भ्रष्टाचारको मुद्दा लागेका भीम आचार्यले एमाले उपाध्यक्षमा दिए उम्मेदवारी, पत्याएनन् ओलीले - www.sutranews.com
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमै फेरि अर्को विद्रोह देखिएको छ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विघटित प्रतिनिधिसभा सांसद भीम आचार्यले एमाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएसँगै ओली समूहभित्रको असन्तोष खुला विद्रोहमा देखियो। ओली समूहका प्रभावशाली नेतासमेत रहेका आचार्यविरुद्ध केही दिनअघि मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा आचार्य ५६ जना प्रतिवादीमध्ये एक हुन्। सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा दर्ता हुनासाथ पद निलम्बनको कानुनी व्यवस्था लागु हुने भएकाले उनी एमाले महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न सक्दैनन्। पार्टीले आफूलाई साइडलाइन गरेको स्पष्ट संकेत पाएपछि आचार्यले ‘कामको मूल्यांकन’को प्रश्न उठाउँदै मैदानमा उत्रिएको एमाले वृत्तमा चर्चा छ। मनोनयन दर्तापछि उनले भने, ‘पार्टीमा कामको मूल्यांकन हुनुपर्छ। न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला।’