Redirecting...

मेयर भट्टराईले भने– ‘एक मुठी श्वास रहुन्जेलसम्म आमरण अनशन जारी रहनेछ’ - www.palikalive.com

मेयर भट्टराईले भने– ‘एक मुठी श्वास रहुन्जेलसम्म आमरण अनशन जारी रहनेछ’ - www.palikalive.com
Source: plkl

काठमाडौं– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफ्ना ७ बुँदे माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने घोषणा गरेका छन्। श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका मेयर भट्टराईले शुक्रवार पत्रकार सम्मेलन गर्दै भने, ‘७ बुँदे माग सम्बोधन नभएसम्मका लागि एक मुठी श्वास रहुन्जेलसम्म पनि आमरण अनशनबाट पछि नहट्ने ब्यहोरा अवगत गराउँदछु।’ उनका तर्फबाट नगर उपप्रमुख विसन राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेयरको स्वास्थ्यमा समस्या देखिएपछि श्रावण १४ गते उनलाई वीर अस्पताल लगिएको हो। त्यसपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै जीवनरक्षाका लागि आवश्यक पहल गर्न सुझाव दिएको थियो।’ मेयर भट्टराईले बाँदर आतङ्क नियन्त्रण, जलवायु परिवर्तन र बाँसको सदुपयोगसम्बन्धी विषयहरू समेटिएका ७ बुँदे माग अघि सारेका छन्। यसबीच, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा वन तथा वातावरण मन्त्रालयमा वार्ता भए पनि निष्कर्ष निस्कन सकेन। उपमेयर राईको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले पाँच घण्टा लामो छलफल गरे पनि ‘अमूर्त र तदर्थ’ प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएको छ। उपमेयर राईले सरकारको वार्ता शैलीप्रति आपत्ति जनाउँदै, ‘यो माग तुहाउने षड्यन्त्र हो,’ भनेका छन्। प्रेस विज्ञप्तिमा मेयर भट्टराईले आमरण अनशनको निगरानी गर्न जिल्ला प्रशासन कार्यालय (सिडिओ) कार्यालयले प्रतिनिधि नपठाएकोमा पनि असन्तुष्टि जनाएका छन्। उनले प्रमुख जिल्ला अधिकारीलाई तत्काल एक जना आधिकारिक प्रतिनिधि पठाउन आग्रह गरेका छन्।