वाङ्मय विमर्शको चौथो शृङ्खलामा अनेसासका अग्रज भीम रेग्मीसँग साहित्य संवाद - sahityapost.com
काठमाडौँ । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमको चौथो शृङ्खला मंसिर २८ गते २०८२ (डिसेम्बर १४) मा सम्पन्न भएको छ । प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा समर्पित स्रष्टाहरूलाई केन्द्रमा राखेर आयोजना हुँदै आएको यस शृङ्खलामा यसपटक अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) का अग्रज साहित्यकार भीम रेग्मी सहभागी हुनुभएकाे थियाे । कार्यक्रममा भीम रेग्मीले अनेसासको स्थापना कालदेखि विधान लेखन, संस्थागत विस्तार तथा नेतृत्वका विभिन्न जिम्मेवारी सम्हाल्दै नेपाली भाषा–साहित्यका लागि पुर्याएको योगदानबारे अनुभव साझा गर्नुभयो । उहाँले कोषाध्यक्ष, महासचिव र अध्यक्षका रूपमा सफलतापूर्वक भूमिका निर्वाह गर्नुका साथै अनेसास बोर्ड अफ ट्रस्टिजको उपाध्यक्ष भएर पनि सेवा गर्नुभएको स्मरण गर्नुभयाे । नेपाली साहित्यका कृतिहरूको मूल्याङ्कन गरी पुरस्कृत गर्नुपर्छ भन्ने अवधारणाको सुरुआत पनि भीम रेग्मीबाटै भएको कार्यक्रममा उल्लेख गरिएकाे थियाे । तीस हजार अमेरिकी डलरको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट पुरस्कार प्रदान गर्ने योजना सन् १९९३ तिरै प्रस्तावित भए पनि सन् २००१ मा उहाँ अध्यक्ष भएपछि कार्यान्वयनमा आएको जानकारी दिएकाे थियाे । सोही योजनाअन्तर्गत सन् २००२ मा रमेश खकुरेलको स्रग्धरा महाकाव्य, डा. सुधा त्रिपाठीको भूपी कवितामाथिको कृति तथा कृष्णराज खनालको जीवन र परिवेश लगायत कृतिहरू पुरस्कृत भएकाे थियाे । छोटो जीवनी सन्दर्भमा रेग्मीले कक्षा ६ मा कविता प्रतियोगितामा प्रथम भएपछि साहित्यप्रति आकर्षित भएको र नेपाल ल क्याम्पसमा अध्ययनरत रहँदा आरआर क्याम्पसमा नेपाली साहित्य अध्ययन गरेको स्मरण गर्नुभयो । प्रवासमा नेपालीहरूसँग साहित्यका कुरा गर्दा नेपालमै पुगेजस्तो अनुभूति हुने उहाँको भनाइ थियो । कार्यक्रममा रेग्मीले साहित्य लेखनलाई पुस्तकमा मात्र सीमित नराखी अडियो र ई–बुकमार्फत पनि विस्तार गर्नुपर्ने, नेपाली भाषा–साहित्यलाई अंग्रेजी, हिन्दी लगायत अन्य भाषाभाषी समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो । साथै, विदेशी मुलुकहरूमा नेपाली भाषालाई ऐच्छिक विषयका रूपमा पढाउने व्यवस्था भएमा नेपाली मूलका बालबालिकालाई ठूलो प्रोत्साहन मिल्ने धारणा राख्नुभयो । वाङ्मय विमर्श कार्यक्रम अनेसास केन्द्रीय बालसमितिका संयोजक सुरेन उप्रेतीसँग संवादका रूपमा सम्पन्न भएको थियो । The post वाङ्मय विमर्शको चौथो शृङ्खलामा अनेसासका अग्रज भीम रेग्मीसँग साहित्य संवाद appeared first on साहित्यपोस्ट.