Redirecting...

नेविसंघले निर्वाचन आयोगलाई भन्यो: मतदाता नामावली संकलन प्रभावकारी भएन ! - nagariknews.nagariknetwork.com

नेविसंघले निर्वाचन आयोगलाई भन्यो: मतदाता नामावली संकलन प्रभावकारी भएन ! - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका लागि निर्वाचन आयोगलाई दुई बुँदे ध्यानाकर्षण गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले शुक्रबार आयोगमा पुगेर दुई बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। नेविसंघले फागुन २१ मा घोषित प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप सञ्चालन भइरहेको मतदाता नामावली दर्ता अभियानमा प्राविधिक तथा पहुँचसम्बन्धी कठिनाइहरू देखा परेको जनाएको छ। ‘देशका विभिन्न स्थानहरूबाट प्राप्त सूचनाअनुसार, मतदाता नामावलीमा दर्ता हुन इच्छुक नागरिकहरू अनलाइन प्रणालीमा देखिएका त्रुटि तथा सीमित पहुँचका कारण दर्ता हुनबाट वञ्चित भइरहेका छन्,’ नेविसंघको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसले सर्वसाधारण नागरिकको मताधिकार प्रयोगमा अवरोध सिर्जना गर्ने र निर्वाचनमा नागरिक सहभागितालाई प्रतिकूल रूपमा प्रभावित गर्ने जोखिम बढाएको छ।’ जसका लागि नेविसंघले अनलाइन दर्ता प्रणालीमा देखिएका प्राविधिक समस्या तुरुन्त समाधान गर्न माग गरेको छ। ‘आयोगको वेबसाइटमार्फत अनलाइन दर्ता गर्दा अन्तिम चरणमा जिल्ला चयन गर्न नसकिने लगायतका प्राविधिक त्रुटिहरूका कारण धेरै नागरिकहरूको आवेदन अधुरो रहिरहेको छ। यसले नागरिकलाई असुविधा पुर्‍याइरहेको र उनीहरूलाई दर्ता प्रक्रियाबाट वञ्चित गराइरहेको छ । तत्काल उक्त समस्या समाधान गरी सबै नागरिकले सहज रूपमा अनलाइनबाट मतदाता दर्ता गर्न सक्ने व्यवस्था मिलाइयोस्,’ नेविसंघले भनेको छ।यस्तै दोस्रो बुँदामा मतदाता नामावली दर्ता सेवा गाउँपालिका र वडा तहसम्म विस्तार गर्न माग गरिएको छ। ‘हाल उक्त सेवा मुख्यतया जिल्ला निर्वाचन कार्यालयहरूमा मात्र सीमित छ। यसले टाढा रहेका गाउँ, बस्ती तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई यात्रा, खर्च, र समयजन्य कठिनाइका कारण दर्ता प्रक्रियामा सहभागी हुन असजिलो भएको छ,’ नेविसंघले भनेको छ। यसर्थ मतदाता नामावली दर्ता सेवा सबै गाउँपालिका, नगरपालिका, वडा कार्यालयहरू वा प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयहरूमा शीघ्र सञ्चालन गर्न व्यवस्था गर्न नेविसंघले माग गरेको छ।