Redirecting...

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे - nagariknews.nagariknetwork.com

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपालको एकमात्रै घुमन्ते राउटे समुदाय दशक अघिसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म आउँदैनथे। घाउ चोट लागेमा जंगली जडिबुटी र खोटोको प्रयोग गर्थे।हात–खुट्टा भाँचिए काब्रो लगाउँथे। पछिल्लो समय भने राउटे समुदाय औषधोपचारसँगै आफ्नो स्वास्थ्यप्रति सजक हुन थालेको देखिन्छ।हाल राउटे समुदाय सुर्खेतको लेकवेशी नगरपालिका वडा नं- ७ स्थित लमनामा छन्। राउटेको संख्या जम्मा १३३ मात्रै छ। केही महिनाअघि राउटे समुदायका दुई युवतीले त आफ्नो रक्त समूह पत्ता लगाउन रगत नै दिए। पहिलोपटक राउटे समुदायका १५ जना युवायुवतीले अहिले प्राथमिक स्वास्थ्य उपचारको तालिम लिइरहेका छन्।तालिम लिइरहेका मध्येका एक दिपक शाहीले फलामको प्रयोग धेरै गर्नुपर्ने भएकाले चोटपटक लागिरहने बताए। ‘हामी काठका भाँडाकुँडा बनाएर गुजारा चलाउने समुदाय हौं, काठ काट्न जाँदा, काठका सामाग्रीहरु बनाउँदा चोटपटक लाग्छ,’ उनले भने, ‘बस्तीमा बाह्य मानिस पनि हुँदैनन्, चोटपटक लागेका बेला कसरी सुरुको उपचार गर्ने भनेर सिकिरहेका छौं।’राउटे समुदायको मुख्य पेशा रुखहरु काटेर त्यसबाट खाट, मधुस, कोसी, डाडु, पन्युलगायतका सामाग्रीहरु बनाउने हो। यसका साथै बाँदरको सिकार अर्को मुख्य पेशा हो।खेतीपानी नगर्ने, एकै ठाउँमा नबस्ने यो समुदाय बन्चरो, बसुलोलगायतका फलामे औजारहरुको प्रयोग गर्छ। एकसरो कछाड लगाउने समुदायका अधिकांसका हात खुट्टाहरु फलामे औजारले काटिएका छन्।सुरुसुरुमा काटिएको घाउमा मल्हम पनि लगाउन नमान्ने राउटे अहिले भने बस्तीमा खटिएका स्वास्थ्यकर्मीसँग मल्हमपट्टी लगाइ माग्ने, औषधि खान मान्ने भएका छन्।‘पहिले–पहिले काम गर्दा फलामे औजारले घाउ चोट लागेपनि हामीलाई जानकारी नदिएर बस्थे,’ सोसेक नेपालबाट राउटे बस्तीमा कार्यरत स्वास्थ्यकर्मी अनुजा पन्तले भनिन्, ‘अहिले त सानो घाउ हुने वित्तिकै हामीलाई खोज्दै आउन थालेका छन्।’राउटे समुदाय पहिले फलामे औजारले काटेको ठाउँमा रगत रोक्नका लागि खोटोको प्रयोग गर्थे। अहिले पनि केही बुढापाकाबाहेक सबै बस्तीमा कार्यरत स्वास्थ्यकर्मी कहाँ उपचार गराउन आउँछन्। स्वास्थ्यकर्मीहरुले सामान्य अवस्थाको भए त्यहीँ उपचार गर्दछन्, गम्भीर प्रकृतिको भएमा स्वास्थ्य संस्थाहरुसम्म पुर्‍याउँछन्।राउटे युवती काजलु शाहीले काम गर्दा घाउचोट लागेमा कसरी बस्तीमै उपचार गर्ने भनेर सिकिरहेको बताइन्। ‘चोट लागेमा कसरी पट्टी बाँध्ने, भाँचिएमा कसरी बाँध्ने भन्ने सिकेका छौं,’ उनले भनिन्, ‘पछि बस्तीमा कसैलाई यस्तो समस्या परेमा हामी आफै उपचार गछौं।’सोसेक नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले राउटे समुदायका १५ जना युवायुवतीका साथै उनीहरुसँग काम गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्राथमिक उपचार तालिम दिइरहेको छ।‘प्राथमिक उपचार विधि र प्रक्रियाका बारेमा हामीले राउटे समुदायलाई सिकाइरहेका छौं,’ रेडक्रसका कर्मचारी सम्झना खत्रीले भनिन्, ‘पढाउँदा यो समुदायले नबुझ्ने भएकाले अभ्यासका माध्यमबाट कसरी काटिएको घाउको उपचार गर्ने, कसरी हात खुट्टा भाँचिएमा उपचार गर्ने, कसरी मेरुदण्ड भाँचिएमा स्टेचरमा राखेर अस्पतालसम्म पुर्‍याउने लगायतका क्रियाकलापहरु सिकाइरहेका छौं।’उनले राउटे समुदायमा अझै काटिएको घाउमा खोटो लगाउने र त्यसलाई प्लाष्टिकले बाँध्ने गरिएको बताउँदै त्यसको असरहरुका बारेमा पनि सिकाइरहेको बताइन्।सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सुरुमा उपचारनै गर्न नमान्ने राउटे समुदाय अहिले थोरै समस्या हुँदा पनि स्वास्थ्यकर्मी कहाँ आउने गरेको बताउँदै अब उनीहरुलाई प्राथमिक उपचार आफै गर्ने बानीको विकास गर्नका लागि तालिम दिइएको बताए।‘जंगलमा रुख काट्न जान्छन्, सिकार खेल्न जान्छन्, त्यहाँ हाम्रा सुरक्षाकर्मीहरु पुग्न सक्दैनन्,’ उनले भने, ‘त्यस्तो बेला चोट पटक लाग्यो, रुख काट्दा फलामे औजारले कहीँ घाउ चोट लाग्यो भने प्राथमिक उपचार आफै गरुन् भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको हो।’तालिमसँगै प्राथमिक उपचार सामाग्रीहरु पनि राउटे समुदायलाई दिइने उनले जानकारी दिए। ‘हाम्रा कर्मचारीहरु २४ सैं घण्टा बस्तीमा राख्न सकिँदैन्,’ उनले भने, ‘उनीहरु नभएको बेला आफ्नो प्राथमिक उपचार आफै गरुन् भन्ने उद्देश्य यो तालिमको हो।’गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदाय परिवर्तन उन्मुख भएको बताउँदै बाल मृत्युदर घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए।उनले पछिल्लो समय विरामी पर्दा, घाउ चोट लाग्दा स्वास्थ्यकर्मीको खोजी गर्ने, नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न जाने बानीको विकास भएको बताउँदै अब प्राथमिक उपचार पनि आफै गर्न सक्ने बनाउनु ठूलो उपलब्धी भएको बताए।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पछिल्लो १० वर्षमा राउटे समुदायमा आएको परिवर्तनलाई उल्लेख्य उपलब्धीका रुपमा लिनुपर्ने बताए।‘बाह्य औषधि नखाने, गम्भीर विरामी हुँदा पनि बस्ती नछोड्ने, उपचार गर्न नमान्ने यो समुदाय अहिले आफै प्राथमिक उपचारको तालिममा सहभागी भएका छन्,’ उनले भने, ‘यो धेरै ठूलो उपलब्धी हो।’ मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले राउटेको सशक्तिकरण र मूलप्रवाहिकरणका लागि राउटे नीति तयार गरिएको जानकारी दिए।‘अब बस्ने मन्त्रिपरिषद् बैठकले नीति पारित गरेपछि लागू हुनेछ,’ उनले भने, ‘त्यसपछि राउटेको सशक्तिकरण र मूलप्रवाहिकरणमा महत्वपूर्ण उपलब्धीहरु हाँसिल हुने अपेक्षा गरेका छौं।’उनले राउटे समुदायलाई मदिरा सेवन गराउने, विक्री वितरण गराउने कार्यमा पूर्ण प्रतिवन्ध, राउटे करिडोरको निर्माण, एकद्वार प्रर्णालीद्वारा राहत वितरण, राउटे बस्ती प्रवेशमा कडाईलगायतका विषय समेटेर राउटे नीति तयार पारिएको जानकारी दिए।