Redirecting...

एनपिएल फाइनल : लुम्बिनीकाे जितमा सम्झन लायक दिनेशकाे विस्फोटक ब्याटिङ - ehimalayatimes.com

एनपिएल फाइनल : लुम्बिनीकाे जितमा सम्झन लायक दिनेशकाे विस्फोटक ब्याटिङ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले शानदार कमब्याक गर्दै च्याम्पियन बनेको हो । लिग चरणको चौथो खेलसम्म आइपुग्दा तीन खेलमा हार व्यहोरेको लुम्बिनी दबाबमा थियो । तर त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणका पछिल्ला तीन खेलसहित कुल ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि हात पार्‍यो । यस सफलतालाई प्रतियोगिताकै उत्कृष्ट कमब्याकका रूपमा हेरिएको छ । सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामै सीमित रह्यो । पहिलो सिजनमा पनि सुदूरपश्चिम उपविजेता बनेको थियो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टस हारेर ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ८ ओभर ६ बलमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । जारी सिजनमा कम ओभरमा लक्ष्य पूरा भएको यो पहिलो खेल हो । यसअघि लिग चरणमा विराटनगर किङ्सले ११ ओभर ५ बलमा सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गरेको थियो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा एक चौका र पाँच छक्काको सहयोगमा ४२ रन जोडे । उनकाे ब्याटिङ सम्झन लायक थियाे । यस्तै कप्तान रोहितले १६ रन बनाए भने अर्का ओपनर डी’आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट हुँदा दिलिप नाथ अविजित एक रनमा रहे । यसअघि ब्याटिङमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स बलिङमा पनि प्रभाव जमाउन सकेन । कप्तान दीपेन्द्र सिंह ऐरीले दुई ओभर बलिङ गर्दै एक विकेट लिए पनि २९ रन खर्चिए । स्कट कुगेलेइजनले दुई ओभरमा २२ रन खर्चिए भने विकेट लिन सकेनन् । सुदूरपश्चिमका लागि हर्मित धामीले सर्वाधिक दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान एक–एक विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।