कुशल भुर्तेलको आक्रामक ब्याटिङ - nagariknews.nagariknetwork.com
ओपनर कुशल भुर्तेलको आक्रामक ब्याटिङ प्रेरणामा नेपालले दोस्रो अभ्यासमा खेलमा सोमबार कतारमाथि १६ रनको जित निकालेको छ। टी ट्वान्टी विश्वकप एसिया प्यासिफिक रिजनल फाइनलको तयारीमा रहेको नेपालले ओमानमा अभ्यास खेलमा जित निकालेको हो। नेपालले पहिलो अभ्यास खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी चम्किएपछि नेपालले कतारमाथि सहज जित निकाल्यो। नेपालले एक सय ७१ रनको लक्ष्य दिएको थियो। तर, कतारले निर्धारित २० ओभर नै खेले पनि ६ विकेट क्षतिमा एक सय ५४ रन मात्र जोड्यो। खराब सुरुआत गरेको कतारले मध्यक्रममा राम्रो साथ पाएको थियो। तर, जित निकाल्न भने सकेन। मध्यक्रमका ब्याटर मुहम्मद तनविरले ५१ रनको अर्धशतकीय इनिङ खेले। उनी १९औं ओभरमा नन्दन यादवको बलमा आउट भए। त्यसअघि उनले ३७ बलमा तीन चौका र दुई छक्का हिर्काए। मुहम्मद असिमले ३० रन र मिर्जा मोहम्मद बैगले ४० रन जोड्दै तनविरलाई बलियो साथ दिए। असिमको इनिङमा तीन चौका रह्यो। करण केसीद्वारा बोल्ड हुनुअघि मिर्जाले २७ बलमा चार छक्का प्रहार गरे। शीर्ष तीन ब्याटर इमाल मलिन्दु १ रन, जुबेर अली ५ र सारिक मुनिर ४ रनमा आउट भए। यससँगै कतार ५.२ ओभरमा २४/३ को नाजुक अवस्थामा पुग्यो। तर, त्यसपछि तीन ब्याटर असिम, तनविर र बेगले इनिङ उकासे पनि जितका लागि पर्याप्त भएन। नेपालको बलिङमा करण केसीले तीन विकेट लिँदा दीपेन्द्र, नन्दन र ललित राजवंशीले समान एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाउँदै एक सय ७० रनको योगफल खडा गर्यो। नेपाली टोलीले पनि तेस्रो ओभरमै ओपनर आसिफ सेखलाई ११ रनमा नै गुमाउन पुग्यो। तर, अर्का ओपनर कुशल भुर्तेलले २८ बलमै अर्धशतक बनाउँदै इनिङ उकासे। उनी ५६ रनमा तेस्रो विकेटका रूपमा आउट भए। कुशलले ३३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। कप्तान रोहित पौडेल ८ रनमै पभेलियन फर्किए। तर, त्यसपछि आएका दीपेन्द्र र कुशल मल्लले साथ दिए। २८ बल खेलेका कुशल मल्ल ३८ रनमा नटआउट रहे। उनको इनिङमा एक चौका र दुई छक्का थियो। दीपेन्द्रले २१ बलमा ३८ रन जोडे। उनले एक चौका र तीन छक्का हिर्काए। त्यसपछि आएका सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा नै आउट भए। तर, आरिफ सेखले १३ रन जोड्दै नेपालको इनिङ उकासे। कतारको बलिङमा मोहम्मद इक्रामउल्लाह र मुनिरले समान दुई तथा मुजिब उर रहमान र आरिफले एक विकेट लिए। नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकाल्दै विश्वकप छनोट यात्रा सुखद बनाएको छ। नेपालले आगामी अक्टोबर ८ मा ओमानमै कुवेतसँग खेल्दै टी ट्वान्टी विश्वकप एसिया प्यासिफिक रिजनलको यात्रा सुरु गर्दै छ। कुल ९ राष्ट्र रहेको छनोटमा नेपाल समूह ‘बी’ मा छ। यो समूहमा कुवेत र जापान छन्। समूहको शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। तीन समूहका शीर्ष दुई टोलीबीच सुपर सिक्समा प्रतिस्पर्धा हुने र यहाँबाट लिगको शीर्ष तीन राष्ट्रले आगामी सन् २०२६ को फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आइसिसी टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्। नेपाल यसपल्ट पनि छनोट हुँदै लगातार दोस्रोपटक यस फरम्याटको विश्वकप खेल्ने लक्ष्यमा छ। छनोटअघि टेस्ट राष्ट्र एवम् दुई पल्टको टी ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँगको शृंखलामा जित निकाल्दै नेपाली टोली बलियो आत्मबलका साथ ओमानमा उत्रँदै छ।