Redirecting...

दैनिक एक हजार मेगावाट विद्युत् निर्यात - ehimalayatimes.com

दैनिक एक हजार मेगावाट विद्युत् निर्यात - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११ सय ६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ । काठमाडौंको स्युचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गर्दै उहाँले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढीपहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरूलगायतका विषयमा जानकारी लिनुभएको थियो । देशका विभिन्न ठाउँबाट छिन-छिनमा बत्ती जाने गरेको गुनासो आइरहेको भन्दै मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने आवश्यक नीतिगत एवं प्राविधिक सुधारका विषयमा छलफल गर्नुभएको थियो । बाढी, पहिरोले क्षति पुर्‍याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालु गराउनुपर्ने भन्दै उहाँले छिन-छिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोहीबमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो । मन्त्री घिसिङले विद्युत्गृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल र केन्द्रका निर्देशक चन्दनकुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्‍याएका संरचना मर्मत गरी विद्युत्् सेवा चालु गराउन टोली तयारी अवस्थामा राखी सोहीबमोजिम काम भइरहेको बताउनुभयो ।