न्युकासललाई पराजित गर्दै सिटी फाइनल नजिक - ehimalayatimes.com
लण्डन । इंग्लिस लिग कपको पहिलो लेगमा न्युकासल युनाइटेडलाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलनजिक पुगेको छ । मंगलबार राती विपक्षीको घरेलु मैदान सेन्ट जेम्स पार्कमा न्युकासललाई २-० गोल अन्तरले हराउँदै सिटी फाइनलनजिक पुगेको हो । खेलमा सिटीका एन्टोइन सेमेन्यो नायक बन्नुभयो । उहाँले खेलको ५३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । यो गोलसँगै सेमेन्योले सिटीका लागि लगातार दोस्रो खेलमा गोल गर्ने कीर्तिमान बनाउनुभयो । गत साता बोर्नमाउथबाट ८७ मिलियन डलरमा सिटी पुग्नुभएका सेमेन्योले यसअघि एफए कपमा एक्सेटरविरुद्ध १०-१ को जितमा पनि गोल गर्नुभएको थियो । खेलको इन्जुरी समयमा रायन चेर्कीले दोस्रो गोल गर्दै सिटीको जित पक्का गर्नुभयो । सिटीका कप्तान बर्नार्डो सिल्भाले सेमेन्योको प्रशंसा गर्दै उहाँ टोलीका लागि महत्वपूर्ण खेलाडी भएको बताउनुभयो । यो जितसँगै सिटीले उपाधि रक्षामा रहेको न्युकासलमाथि दुई गोलको अग्रता बनाएको छ । अब दोस्रो लेग अर्को महिना इत्तिहाद स्टेडियममा हुनेछ । गएको सिजन उपाधि जितेर ७० वर्षको घरेलु ट्रफी पर्खाइ तोडेको न्युकासलका लागि अब फाइनल पुग्न चुनौतीपूर्ण देखिएको छ । सिटी हाल चारवटा उपाधि जित्ने लक्ष्यमा छ । सिटीले यसअघि आठपटक लिग कपको उपाधि जितिसकेको छ भने पेप ग्वार्डिओलाको प्रशिक्षणमा चारपटक ट्रफी उचालेको छ । एजेन्सी