'अविरल वर्षा गराउने प्रणाली आइतवार बिहानबाट पूर्व सर्ने र सोमवारबाट मत्थर हुने', त्यतिञ्जेल अत्यन्त सतर्क रहन आग्रह - www.bbc.com
देशको खासगरी मध्ये तथा पूर्वी भागमा अविरल परिरहेको वर्षा शनिवार बेलुकीबाट थप तेज हुने अनि आइतवार बिहानबाट केही कम भइ सोमवारबाट मात्र मत्थर हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।बङ्गालको खाडीमा विकसित भएको न्यून चापिय मौसम प्रणाली भारतको ओडिसा हुँदै जमिनमा प्रवेश गरेको थियो र त्यसले शुक्रवार रातिदेखि नै काठमाण्डू उपत्यकामा सक्रिय रूपमा वर्षा गराइरहेको छ।शनिवार दिनभरी झरी पर्दा ठाउँठाउँमा सवारी आवागमन अवरुद्ध भएका छन्। दशैँमा राजधानी भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत तीन दिनका लागि बन्द, आन्तरिक उडान पनि प्रभावितबाढी र पहिरोबाट बच्न कस्ता कुरामा ध्यान दिनुपर्छ? सोमवारबाट मत्थर हुने प्रक्षेपणविभागका महानिर्देशक कमलराम जोशीले शनिवार बेलुकी ७-८ बजेदेखि आइतवार बिहान ८ बजेसम्म भारी वर्षाको प्रक्षेपण रहेको बताएका छन्।"विशेषगरी राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षा हुने सम्भावना रहेको छ," जोशीले भनेका छन्।चौबिस घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्यो भने त्यसलाई भारी वर्षा भन्ने गरिन्छ।सावधानीका निम्ति विशेष ध्यान दिनु पर्ने जिल्लाहरूमा सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, काठमाण्डू, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू रहेको उनले बताए।"भोलि (आइतवार) बिहानबाट यो प्रणाली विस्तारै पूर्वतिर सरेर जाने सम्भावना भएकोले त्यसपछि पूर्वको तराई र मध्य पहाडी क्षेत्रमा विशेष ध्यान दिनु पर्ने अवस्था छ। सोमवार बिहानदेखि चाहिँ यो प्रणाली मत्थर भएर लगभग लगभग पानी कम पर्ने अनि मनसुनको पनि बहिर्गमन हुने अवस्था छ," जोशीले बताएका छन्।कुलमान घिसिङले गरे सतर्क रहन आग्रहसडक विभाग, जल तथा मौसम विज्ञान विभाग तथा अन्य सरोकारवाला उच्च अधिकारीहरूको बैठक डाकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात अनि शहरी विकासमन्त्री कुलमान घिसिङले शनिवार मानिसहरूलाई अत्यन्त सतर्क रहन अनुरोध गरेका छन्।मन्त्रालयमा आयोजित बैठकमा बोल्दै उनले सम्बन्धित सरकारी निकायका कर्मचारीहरूलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिए।"राति झन् धेरै सतर्कता आवश्यक छ। काठमाण्डूभित्र विशेषगरी नदी छेउछाउ रहने आम जनसमुदायले विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ," घिसिङले भने।देशैभरी पनि सडक सञ्जाल, सिँचाइ, जलविद्युतमा क्षति पुग्ने सम्भावना भएकाले जोगाउने पहल लिन उनले आह्वान गरे।सुरक्षा लगायत सम्बन्धित निकायले तत्काल उद्धारका लागि आवश्यक सामग्री तथा तयारी गर्न भन्दै उनले सोमवारपछि तत्काल सडक सञ्जाल पुनर्स्थापना गर्नका निम्ति पनि तयारी गर्न आह्वान गरेका छन्।उनले खासगरी सडक विभागका डिभिजन कार्यालय अनि अन्य सम्बन्धित निकायका कर्मचारीहरूलाई आ-आफ्ना स्थानमा 'स्ट्यान्ड बाइ' रहन भनेका छन्।शनिवार उनले चोभार गल्छी लगायत काठमाण्डूका विभिन्न खोलाका करिडरको अवलोकन गरेका थिए।आवागमन बन्द, दुई दिन राष्ट्रिय बिदाशनिवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।"वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी," उक्त बिदाको निर्णय गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।"उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालय हार्दिक अनुरोध समेत गर्दछ।"यसअघि शनिवार नै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाण्डू उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत असोज १८, १९ र २० गतेसम्मका लागि बन्द गरिएको सूचना जारी गरेको थियो। आकाशमा ‘बग्ने नदी’ झन् विनाशकारी बन्दैबाढी आउँदा के गर्ने, के नगर्ने? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।