हाइप्रोफाइलको बयान लिने तयारीमा जाँचबुझ आयोग, ओली र लेखकलाई बोलाउने तयारी - www.pardafas.com
गत भदौ महिनामा भएको जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न बनाइएको जाँचबुझ आयोगले फील्डमा खटिएका सुरक्षाकर्मीको बयान लिने काम करिब सम्पन्न भएको जनाइएको छ। अब नीतिगत तहमा रहेका अधिकारी र राजनीतिक नेतृत्वको बयान लिइने उसको भनाइ छ। प्रवक्ताको जिम्मेवारीमा रहेका आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार ती घटना हुँदा कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको बयान लिने काम करिबकरिब सकिन लागेको छ। ‘अब नीतिगत तहमा रहेका व्यक्तिको बयान लिने चरणमा प्रवेश गर्छौँ, उनले भने, त्यसपछि तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको तहसम्म जान्छौँ।’ नवयुवाहरूले भदौ २३ मा गरेको विरोधप्रदर्शनमा कैयौँ मानिसको गोली लागेर मृत्यु भएपछि त्यसले आन्दोलनको स्वरूप लिएको थियो। आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २४ गते प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए। असोज ५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले आयोगलाई दिएको कार्यादेशमा भौतिक र मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुको कारणबारे राय सुझाव सहितको प्रतिवेदन दिने क्षतिको विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा राय दिने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझाव दिने र प्रतिवेदन कार्यान्वयनका लागि स्पष्ट कार्य योजना प्रस्तुत गर्ने उल्लेख छ। बयान लिने बारेमा उनीहरूलाई जानकारी दिने प्रक्रिया सुरु भएको प्रवक्ता शर्माले बताए। आयोगले ओली र लेखकसहित अन्य अधिकारीहरू पनि अनुसन्धानको दायरामा रहेको भन्दै छानबिनको निम्ति कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्नेू निर्णय असोज १२ गते गरेको थियो। त्यसप्रति ओलीले सार्वजनिक रूपमै असन्तुष्टि प्रकट गरेका छन्। उनी आयोगमा बयान दिन नजाने अभिव्यक्ति पनि औलीसँग निकट नेकपा एमालेका नेताहरूले दिने गरेका छन्। तर आयोग कानुनसम्मत रूपमा गठन भएको र त्यसलाई सहयोग गर्नु राष्ट्रसेवक कर्मचारी र सबै नागरिकको कर्तव्य रहेको प्रवक्ता विज्ञानराज शर्माले बताए। कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको बयानका आधारमा आयोगले नीतिगत तहका अधिकारीहरूको बयान लिने भनेको छ। अब त्यस बेला जिल्लाको नेतृत्व गरेका प्रहरी र प्रशासनका प्रमुख, उपत्यकाका प्रहरी प्रमुख, विभिन्न सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका सहसचिव, सचिव र मुख्यसचिवहरूको बयान लिइने आयोगको तयारी छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्रकुबेर खापुङले अवकाश पाइसकेका छन्। लगत्तै उनलाई पनि विदेश भ्रमणमा रोक लगाउनुका साथै स्वीकृतिबेगर उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पत्राचार गर्ने निर्णय गरेको छ। भदौ २४ गते उपत्यका प्रहरी प्रमुख रहेका दानबहादुर कार्की प्रहरी प्रमुख नियुक्त भएका छन्। मुख्यसचिव एकनारायण अर्याल र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी आउँदो साता अवकाश हुने बताइएको छ। उनीहरूको बयानलगत्तै दुई सातामा राजनीतिक नेतृत्वको पनि बयान लिइने तयारीमा आयोग रहेको जानकारहरूको भनाइ छ।