Redirecting...

बन्दीपुरमा नेपथ्य को साङ्गीतिक उत्सव - sahityapost.com

बन्दीपुरमा नेपथ्य को साङ्गीतिक उत्सव - sahityapost.com
Source: shpt

बन्दीपुर। विश्वभर प्रेम दिवसको उल्लास चलिरहेका बेला तनहुँको पर्यटकीय पहाडी बस्ती बन्दीपुरमा लोकरक ब्यान्ड नेपथ्यको साङ्गीतिक प्रस्तुति विशेष आकर्षण बनेको छ। देशका विभिन्न सहरमा कन्सर्ट सम्पन्न गर्दै बन्दीपुर पुगेको ब्यान्डले दर्शकको उल्लेख्य उपस्थितिबीच आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेको हो। निर्धारित समयमै सुरु भएको कार्यक्रममा साँझको सिरसिरे हावाबीच मञ्चमा उत्रिएको ब्यान्डले पहिलो प्रस्तुति ‘हो रामा रामा’ सुनाउँदै वातावरण तताएको थियो। करिब १९ हजार जनसङ्ख्या रहेको बन्दीपुर गाउँपालिकामा कन्सर्ट हेर्न आएका दर्शकको सङ्ख्या उल्लेखनीय देखिएको थियो, जसमा बाहिरी क्षेत्रबाट आएका दर्शकको बाहुल्य रहेको आयोजकले जनाएका छन्। कार्यक्रममा विदेशी दर्शकको सहभागिता पनि उल्लेख्य थियो। बेलायतबाट नेपाल भ्रमणमा आएका जोसेफ र एलिभिया बन्दीपुर घुम्ने क्रममा कन्सर्टबारे जानकारी पाएपछि कार्यक्रममा सहभागी भएको बताउनुभएकाे थियाे। उहाँहरूले नेपथ्यको लोकभाकामा आधारित प्रस्तुति मन पराएको प्रतिक्रिया दिनुभएकाे थियाे । त्यसैगरी नेपालमै लामो समयदेखि बसोबास गर्दै आएकाे विदेशी भ्लगर ‘ज्याक दाइ’ पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्याे । उहाँले नेपथ्यको प्रस्तुति सधैँ ऊर्जावान् र प्रभावशाली हुने प्रतिक्रिया दिनुभएकाे थियाे । मञ्चबाट गायक अमृत गुरुङले प्रेम दिवसको प्रसङ्ग जोड्दै कलेज जीवनका सम्झना साट्नुभएकाे थियाे । त्यसपछि उहाँले नेपथ्यको प्रारम्भिक गीत ‘आँगनैभरि’ प्रस्तुत गर्दा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए। बन्दीपुरको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उहाँले स्थानीय समुदायको सक्रियताले यस क्षेत्रलाई पुनः पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको उल्लेख गर्नुभयाे । कन्सर्टमा स्थानीय लोकभाका ‘कौडा’ मा आधारित ‘जोगले हुन्छ भेट’ लगायतका गीतहरू प्रस्तुत गरिएको थियो। दुई घण्टासम्म चलेको कार्यक्रममा ब्यान्डले १७ वटा गीत सुनाउँदै राष्ट्रिय भावनाले ओतप्रोत ‘रातो र चन्द्रसुर्जे’ गीतबाट प्रस्तुति समापन गरेको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका दर्शक सहभागी भएका थिए। स्थानीयवासी तथा बाहिरी क्षेत्रबाट आएका संगीतप्रेमीहरूले बन्दीपुरमा यस्ता साङ्गीतिक कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय आयोजक ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ का प्रतिनिधिले बाहिरी क्षेत्रबाट आएका दर्शकको व्यापक उपस्थितिले भविष्यमा थप यस्ता कार्यक्रम आयोजना गर्ने प्रेरणा मिलेको बताउनुभयाे । बन्दीपुरलाई साङ्गीतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याइएको छ। बन्दीपुरको प्रस्तुति सम्पन्न भएसँगै नेपथ्यको यसपालिको नेपाल यात्रा शृङ्खला पूरा भएको छ। ब्यान्डको आगामी प्रस्तुति फेब्रुअरी २८ मा भारतको सिलिगुडीमा हुने जनाइएको छ।