हेटौंडामा ‘वनफूलको विद्रोह’माथि साहित्यिक विमर्श - sahityapost.com
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२१औँ साहित्य शृङ्खलाका अवसरमा शनिबार बर्दियाकी कवि निरञ्जना चन्द ‘निरु’को कविता सङ्ग्रह वनफूलको विद्रोहमाथि परिचर्चा गरेको छ। झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष गायत्री रुपाखेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाकाव्यकार मुना अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै वनफूलको विद्रोह समकालीन चेतना, प्रतिरोध र स्त्री संवेदनालाई सशक्त ढङ्गले अभिव्यक्त गर्ने काव्यकृति भएको धारणा राख्नुभयो। कार्यक्रममा मकवानपुरका अग्रज तथा समकालीन साहित्यकारहरू देवराज खरेल, हयग्रीव आचार्य, राजकुमार लामिछाने, राजुराम राउत, मुक्तिगोविन्द वैद्यलगायत चार दर्जनभन्दा बढी साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। झरना साहित्यिक परिवारका कार्यसमिति सदस्य हरिप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो। बिहानी सत्रमा सम्पन्न कार्यक्रममा कृतिकार निरञ्जना चन्दले मन्तव्यसहित आफ्ना केही प्रतिनिधिमूलक कविता वाचन गर्नुभयो। प्रमुख अतिथि मुना अर्यालले कृतिको प्रशंसा गर्दै कृतिकार र झरना साहित्यिक परिवार दुवैलाई निरन्तर साहित्यिक यात्रामा अग्रसर रहन शुभकामना व्यक्त गर्नुभयो। The post हेटौंडामा ‘वनफूलको विद्रोह’माथि साहित्यिक विमर्श appeared first on साहित्यपोस्ट.