केटिएमको १५ करोड ५० लाखको आइपिओ - ehimalayatimes.com
काठमाडौं । चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याउने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोस्रो साधारणसभाले पुँजी संरचना परिवर्तनसहित आइपिओको महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा भएको साधारणसभाले आइपिओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिएको हो । पारित प्रस्तावअनुसार कम्पनीको नयाँ पुँजी संरचना पनि तयार पारिएको छ । अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहने छ । कम्पनीले १५ करोड ५० लाख रुपैयाँको आइपिओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो । जुन कम्पनीको कुल चुक्ताको पुँजी २० प्रतिशत हो । हाल केटिएम हस्पिटालिटीले चितवनको सौराहामा ६५ कोठा क्षमताको पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ । साधारणसभामा केटिएम ग्रुपको ब्राण्ड एम्बेसडर वरिष्ठ कलाकार सन्तोष पन्तको पनि उपस्थिति रहेको थियो । कम्पनीले नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । कम्पनी अध्यक्ष रामेश्वर शाहले नेपालको आतिथ्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै हस्पिटालिटीमा निरन्तर लगानी बढ्नुले हस्पिटालिटी क्षेत्रको सम्भावनालाई उजागर गरेको बताउनुभयो ।