नेपाल इकोसकको अध्यक्षमा निर्वाचित - ukaalo.com
काठमाडौँ– नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ। परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ। राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्यभार सम्हालेका हुन्। अध्यक्षमा निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको थापाले बताएका छन्। दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने उनको भनाइ छ। “बहुपक्षीयतामा विश्वास पुनर्स्थापना गर्ने, विभाजन घटाउने जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु,” उनले भने। आगामी वर्षका लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया परिषद्को उपाध्यक्षमा निर्वाचित भएका छन्।