भदाै २३-२४ को घटना विनाशकारी घटन, बिर्सिएका छैनौँ- बिर्सने छैनौँ : केपी ओली - janatatimes.com
काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना विनाशकारी घटना भएको बताउनुभएको छ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो घटना महाविनाशकारी घटना भएको बताउनुभयो । उहाँले ती घटनाहरू बिर्सन नसकिने बताउनुभयो । उक्त घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने माग गर्दै उहाँले असामान्य परिस्थितिमा थप मानवीय र भौतिक क्षति नहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको स्मरण गराउनु भयो । अध्यक्ष ओलीका अनुसार उक्त समय देश गम्भीर अन्योलको अवस्थामा थियो । संवैधानिक निकास दिन एमालेले विभिन्न विकल्प अघि सारेको उहाँको भनाइ छ । ‘यदि संसद् बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने हो भने दलहरूबिच स्पष्ट सहमति हुनुपर्छ, संसद् मार्फत संविधान संशोधन हुनुपर्छ र संसद् विघटन गर्न हुँदैन भन्ने हाम्रो अडान थियो,’ उहाँले भन्नुभयो । देशलाई ती विकल्पअनुसार होइन, उल्टो दिशातर्फ लगिएको अध्यक्ष ओलीको भनाइ छ । उहाँले असंवैधानिक सिफारिसका आधारमा गरिएको संसद् विघटन अस्वीकार्य भएको स्पष्ट पार्दै यस्तो अवस्थामा पुनर्स्थापनाबाहेक अन्य कुनै विकल्प नरहेको धारणा व्यक्त गर्नु भयो । ओलीले भदाै २३ को घटनमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै भएको क्षति प्रति दुःख व्यक्त गर्नुभयो ।