विपद्बाट नेपालमा भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त - www.sutranews.com
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको विपद्जन्य क्षतिप्रति दुःख व्यक्त गरेका छन् । गत शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरो, डुबान, दुर्घटनालगायत विपद्बाट दर्जनौँको ज्यान गएको छ भने बाटो, पुल बगाएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका हुन् । आइतबार अपरान्ह सामाजिक सञ्जाल एक्समार्फत उनले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली जनता र सरकारको साथमा भारत रहेको भन्दै उनले एक्समा लेखेका छन्, ‘नेपालमा भएको भीषण वर्षाबाट जनधनको क्षति र विनाश अत्यन्त दुःखद छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौँ । एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’