वीरगञ्जमा प्रदर्शन चर्किएपछि तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार - bishwokhabar.com
काठमाडौं– धनुषामा मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ कुरान जलाइएको विरोधमा वीरगञ्जमा आइतबार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो। झडपका क्रममा एक जना प्रहरी जवान सामान्य घाइते भएका छन्। धनुषाको धनुकमला नगरपालिका-६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो। आइतबार बिहानैदेखि वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएपछि जनजीवन प्रभावित बनेको थियो। छपकैया इदगाह चोकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रदर्शनमा सहभागी छपकैया मदरसाका मौलाना असगर मदनीले यो घटनालाई नेपालको परापूर्वकालदेखिको धार्मिक सद्भाव र सहिष्णुता बिथोल्ने नियतले गरिएको जघन्य अपराधको संज्ञा दिएका छन्। उनले मस्जिदजस्तो पवित्र स्थलमा प्रवेश गरी धार्मिक ग्रन्थ जलाउने दोषीहरूलाई सरकारले तत्काल कानुनी दायरामा नल्याए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। हाल वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति सामान्य बनाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ।