हृदयेन्द्रको भ्लग देखेर आत्तिएकाहरूका नाममा - www.nepalclicks.com
देशका अन्तिम राजा ज्ञानेन्द्र शाहका नाती अर्थात् पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाह अहिले सामाजिक सञ्चालमा चर्चामा छन्। जुम्ला घुमफिरलाई छोटो भिडियोको कारण सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको हो। ‘माई ट्रिप टु जुम्ला’ नाम दिएर १५ मिनेट २२ सेकेन्ड अवधिको यो भ्लग आमा हिमानीसँग जुम्ला भ्रमणमा बेला हृदयेन्द्रले बनाएका हुन्। भ्लगमा जुम्लाको सौन्दर्य, त्यहाँका नागरिकसँगको कुराकानी र सामीप्यता, कर्णाली प्राविधिक शिक्षालय, कच्ची सडकसमेतका दृष्य कैद छन्। पाताराशी गाउँपालिका घर भएकी पञ्चकली बूढासँग हृदयेन्द्रको कुराकानी र उनको गायकीको प्रशंशाले सामाजिक सञ्जाल सिञ्चित भएको छ। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टेलिफोन टावर, भदौरे मेला लाग्ने स्थान, कान्जिरोवा हिमाल, रारा र डोल्पा जाने बाटो देखाउँछिन्। जुम्ली देउडा लयमा आफैँले लेखेको गीत गाएर सुनाउँछिन्: (जुम्ला फल्छ धान)२ संसारकै अग्लो ठाउँमा ((कोइ सुन्दैनन् कान)२ कर्नाली रोयाको आवाज)२ (हाम्रै सिँजा घर)२ खस भाषाको उद्गमस्थल((हुन्छ कठैबरा)२ ज्याको(?) सौतेनी व्यवहार)२ पञ्चकलीले हृदयेन्द्रलाई अनायासै प्रश्न गर्छिन्, ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला?’ हृदयेन्द्रको उत्तरले धेरैको ढ्यांग्रो बजेको हुन सक्छ। ‘मान्छेहरूले राम्रो काम गर्यो भने, सबै कुरा राम्रोसँग चल्यो भने हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्यो। आँट गर्नुपर्यो,’ हृदयेन्द्रको उत्तर छ। पञ्चकली र हृदयेन्द्र कुराकानीका क्रममा भ्लगले चर्चा पाउन थालेपछि केही मानिसको ढुकढुकी बढेको छ। धेरै गणतन्त्रका ठेकेदारलाई हृदयेन्द्रको उत्तरले हायलकायल बनाएको हुन सक्छ। पटकपटक प्रधानमन्त्री बनेका कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’को झटारो हानेर नेपालको राजनीतिमा एक समय नेपालीको ध्यान मोड्ने यत्न गरेका थिए। उनै हृदयेन्द्रका नाममा। त्यो बेला पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारस राजा बन्न नसक्ने बरु हृदयेन्द्रलाई बनाउन सकिने भनेर उनले फालेको पासोको धङधङी अहिलेसम्म नेपालको राजनीतिमा छँदैछ। भ्लगमा शान्त स्वभाव, हसिलो मुहार, नम्र बोली र अभिवादनसहित जुम्लीबीच प्रस्तुत भएका हृदयेन्द्रले चर्चा पाउन थालेपछि राजतन्त्र मासिएपछि गणतन्त्रका नाममा लुट मच्चाएर बसेका, गणतन्त्रको तर मार्न माहिरहरू तनावमा परेर छटपटी देखाउन थालेका छन्। स्वर्गीय गिरिजाले भनेझैं यदि बेबी किङको झटारो सफल हुने दिन आयो भने गणतन्त्रका ठेकेदारको बिल्लीबाठ हुने कल्पना गरेर एउटा झुण्ड बिछट्टिएर सामाजिक सञ्जालमा वाकवाकी गरिरहेका पनि छन्। हृदयेन्द्रलाई जुम्ला भ्रमणमा लगेर नेपाल देखाउने कल्पना गर्ने र त्यो कल्पना साकार पार्ने जो कोही भएपनि यो उत्तम काम हो। जसले यो सोच्यो र हृदयेन्द्रलाई दरबारिया घेराबाट बाहिरको नेपाल देखायो, त्यो धन्यवादको पात्र हो। भ्लगमा जुम्लाको माहोल हेर्दा अब जनताको चाहना भनेको गणतन्त्रका ठेकेदारहरुलाई किनारा लगाउन हृदयेन्द्रजस्ता अवोध युवाको आवश्यकता छ। जसले देश चिनोस्, नेपाली चिनोस्। जुम्लाजस्तै देशका अन्य ७६ जिल्लामा पनि अब हृदयेन्द्र पुग्नुपर्छ, या उनलाई देशाटन गराउनुपर्छ। यसबाट भ्रष्टाचार र अनियमिततामा डुबेका नेता, कर्मचारीदेखि बिचौलियासम्मको मुटुमा धड्कनको चाप बढोस्। उनी देशाटनमा निस्किए भने नेपालको राजनीतिक माहोल नै परिवर्तन हुने देखिन्छ। अरु केही नभए पनि दरबारमा राम्रा मानिस पनि जन्मने रहेछन् भन्ने नेपालीले जानकारी पाउनेछन्। जुम्लामा पञ्चकली बुढासितको कुराकानीमा बुढाले सोधेको देश कहिले बन्छ भन्ने प्रश्नमा हामी सबै लागे देश बन्छ भन्ने उनको भनाइले धेरै नेपालीको मन छोएको छ।