व ३२०० तिर जब मानिसले लिपिको विकास गर्यो, तब इतिहास लेखन, आधुनिक ज्ञान उत्पादन, सभ्यताको विकास, धर्म/ईश्वरको सिर्जना गरी विविध आयाममार्फत विभेद र असन्तुष्टि थोपर्यो। युरोपमा भएको पुनर्जागरण तथा औद्योगिक क्रान्तिले मानिसमा अहम् र अहंकार बढायो। जिज्ञासा र प्रश्न गर्ने संस्कारलाई निरुत्साहित गर्यो। सन् १९४७ मा ‘विकास’ शब्दको प्रयोग भएदेखि मानिस, समाज र राज्यबीचको स्वस्थ/अस्वस्थ प्रतिस्पर्धाले असन्तुष्टिको सीमा लम्ब्याइदियो। आधुनिक समाज जटिल, व्यक्तिवादी र परनिर्भरतामा अडिएको छ। यस्तो सामाजिक संरचना, संस्था, सांस्कृतिक चेतना र प्रचलन, उत्पादन प्रक्रिया, सूचना तथा सञ्चार प्रविधिको आविष्कार र प्रयोगले मानिसमा असन्तोष थपेको छ। अवस्था यस्तोसम्म बनिसकेको छ कि आफू मृत्युशय्यामा पुग्दासमेत मानिस कुनै न कुनै माध्यम वा इसारामार्फत गुनासो व्यक्त गरिरहेकै हुन्छ। मान्छेमा सन्तोष हुनु भनेको प्रगतिको अन्तिम रेखा भन्ने मान्यता जबर्जस्त स्थापित हुँदै छ। आधुनिक मानव सभ्यताको इतिहास असन्तुष्टिको इतिहास हो। यस्ता असन्तुष्टिहरू मानव सभ्यताका लागि चुनौतीपूर्ण छन्। यद्यपि, यसैमा विकासको अवसर पनि छ। किनभने, मानिसमा जागृत असन्तुष्टिको भोकले नै वर्तमान सभ्यता, आधुनिक ज्ञानको उत्पादन, पुनरुत्पादन, निर्माण, विनिर्माण र नयाँ नयाँ प्रविधिको आविष्कार भएको हो। यसो भनिरहँदा करिब ७० हजार वर्षअघि आधुनिक मानवको पुर्खा अफ्रिकाको घाँसे मैदानमा सन्तुष्ट भएर बसेको भए के हुन्थ्यो होला? वा, सन्तुष्ट भएर कृषि समाजको विकास नगरेको भए अहिलेको विश्व परिवेश, मानव सभ्यतामा यो स्तरको प्रगति सम्भव थियो त भनेर प्रश्न पनि गर्न सकिन्छ। असन्तुष्टिसिर्जित द्वन्द्वले नै समाजलाई नयाँ दिशातिर अग्रसर गर्छ। हिजोका सत्यलाई असत्य सावित गर्छ। ब्रह्माण्डका नयाँ नयाँ रहस्यसँग एकाकार गराउँछ। गौतम बुद्धलाई चार आर्य सत्य र अष्टाङ्गिक मार्ग पहिल्याएर मानवलाई निर्वाण सिद्ध गर्ने वाणी असन्तुष्टिले नै दियो। ‘सन्देह गर’ भन्नु एकहिसाबले असन्तुष्टि नै हो। असन्तुष्टिको यो बिन्दु अहिले भने राज्यप्रणाली र सत्तासँग बढी ठोक्किएको छ। असन्तुष्टिलाई राजनीतिक विचारधाराका रूपमा सदुपयोग वा दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ। सारमा आफैँले विकास गरेको समाज, सामाजिक संस्था, सभ्यताको निर्माण तथा उद्विकास, सांस्कृतिक चेतना, निजत्व र आविष्कारजस्ता विविध अवयवले मानिसलाई असन्तुष्टिको जालोमा बेरेको भन्न सकिन्छ। जसले यस्ता परिबन्धको सीमा तोड्ने साहस गर्छ वा गरेको छ, उसको जीवन आम मानिसभन्दा सन्तोषजनक देखिन्छ। -तामाङ मानवशास्त्री हुन्।