पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप छ : शंकर पोखरेल - www.pardafas.com
सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको टिप्पणी गरेका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए । ‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नु भएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनु भएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनु भएको छ’, उनले भने । महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए । उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।