विश्व बक्सिङका पदक विजेता चन्द्रको भव्य स्वागत - ehimalayatimes.com
काठमाडौं । युएईमा सम्पन्न आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जित्नुभएका चन्द्रबहादुर थापासहितको नेपाली टोलीलाई आइतबार भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी, नेपाल बक्सिङ महासंघ तथा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी र प्रशिक्षकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरेका थिए । डिसेम्बर ३ देखि १४ तारिखसम्म चलेको प्रतियोगिताको ५४ केजी तौलसमूहमा राखेपद्वारा सञ्चालन भइरहेको ‘मिसन-२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहनुभएका चन्द्रले अर्मेनिया, इण्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कांस्य पदक सुनिश्चित गर्नुभएको थियो । कांस्यसँगै उहाँले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहनुभएका कजाखस्तानका खेलाडीसँग पराजित हुनुभएको थियो । विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र एक्ला नेपाली मुक्केवाज हुनुहुन्छ । प्रतियोगितामा नेपालबाट चन्द्रसहित पाँच खेलाडी सहभागी थिए । ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नुभएको थियो । लालप्रसादले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर पुरस्कार जित्नुभयो भने बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए । टोलीको प्रशिक्षकमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुन मगर रहनुभएको थियो । यसैबीच, दुबईमा सम्पन्न पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू-२३ पुरुष सिंगल्स (क्लास-७) मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेसहितको टोलीलाई पनि आइतबार स्वागत गरिएको छ ।