प्रमुख दलहरुकै सहमतिमा सुशिला कार्की प्रधानमन्त्री बन्नुभएको हो: खरेल - nagariknews.nagariknetwork.com
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्की प्रमुख राजनीतिक दलहरूको सहमतिमै प्रधानमन्त्री नियुक्त भएको र यो सरकार गठन भएको स्पष्ट पारेका छन्।सरकारको वैधता र जनसमर्थनका विषयमा उठ्ने गरेका प्रश्नहरूको जवाफ दिँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रमुख दलहरूको सहमति र जेन-जी आन्दोलनको जगमा वर्तमान सरकार बनेको दाबी गरेका हुन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै मन्त्री खरेलले भने, ‘यो सरकारलाई समर्थन छैन कि, असंवैधानिक छ कि भन्ने भ्रम कसैमा छ भने त्यो हटाउन चाहन्छु। मुख्य राजनीतिक दलहरुकै सहमतिमा सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीज्यू प्रधानमन्त्रीमा आउनुभएको हो र यो सरकार बनेको हो।’मन्त्री खरेलले वर्तमान सरकार जेन-जी आन्दोलनले बनाएको सरकार भएको बताए। उनले जेन-जी पुस्ताले सडकबाट वलिदानी दिँदै उठाएका माग र उनीहरूको चाहना बमोजिम नै सरकार अघि बढेको उल्लेख गरे।‘इतिहासमा स्वार्थ नमिसिएको, निस्वार्थ आन्दोलन कुनै थियो भने त्यो जेन-जीको आन्दोलन थियो,’ मन्त्री खरेलले भने, ‘आन्दोलन भइसकेपछि उनीहरूले सत्ता र सरकार मागेनन्, हामीलाई पठाए। उनीहरूकै म्यान्डेट अनुसार फागुन २१ मा चुनाव गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकार केन्द्रित छ।’अन्तर्राष्ट्रिय समुदायबाट समेत सरकारलाई पूर्ण समर्थन रहेको मन्त्री खरेलले बताए। छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि शुभकामना र सहयोगको प्रतिबद्धता जनाएको उनले जानकारी दिए।‘भारत र चीनले चुनाव गराउनका लागि हामीलाई आर्थिक र भौतिक सहायता (गाडी लगायतका सामग्री) आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन्,’ उनले भने, ‘पछिल्लो एक दशकयता सबैभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन पाएको नागरिक सरकार यही हो।’मन्त्री खरेलले निर्वाचनका लागि वातावरण बनिसकेको र हिजो चुनावमा भाग लिन्नौँ भन्ने दलहरू पनि अहिले चुनावको तयारीमा होमिएकाले तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुनेमा आश्वस्त रहन आग्रह गरे।