Redirecting...

भावुक हुँदै भीम रावलले भने: फर्केर यहाँ आउँदा आलो घाउमा मल्हम लागे जस्तो भयो - nagariknews.nagariknetwork.com

भावुक हुँदै भीम रावलले भने: फर्केर यहाँ आउँदा आलो घाउमा मल्हम लागे जस्तो भयो - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा (एमाले) बाट निष्कासित भएपछि करिब एक वर्षदेखि एक्लै राजनीतिक अभियान चलाइरहेका नेता डा. भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।बुधबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ लाई नयाँ पार्टीमा विलय गराउँदै डा. रावलले यो पुनर्मिलनले आफूलाई आलो घाउमा मल्हम लगाए जस्तो महसुस भएको सुनाएका छन्।पार्टी विभाजनको पीडा स्मरण गर्दै भावुक बनेका रावलले तत्कालीन नेकपा विभाजन हुँदा आफूहरूले गह्रुँगो मन बोकेर यही ठाउँबाट छुट्टिनुपरेको स्मरण गरे।‘प्रतिक्रियावादीहरूले कम्युनिष्ट आन्दोलनलाई विखण्डित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न पार्टी विभाजन गराए,‘ उनले भने, ‘आज फेरि यहीँ फर्केर यहाँहरू (नेताहरू) को बीचमा उभिँदा त्यो बिछोडको दिनको आलो घाउमा मल्हम लागे जस्तो महसुस भएको छ।’देश अत्यन्तै विकट अवस्थाबाट गुज्रिरहेको भन्दै उनले राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको लडाइँलाई सशक्त रूपमा अगाडि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र यो एकताले त्यही संकल्प बोकेको बताए।नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलबीच एकता घोषणा भएको एक साता नबित्दै रावल पनि यो कित्तामा उभिएका हुन्।यद्यपि, पार्टीमा उनको वरीयता र जिम्मेवारी भने तत्कालका लागि टुंगो लागेको छैन।यो पनि पढ्नुहोस्जिम्मेवारी बिनै भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहितनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र डा. रावलद्वारा हस्ताक्षरित ७ बुँदे सहमतिपत्रमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाइनेछ।’नयाँ पार्टीमा संयोजक दाहाल, सह-संयोजक नेपाल, तेस्रो वरीयतामा झलनाथ खनाल र चौथोमा वामदेव गौतम रहेका छन्। तर, माओवादीकै नारायणकाजी श्रेष्ठ लगायत एकीकृत समाजवादीका अन्य नेताहरूको समेत वरीयता र जिम्मेवारी निर्धारण भइनसकेको अवस्थामा रावल पनि बिना कुनै पदीय टुंगो पार्टीमा समाहित भएका हुन्।सहमतिअनुसार आगामी ६ महिनाभित्र एकताको राष्ट्रिय महाधिवेशन गर्ने र त्यसका लागि आवश्यक राजनीतिक प्रतिवेदन, विधान र कार्यक्रमजस्ता दस्तावेजहरू संयुक्त रूपमा तयार पारिनेछ।अध्यक्ष केपी शर्मा ओलीसँगको तीव्र मतभेदपछि नेकपा (एमाले) ले गत वर्षको पुस १० गते डा. रावललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।त्यसपछि मातृभूमि जागरण अभियान मार्फत सक्रिय रहेका उनले आफूलाई एमालेकै कार्यकर्ता बताउँदै आएका थिए।निष्कासनको १० महिनापछि उनी औपचारिक रूपमा नयाँ कम्युनिष्ट पार्टीमा सामेल भएका हुन्। यद्यपि, यो नयाँ दलले हालसम्म निर्वाचन आयोगमा दर्ताका लागि निवेदन भने दिएको छैन।