प्रदीप ज्ञवालीको प्रश्न : कांग्रेसको विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति मौनता किन ? - nagariknews.nagariknetwork.com
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भदौ २४ गते देशमा भएको विध्वंश र त्रासदीप्रति केही राजनीतिक धाराहरूले देखाएको मौनता तथा तुष्टीकरण गम्भीर विषय भएको बताएका छन्।नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लोकतान्त्रिक आन्दोलनका सहयात्रीको हैसियतले नेपाली कांग्रेस मतभेदलाई सुझबुझपूर्ण ढंगले समाधान गर्दै अझ एकताबद्ध र सुदृढ बन्न सकोस् भन्ने कामना रहेको उल्लेख गरेका छन्।तर, महाधिवेशनमा प्रस्तुत केही अभिव्यक्ति र दस्ताबेजमा भदौ २४ को घटनाप्रति रहस्यमय मौनता देखिएको भन्दै उनले आपत्ति जनाए। समाजमा असन्तुष्टि रहेको र युवासँग सत्ता तथा संस्थाहरूको दूरी बढेको स्वीकार्दै पनि त्यसको आडमा भएको हिंसा र विध्वंशलाई ‘जेन्जी आन्दोलन’ को नाममा जायज ठहर्याउन नहुने उनको भनाइ छ।ज्ञवालीले भदौ २३ गते पूर्वाह्नमा भएको प्रदर्शन भद्र भए पनि अपराह्नपछि आयोजकको नियन्त्रणमा नरहेको र घुसपैठका कारण हिंसात्मक बनेको दाबी गरे। प्रदर्शनभित्र घुसपैठ गरी रक्तपात मच्चाउने र युवालाई मानवढाल बनाउने कृत्य तथा अपराधलाई आन्दोलनकै नाममा वैधता दिनु वा ठहर्याउनु भएको उनले बताए।उनले पछिल्लो समय कथित नागरिक सरकारप्रति ऊर्जा व्यापारमा भएको घोटाला, घाइतेको उपचारप्रति बेवास्ता, गैरकानुनी गतिविधिमा संलग्नलाई संरक्षण तथा मन्त्रीहरूका विवादास्पद निर्णय र अभिव्यक्तिका कारण व्यापक असन्तुष्टि देखिएको उल्लेख गरे। तर, त्यसकै बहानामा पुनः सिंहदरबार जलाउने कार्यलाई उचित ठहर्याउन नसकिने उनको जोड छ।'अराजकता र आन्दोलन एउटै होइनन्, विध्वंश र विद्रोह एउटै होइनन्,' भन्दै उनले आन्दोलन, विद्रोह वा क्रान्तिका आफ्नै नैतिक मूल्य र सीमाहरू हुने स्पष्ट पारे।गलत साधनबाट सही साध्यमा पुग्न नसकिने उल्लेख गर्दै ज्ञवालीले नेतृत्वका गल्तीको विरोध गर्ने नाममा लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि आक्रमणलाई जायज ठहर्याउने बाटोमा नहिँड्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका छन्।यस्तो छ ज्ञवालीको स्टाटस:नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ। त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो यौटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस्।तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर छ। त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टीकरण। सत्य हो– समाजमा असन्तुष्टि थियो। सत्य हो– युवाहरूसँग समाज, सत्ता र संस्थाहरूको दूरी एक हदसम्म बढेको थियो। त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो। तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरूले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरूको नियन्त्रणमा नै। प्रदर्शनभित्र घुशपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरूलाई पनि ’जेन्जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्याउने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ।समाजमा असन्तुष्टिहरू हुन्छन्। आज पनि छन्। ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरूको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा सङ्लग्नहरूलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरूका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर। स्वयं ‘जेन्जी अभियन्ता’ हरू असन्तुष्ट छन्। तर यसको अर्थ अब यसै बहानामा पुनः सिँहदरबार जलाउनु उचित ठहरिन्छ?अराजकता र आन्दोलन एउटै होइनन्। विध्वंश र विद्रोह एउटै होइनन्। आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरू हुन्छन्। नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला?राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्छ। गलत साधनबाट सही साध्यमा पुग्न सकिँदैन।विध्वंशका ‘नायक’ हरू त अरुहरू नै छन्। कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढ्दैछन्।नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरू त्यही बाटोमा नहिँडे हुने हो।