Redirecting...

सपनाको खोजमा निरन्तर यात्रारत एक युवकको गाथा ‘अलकेमिस्ट’ - sahityapost.com

सपनाको खोजमा निरन्तर यात्रारत एक युवकको गाथा ‘अलकेमिस्ट’ - sahityapost.com
Source: shpt

द अल्केमिस्ट ‘अलकेमिस्ट’ पाउलो कोयलो (अगस्ट २४, १९४७) को प्रसिद्ध उपन्यास हो । उनी विश्वप्रसिद्ध उपन्यासकार, गीतकार र आत्मिक लेखक हुन् । उनी ब्राजिलको रियो डी जेनेरोमा जन्मिएका थिए । कोयलोको बाल्यकाल ब्राजिलको एउटा क्याथोलिक परिवारमा बित्यो । उनका मातापिता उनलाई इन्जिनियर बनाउन चाहन्थे तर उनी शुरुदेखि नै लेखन कलामा रुचि राख्थे । व्यक्तिगत सङ्घर्षको कारणले उनको लेखनमा आत्म-साक्षात्कार र स्वतन्त्रता देखिन्छ । लेखक बन्नुभन्दा पहिले कोयलो एक गीतकारको रूपमा सक्रिय थिए । उनले एक समय हिप्पी जीवनशैली पनि अपनाए । उनी रहस्यवादमा रूचि लिन्थे । सन् १९८६ मा स्पेनको सान्टियागो द कम्पोटेस्लामा तीर्थयात्राको क्रममा उनको जीवनले अर्को मोड लियो । यही अनुभवले उनलाई ‘द पिलग्रिमेज’ र पछि ‘द अलकेमिस्ट’ उपन्यास लेख्नलाई प्रेरित गर्‍यो । कोयलोको लेखनमा आत्मिक खोज, ब्रम्हाण्डीय सङ्केत तथा प्रेम र आत्माको सम्बन्ध देखाइएको हुन्छ । उनको लेखनको भाषा रहस्यात्मक दार्शनिक अर्थसँगै सरल हुन्छ । उनले रूपक र प्रतीकहरूको व्यापक प्रयोग गर्छन् । उनले उत्प्रेरक र आत्मिक यात्रामा केन्द्रित कथानक पस्किन्छन् । उनका कृति लोककथा, मिथक र धार्मिक विचारबाट प्रेरित भएको देखिन्छ । कोयलोका अनुसार प्रत्येक व्यक्तिको जीवन एक उद्देश्यसँग जोडिएको हुन्छ, जसलाई उनले व्यक्तिगत प्रसिद्धि भने । उनका अनुसार कसैले सच्चा हृदयले कुनै चीजको चाहना गर्छ भने सम्पूर्ण ब्रम्हाण्डले उसको मद्दत गर्छ । कोयलोका अन्य मुख्य कृति ‘द पिलग्रिमेज’ (१९८७), ‘भेरोनिका डिसाइड्स टु डाई’ (१९८८) र ‘इलेभेन मिनेट्स’ (२००३) हुन् । ‘द पिलग्रिमेज’ कोयलोको आफ्नो सान्टियागो यात्रामा आधारित कार्य हो । ‘भेरोनिका डिसाइड्स टु डाई’ मानसिक स्वास्थ्य र जीवनको अर्थमा आधारित छ । र, ‘इलेभेन मिनेट्स’ प्रेम र यौनिकतामा आधारित एक विवादास्पद उपन्यास हो ।सन् १९८८ मा प्रकाशित उपन्यास ‘अलकेमिस्ट’ कोयलोको सबभन्दा प्रसिद्ध उपन्यास हो । यो उपन्यास संसारभरी ८० भन्दा बढी भाषामा अनुदित भएको छ र ५६ मिलियनभन्दा बढी विक्री भएको छ । यो एक दार्शनिक-आध्यात्मिक उपन्यास हो । यसले एक भेडा चराउने युवक सान्टियागोको यात्राको माध्यमबाट व्यक्तिगत नियति र जीवनको उद्देश्यको खोजालई दर्शाउँछ । सान्टियागो एक स्वप्नद्रष्टा हुन्छ । ऊ मिश्रका पिरामिडहरूको नजिकै खजानाको खोजीमा निस्किन्छ । उसको यात्रा आत्मिक खोज र ब्रम्हाण्डीय योजनामा विश्वासको प्रतीक हो । यो उपन्यासमा अलकेमिस्ट (रसायदविद) मार्फत् ज्ञान र आत्म-रूपान्तरणको प्रतीक देखाइएको छ । यहाँ उल्लेखित मरुभूमिले आन्तरिक सङ्घर्ष, एकाग्रता र परीक्षण स्थल जस्ता जीवनका चुनौतीहरूलाई दर्शाउँछ । पिरामिडलाई आत्म-खोजको प्रतीक मानिएको छ । सान्टियागोका सपना र संयोगले उसलाई मार्गदशर्न गर्छन् । ‘अलकेमिस्ट’ उपन्यास प्रेरणादायक छ । यसलाई आधुनिक रहस्यवादी कथा मानिन्छ । यसले पाठकहरूलाई सपना पूरा गर्न निरन्तर लागिरहनुपर्ने प्रेरणा प्रदान गर्छ । कोयलोको सरल भाषा र रूपकले उपन्यासलाई विश्वव्यापी बनाइदिएको छ । यो उपन्यास सूफीवादी र ताओवादी दर्शनबाट प्रभावित देखिन्छ । यो खलिल जिब्रानको ‘द प्रोफेट’ बाट पनि प्रभावित देखिन्छ ।यद्यपि लेखकले यो उपन्यासमा जटिल जीवनका शिक्षालाई पनि अतिसरलीकरण गरेका छन् । कथामा आत्म-सहयोगका सूत्रहरूको पुनरावत्ति भइरहन्छ । यसले अतिव्यक्तिवादी कथालाई बढावा दिन्छ, जसले पूँजीवादी विचारधारालाई पुष्टि गर्दछ, जस्तो कि हरेक व्यक्तिको उद्देश्य केवल स्वयंको उपलब्धि हो । यो दृष्टिकोणले समष्टिगत संघर्ष, सामाजिक न्याय र वर्गसंघर्षलाई उपेक्षा गर्छ । यो उपन्यासको कथा गहिराईमा जाँदै गर्दा कहिलेकाहीँ सतही पनि हुन्छ । उपन्यासमा फतिमालाई केवल प्रतीक्षा गर्ने स्त्रीको रूपमा चित्रण गरिएको छ । व्यापारीकी छोरीलाई पनि सक्रिय पात्रको रूपमा देखाइएको छैन । त्यसकारण यसमा नारी पात्रलाई सक्रिय भूमिकामा देखाइएको छैन । ‘अलकेमिस्ट’ स्पेनको अण्डालुसियाको भेडा चराउने युवक सान्टियागोको कथा हो । उसले पटक-पटक मिश्रको पिरामिड नजिक खजाना लुकाइएको सपना देख्छ । ऊ आफ्ना भेडा बेचेर यात्रामा निस्किन्छ; अफ्रिका पुग्छ र ठगिन्छ । तर उसले जीवनको हरेक कठिनाईमा एक अवसर हुन्छ भन्ने कुरा सिक्छ । मरुभूमि पार गर्दै उसले एक युवती फतिमासँग प्रेम गर्छ । त्यसपछि एउटा रहस्यमयी रसायनविदलाई भेट्छ, जसले सान्टियागोलाई आत्मज्ञानतिर लैजान्छ । अन्ततः ऊ पिरामिडसमम्म पुग्छ तर वास्तवक खजाना उसले त्यहाँ प्राप्त नगरेर आफ्नै पुरानो गिरजाघरमा पाउँछ, जहाँबाट उसले आफ्नो यात्रा शुरु गरेको थियो । यो यात्राको माध्यमबाट सान्टियागोलाई सच्चा खजाना आत्मज्ञान, प्रेम र ब्रम्हाण्डका सङ्केतहरूलाई बुझ्नुमा लुकेको हुन्छ भन्ने कुराको बोध हुन्छ । ‘अलकेमिस्ट’ उपन्यासमा धेरै दार्शनिक विषय प्रस्तुत गरिएको छ । यदि हामीले सम्पूर्ण हृदयदेखि कुनै चीज प्राप्त गर्न चाहेको खण्डमा त्यो सकारात्मक शक्तितिर अगाडि बढ्छ । संयोग जस्तो कुनै चीज हुँदैन, हरेक चीजको लागि पूरा मेहनतपूर्वक निरन्तर प्रयास गर्नुपर्छ । सपना साँचो हुने सम्भावनाले जीवनलाई मनोरञ्जक बनाउँछ । मानिस आफ्नो जीवनमा कुनै न कुनै समयमा आफ्नो सपनालाई पूरा गर्नमा सक्षम हुन्छन्; त्यसको लागि कुनै उमेर हुँदैन । हामीले आफ्नो वर्तमानमा ध्यान केन्द्रित गर्नुपर्छ, भूत वा भविष्यमा होइन; यसो गरेको खण्डमा हामी सधैं खुशी रहनेछौं । जीवन एक भव्य उत्सव जस्तै हो, किनकि जीवन यही क्षणमा हुन्छ, जहाँ हामी बाँचिरहेका छौं । असफलताबाट कहिल्यै डराउनुहुँदैन, यसले सपना हासिल हुनबाट वञ्चित गर्छ । हामीले स्वयंलाई प्रेम गर्यौं भने पहिलेभन्दा उत्कृष्ट प्रयास गरिरहेका हुन्छौं । पाउलो कोएलो हामीले उत्कृष्ट बन्ने प्रयास गरिरहँदा हाम्रो वरिपरिका चीजहरू पनि उत्कृष्ट हुँदै जान्छन् । यसबाट चीजहरूलाई हेर्ने हाम्रो दृष्टिकोण पनि उत्कृष्ट हुन्छ । दुःखको भय दुःखभन्दा पनि बढी डरलाग्दो हुन्छ । कुनै पनि हृदय आफ्नो सपनाको खोजी गर्नमा कहिल्यै पीडित भएको हुँदैन । यदि दुःखको महसुस भइरह्यो भने सपना पूरा गर्ने दिशामा उत्साहपूर्वक अगाडि बढ्न सकिंदैन । सिक्ने एकमात्र तरीका भनेको कर्म गर्नु हो । कर्म र यात्राबाट ज्ञान प्राप्त गर्न सकिन्छ । सामान्य चीज पनि सबभन्दा असाधारण हुनसक्छन् तर बुद्धिमान मानिसले मात्र त्यसलाई देख्न सक्छन्; अर्थात् जसले समान्य चीजबाट पनि धेरै अद्भूत कार्य गर्दछ, त्यही व्यक्ति बुद्धिमान हुनसक्छ । हरेक व्यक्तिसँग अरुले कसरी जिउनुपर्छ भन्ने अनुमान हुन्छ तर आफ्नो जिन्दगी कसरी जिउने भन्ने अनुमान हुँदैन । यदि हरेक व्यक्तिले आफ्नो जिन्दगीमा ध्यान दिनलाग्यो भने कुनै दुःख नै हुँदैन र सबैले आफ्नो जीवनलाई उत्कृष्ट बनाउन सक्नेछन् । वर्तमानलाई उत्कृष्ट बनाइयो भने भविष्य स्वतः उत्कृष्ट हुनेछ । धेरै मानिसलाई प्रायः आफ्नो जीवनको लक्ष्य प्रतीत हुँदैन । लक्ष्य हुँदा पनि त्यसलाई प्राप्त गर्ने हौसला हुँदैन । सपना साकार पार्नको लागि रोक्ने अवरोधहरू हुन्छन् । ती अवरोधहरू के हुन्छन् त ? यस्ता धेरै प्रश्नहरूको उत्तर खोज्ने प्रयास यो उपन्यासले गरेको छ । यो उपन्यासबाट जीवनमा आउने कठिनाईहरूसँग कसरी लड्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । यसले एकप्रकारको आशा र प्रेरणा जागृत गर्ने प्रयास गर्छ । यसले प्रेम, उद्देश्य र यात्रा के हो भन्ने बारेमा बताएको छ । यसरी ‘अलकेमिस्ट’ उपन्यास एक सरल तर रहस्यात्मक उपन्यास हो । यो एक आधुनिक परिकथा हो । यसले सपना, आत्म-खोज जस्ता विषयहरूलाई प्रतीकात्मक र रूपात्मक शैलीमा प्रस्तुत गर्छ । नारी पात्रको भूमिकामा कमी, पूँजीवादी प्रेरणा र सामाजिक सन्दर्भहरूको अनुपस्थिति जस्ता कारणले यसको बढी आलोचनासमेत हुने गरेको छ । तर पनि यसले संसारभरीका पाठकहरूको प्रेरणा र जीवनदर्शन प्रदान गर्ने एक कालजयी कृति बन्न सफलता हासिल गरेको छ । उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा सान्टियागो नामको एउटा युवकले भेडा चराउने काम गर्छ । ऊ स्पेनको शहर अन्दालुसियामा बस्थ्यो । ऊ संसार हेर्नमा शौखिन थियो । उसका पिताले घुम्नको लागि भेडा गोठालो बन्नु उत्तम हुन्छ भनेका थिए । त्यसकारण ऊ भेडा गोठालो बनेर एउटा गाउँबाट अर्को गाउँमा जाने गर्दथ्यो । सान्टियागोलाई यसबाट घुमफिर गर्ने शोख पनि पूरा हुन्थ्यो र उसले भेडाको ऊन बेचेर केही पैसा पनि कमाउने गर्दथ्यो । एकपटक उसका भेडा भग्नावशेषयुक्त चर्चमा पस्छन् । सान्टियागोलाई यहाँ भेडाहरूलाई कुनै खतरा छैन भन्ने थाहा हुन्छ तर राति कुनै जनावर आयो भने भोलिपल्ट तिनीहरूलाई खोज्न धेरै गाह्रो हुन्छ । त्यसकारण उसले भेडा निक्लिन नसकून् भने काठको बारले प्रवेशद्वार बन्द गरिदिन्छ । त्यसपछि उसले आफ्नो ज्याकेटले भुईं सफा गर्छ र सुत्छ । विहान छिट्टै उसको निद्रा खुल्छ । त्यो रात पनि उसले एक हप्ता पहिले देखेको जस्तै सपना देख्यो तर सपना अन्त्य हुनुभन्दा पहिले नै उसको निद्रा भङ्ग हुन्छ । यो सपनाबाट सान्टियागो धेरै बेचैन हुन्थ्यो, किनकि उसको यो सपना कहिल्यै पूरा हुन सक्दैनथ्यो । यतिखेरसम्म सम्पूर्ण भेडा पनि जागिसकेका थिए । सान्टियागोलाई उनीहरूले आफ्नो कुरा बुझ्छन् भन्ने लाग्छ तर केही दिन अगाडिदेखि ऊ तिनीहरूसँग एउटा व्यापारीकी छोरीको बारेमा कुरा गर्दथ्यो । सान्टियागो एउटा साथीले भनेकोले आफ्ना भेडाको ऊन बेच्न व्यापारीकोमा गएको थियो । व्यापारीको दोकानमा भीड थियो । एउटा मानिसले उसलाई दिउँसोसम्म प्रतीक्षा गर्न भनेकोले सान्टियागो दोकानको सिडीमै बस्यो । त्यसपछि पछाडिबाट एउटी युवतीको आवाज सुनियो । युवती अन्डानुसिया क्षेत्रकी देखिन्थिन् । उनका काला कपाल र आँखाले मोरिस विजेताको स्मरण गराउँथे । मोरिस एक बारबेरियन जनजाति थिइन्, जसलाई मानिसले अमेरिकी क्रिश्चियन मोरिस भन्छन् । सान्टियागोले पढ्नलाई किताब खोलेको थियो । त्यसकारण युवतीले भनेकी थिइन्, भेडा चराउने गोठालोले पढ्न पनि जान्दछन् भन्ने कुरा मलाई थाहा थिएन । सान्टियागोले पनि मुस्कुराएर उत्तर दिएको थियो, म आफ्ना भेडा र किताबबाट नै सिक्छु । युवतीले पनि प्रश्न गर्ने काम जारी राखिन् र सोधिन्, तिमीले पढ्न कहाँबाट सिक्यौं ? यदि पढ्न जान्दछौं भने गोठालो किन बन्यौं ? सान्टियागोले यी प्रश्नको उत्तरबाट बच्नको लागि यसै भन्दियो कि सबैले जसरी पढ्न सिक्छन्, मैले पनि त्यसरी नै सिकें । त्यसपछि युवतीलाई सान्टियागोले धेरै कथाहरू सुनायो । ऊ त्यहीँ काला कपाल भएकी युवतीसँगै रोकिन चाहन्थ्यो । उसलाई केही अलग अनुभव भइरहेको थियो । त्यसपछि युवतीको व्यापारी पिता आउँछ र भेडा गोठालासँग ऊन किनेर उसलाई अर्को वर्ष फेरि आउनलाई भन्छ । अब सान्टियागो त्यो भग्नावशेष चर्चमा आफ्ना भेडासँगै रहन्छ । व्यापारीको गाउँमा जानमा अब चार दिन बाँकी थियो । ऊ उत्साहित छ तर युवतीले कतै आफूलाई भुलेकी त छैनन् भन्ने पनि सोच्छ । किनकि त्यहाँ ऊ जस्तै धेरै गोठाला आउँछन् । यदि उनले भुलिन् भने अरु पनि त युवती छन् भनेर सान्टियागोले आफ्नो मनलाई शान्त्वना दिन्छ । ऊ आफ्ना भेडाहरूसँग केही फरक पर्दैन भन्छ । तर ऊ मनमनै फरक पर्छ भन्ने ठान्थ्यो । दिन ढल्दै गइरहेको थियो । गोठालो आफ्ना भेडालाई लिएर सूर्यको दिशामा अगाडि बढ्छ । सान्टियागोलाई ऊसँगै हिड्ने अन्य गोठालाले कुनै निर्णय लिन सक्दैनन् त्यसकारण तिनीहरू आफूसँग रहन्छन् भन्ने लाग्छ । ती अन्य गोठालाले आफ्नो युवावस्थामा सान्टियागोको जसरी किताब पनि पढेनन् । किनकि उसले उनीहरूलाई नयाँ शहरको बारेमा बताउँदा उनीहरू बुझ्नै सक्दैनन् । उनीहरू केवल खानपिन गर्ने र बेच्ने कुराको मात्र चिन्ता गर्छन् । सान्टियागो सोच्छ, यदि कुनै दिन राक्षस बनेर भेडालाई खानलागेको खण्डमा अन्य गोठालालाई सबै समूह चट भएपछि मात्र थाहा हुनेछ । सान्टियागो अब आफूलाई एक नेता ठान्छ । सान्टियागोले पुनः त्यही सपना देख्यो । अब उसलाई यो चर्च प्रेतले घेरिएको छ भन्ने लाग्छ, जसले उसलाई त्यही सपना पटक-पटक देखाइरहेको छ र उसका आफ्नै साथीहरूको बारेमा खराब विचार दिइरहेको छ । उसले आफ्नो रात्रिभोजबाट बाँकी रहेको सर्वत पियो र आफ्नो ज्याकेटलाई हातमा लियो । सूर्य आकाशमा बढ्दै जाँदा गर्मी पनि बढ्नेछ भन्ने कुरा उसलाई थाहा थियो । रातिसम्म गर्मी बढ्दै रहनेछ । सान्टियागोलाई आफ्नो ज्याकेटको बोझ महसुस भयो तर उसलाई यही ज्याकेटले विहानको चीसोबाट बचाउँछ भन्ने कुरा पनि थाहा थियो । ज्याकेटको पनि कुनै उद्देश्य छ र त्यसकारण ऊ ज्याकेटलाई पनि धन्यवाद दिन्छ । ज्याकेटको उद्देश्य जस्तै उसको पनि एक उद्देश्य यात्रा गर्नु हुन्छ । उसलाई त्यो इलाकाका सबै शहरहरूको बारेमा थाहा थियो । उसले त्यो युवतीलाई कसरी एउटा साधारण गोठालोले पढ्न-लेख्न जान्नसक्यो भन्ने कुरा बताउने योजना बनाएको थियो । सान्टियागोले सोह्र वर्षको हुने बेलासम्म स्कूली शिक्षा लिएको थियो । उसका पिता उसलाई पुजारी बनाउन चाहन्थे । उनले खानपिन गर्ने सामान जुटाउनको लागि धेरै श्रम गरेका थिए । सान्टियागोले ल्याटिन, स्पेनिश र धर्मशास्त्रको पनि अध्ययन गरेको थियो । तर बालकालदेखि नै ऊ संसार हेर्न चाहन्थ्यो । र, योभन्दा पनि बढी ऊ अलौकिकतालाई बुझ्न र मानिसको पापको कारण बुझ्न चाहन्थ्यो । एक दिन दिउँसो उसले आफ्ना पितासँग पुजारी नबन्ने इच्छा व्यक्त गर्‍यो । उसले आफू यात्रा गर्न चाहेको कुरा बताइदियो । यसपछि सान्टियागोका पिताले उसलाई विभिन्न प्रकारका तर्क गरेर सम्झाउने प्रयास गर्छन् तर उसमा संसार घुम्ने सोच मडारिरहेको थियो । अब उसका पिताले उसलाई केही स्पेनिश सुनका सिक्का दिन्छन्, जसबाट उसले भेडाको एउटा समूह खरिद गर्न सकोस् । सान्टियागोको पिताको पनि संसार हेर्ने इच्छा थियो तर उनले यो विचार आफ्नो युवावस्थामा छोडिसकेका छन् । सान्टियागो स्मरणबाट बाहिर आउँछ । क्षितिज रातो भइसकेको छ । अचानक सूर्य उदाउँछ । गोठालो आफ्ता पितासँग भएको कुरालाई स्मरण गरेर खुशी हुन्छ । ऊ सोच्छ, अहिलेसम्म धेरै महल र स्त्रीहरूलाई देखिसकिएको छ । अब ऊसँग किताब छन् । ऊ अर्को भेडाको समूह पनि किन्न सक्छ । तर सबभन्दा बढी आवश्यक कुरा हरेक दिन ऊसँग आफ्नो सपनाको लागि जिउने कारण हुन्छ । ऊ कुनै दिन आन्दालुसियन मैदानसम्म पुगी भेडालाई बेचेर समुद्रमा जाने कुरा सोच्छ । यदि ऊ आफ्नो घरबाट नै नलिक्लिएको भए चर्चको भग्नावशेषलाई कसरी देख्न सक्थ्यो । उसलाई सम्पूर्ण संसार आश्चर्यले भरिएको जस्तो लाग्छ । अब सान्टियागो स्वयंलाई व्यापारीकी छोरीसँग भेट गर्नको लागि तयार गर्न चाहन्छ । ऊ आफ्नो दारी काटेर राम्रो देखिन चाहन्छ । ऊ अरु कुनै गोठालो आफूभन्दा पहिले पुगेर युवतीको हात मागोस् भन्ने चाहँदैन । ऊ उत्साहित थियो । उसको लागि यो एक सपना जस्तै थियो । यो सबै कुरा सोच्दै तीव्र रूपमा अगाडि बढिरहेको बेलामा सान्टियागोलाई तारिफा शहरकी सपनाको व्याख्या गर्ने एक वृद्ध महिलाको स्मरण हुन्छ । यसपछि उसले ती स्त्रीलाई भेट्छ । उनले सान्टियागोलाई चर्चभित्र लैजान्छिन् । उनले सान्टियागोको हातलाई आफ्नो हातमा लिइन् र चुपचाप प्रार्थना गर्न लागिन् । यो प्रार्थना एक जिप्सी (घुमन्ते) को जस्तो लागिरहेको थियो । सान्टियागोलाई जिप्सीहरूको बारेमा अनुभव थियो । मानिसहरूका अनुसार जिप्सी अन्य मानिसहरूलाई छल-प्रपञ्च गर्छन् । उनीहरूको सम्बन्ध शैतानसँग छ भन्ने मान्यता पनि राखिन्थ्यो । जिप्सीले बच्चाहरूको अपहरण गरी तिनीहरूलाई दास बनाउँछन् पनि भनिनन्थ्यो । सान्टियागोको बालककालको भय पुनः जागृत हुन्छ । महिलाले आफ्नो हात समाएपछि उसले उनीमा अलौकिक चित्र देख्यो, त्यसपछि केही पनि हुँदैन भनेर उसलाई सन्तुष्टि भयो । सान्टियागोका हात अचानक काम्न लाग्छन् । बुढी स्त्रीले यो कुरा बुझिन् र तुरुन्तै उसका हात छोडिदिइन् । युवकले भन्यो, म यहाँ हस्तरेखा देखाउन आएको होइन । अब मलाई पछुतो भइरहेको छ । केही बेरमा उसले स्त्रीलाई शुल्क तिरेर यहाँबाट निक्लिने सोच्यो । उसले बेकारमा नै सपनालाई महत्त्व दिइरहेको ठान्यो । बूढी स्त्री भन्छिन्, सपना अलौकिक शक्तिको भाषा हुन्छ र म त्यसको व्याख्या गर्न सक्छु । तर जेसुकै होस् म शुल्क भने लिन्छु । गोठालाले सपनाको बारेमा भन्ने नै कुरा सोच्यो । त्यसपछि उसले ती बूढीलाई आफूले सपनामा देखेको कुरा गर्छ । सपनामा ऊ आफ्ना भेडासँगै खेतमा हुन्छ । उसले एउटा बच्चा देख्छ । त्यो बच्चा भेडासँग खेल्न लाग्छ । भेडा प्रायः अनजान व्यक्तिसँग डराउँछन् तर बच्चा भने तिनीहरूसँग आरामपूर्वक खेलिरहेको थियो । बूढी स्त्री भन्छिन् – मलाई सपनाको बारेमा छिटो बताउ । मलाई खाना पकाउन पनि जानु छ । र, तिमीसँग पैसा पनि धेरै छैन जस्तो लाग्छ । सान्टियागो आफ्नो सपनाको कुरा अगाडि बढाउँछ । बच्चाले खेल्दै-खेल्दै मेरो हात पक्रिन्छ र मलाई मिश्रको पिरामिडमा पुर्‍याइदिन्छ । त्यसपछि बच्चाले मलाई त्यहाँ खजाना पाइन्छ भन्ने कुरा गर्छ । तर त्यो बच्चाले मलाई खजानाको कुरा बताउनै लाग्दा मेरो सपना भङ्ग हुन्छ । मैले खजाना कहाँ छ भन्ने कुरा थाहा पाउन सक्दिनँ । बूढी स्त्रीले उसको सम्पूर्ण कुरा सुन्छिन् र केही समय चुपचाप रहन्छिन् । त्यसपछि उसलाई भन्छिन्, म तिमीसँग अहिले केही पनि लिन्नँ तर खजाना प्राप्त भएपछि तिमीले मलाई त्यसको दसौं हिस्सा दिनुपर्छ । गोठालोले उनलाई खजानाको हिस्सा दिने कसम खान्छ । बूढी स्त्रीको लागि सपनाको व्याख्या कठिन थियो । त्यसकारण उनी खजानाको खोजको हिस्सा बन्न चाहन्छिन् । उनी बताउँछिन्, सपनामा एउटा सानो बच्चा छ, जसले गोठालालाई खजानाको मार्ग देखाइरहेको छ । अवश्य नै उसले खजाना पाउनेछ । बूढी स्त्री अगाडि भन्छिन्, गोठालोको सपना जीवनको त्यो साधारण चीज जस्तै हो, जुन धेरै असाधारण छ । त्यसलाई कुनै बुद्धिमान व्यक्तिले मात्र बुझ्न सक्छ । बूढीले सम्झाउँछिन्, सपनाको कठिनाई बुझ्नको लागि अझै उनले अरु विद्या सिक्नुपर्छ । गोठालाले बूढीलाई सोध्छ, म मिश्र कसरी जान सक्छु ? त्यसको उत्तरमा उनले केवल यति मात्र भन्छिन्, म केवल सपनाको व्याख्या गर्छु र म तिम्रो सपना वास्तविकतामा कसरी बदलिन्छ भन्ने कुरा जान्दिनँ । यसपछि युवकले भन्छ, यदि म कहिल्यै मिश्र पुगिनँ भने के हुन्छ ? त्यसपछि बूढी भन्छिन्, त्यसो हुँदा मलाई मेरो हिस्सा प्राप्त हुनेछैन । बूढी महिलाले युवकलाई भन्छिन्, तिमीले मलाई धेरै अल्मल्याइसक्यौं, त्यसैले अब जाउ । युवक निराशापूर्वक त्यहाँबाट जान्छ र सपनामा कहिल्यै विश्वास नगर्ने कुरा सोच्छ । यसपछि सान्टियागोलाई अर्को काम पनि गर्नु छ भन्ने स्मरण हुन्छ; एउटा मोटो किताब किन्नु छ, केही खानु पनि छ । त्यसपछि उसले प्लाजामा एउटा बेन्च भट्टाउँछ । उसका भेडा शहर बाहिर उसको कुनै साथीको स्टेबलमा थिए । युवकले शहरमा धेरै मानिसहरूलाई चिन्थ्यो । त्यसकारण उसको यात्रा सहज हुन्थ्यो । अब उसले किनेको किताबलाई पढ्न शुरु गर्छ । किताबको पहिलो पानामा नै एउटा अन्तिम संस्कारको समारोहको वर्णन छ र यसमा सामेल मानिसहरूको नामको उच्चारण धेरै जटिल थियो । ऊ सोच्छ, यदि मैले कुनै किताब लेखें भने एक समयमा एउटै व्यक्तिको नाम लेख्न सक्नेछु, ताकि पाठकले धेरै नाम स्मरण गर्ने चिन्ता गर्नु नपरोस् । अन्ततः पढिरहेको कुरामा आफ्नो ध्यान केन्द्रित गरेपछि उसलाई किताब धेरै मन पर्‍यो । अन्तिम संस्कार एक बरफिलो दिन थियो र उसले चीसो हुने भावनालाई पनि महसुस गर्‍यो । पढिरहेको बेलामा उसको तलतिर एउटा बूढो मानिस बसेको थियो । बूढो मान्छे उससँग कुराकानी गर्ने प्रयास गर्छ । त्यसले के गरिरहेको छ ? बूढो मानिसले प्लाजामा रहेका मानिसहरूतिर सङ्केत गर्दै सोध्यो । काम गरिरहेको छ, युवकले एउटा चीसो उत्तर दियो, यस्तो लागिरहेको थियो कि उसको ध्यान केवल किताबमा छ । वास्तवमा सान्टियागो व्यापारीकी छोरीको सामुन्ने आफ्ना भेडाको रौं कसरी काट्ने भन्ने कुरा सोचिरहेको थियो । ऊ उनले आफूलाई कठिन काम गर्न पनि सक्षम छ भन्ने देख्न चाहून् भन्ने ठान्थ्यो । उसले धेरै पटक त्यो दृश्यको कल्पना गरेको थियो; हरेक पटक युवती मोहित होऊन् र उसले भेडाको रौं पछाडिबाट अगाडितिर काट्नुपर्छ भनोस् । ऊ भेडासँग सम्बन्धित कथा सुनाउने कुरा पनि सोचिरहेको थियो । ती युवती पढ्न जान्दैनथिइन् र उनले कहिल्यै पनि वास्तविकता तथा कल्पनाको बीचमा अन्तरलाई बुझ्नसक्ने छैनन् । यही बीचमा त्यो बूढो कुराकानी गर्ने आफ्नो प्रयासमा लागिरह्यो । उसले भन्यो, म थाकेको छु र तिर्खाएको पनि छु, के म तिम्रो सर्वतबाट एक घुट्की लिन सक्छु ? युवकले आफ्नो बोतल यसकारण बूढातिर बढायो कि उसले आफूलाई एक्लै छोडिदियोस् । तर बूढो कुरा गर्न चाहन्थ्यो र उसले युवकलाई तिमीले कुन किताब पढिरहेका छौं भनेर सोध्यो । युवक अभद्र व्यवहार गर्न र अर्को बेन्चमा जानको लागि बाध्य भयो । तर उसले आफ्ना पिताबाट सबैको सम्मान गर्नुपर्छ भन्ने कुरा सिकेको थियो । त्यसपछि उसले किताबलाई त्यो व्यक्तितिर बढाइदियो । यो काम उसले दुई कारणले गरेको थियो । पहिलो, त्यो किताबको शीर्षक कसरी उच्चारण गर्ने भन्ने कुरा ऊ आफैलाई थाहा थिएन र दोस्रो, यदि बूढो मान्छे पढ्न जान्दैनथ्यो भने लज्जित हुनेछ; त्यसपछि स्वतः नै आफ्नो बेन्च बदल्नेछ । पुस्तकका सम्पूर्ण पेज हेर्दै त्यसलाई कुनै विचित्र चीज जस्तै ठानेर बूढो मान्छेले भन्यो, यो त धेरै महत्त्वपूर्ण पुस्तक हो तर धेरै दुःख दिनेखालको छ । युवक छक्क पर्छ । बूढो पढ्न जान्दथ्यो र उसले पहिले पनि त्यो किताब पढिसकेको थियो । र, यदि बूढो मानिसले भनेजस्तो किताबले दुःख दिइरहेको थियो भने युवकसँग अझै पनि यसलाई बेच्ने समय थियो । यो किताबमा संसारका लगभग सबै अन्य किताबले भन्ने कुरा उल्लेख छ । बूढो मानिसले भन्न जारी राख्यो । यसले मानिसहरूको आफ्नो व्यक्तिगत महापुरुषलाई छनौट गर्ने अससमर्थताको वर्णन गर्छ र यो संसारको सबभन्दा ठूलो झुटलाई जोकोहीले मान्दछ भन्दै समाप्त हुन्छ । संसारको सबभन्दा ठूलो झुट के हो ? युवकले पूर्ण रूपमा अनजान बन्दै सोध्यो । यसको अर्थ के हो भने हामी हाम्रो जीवनमा एक निश्चित बिन्दुमा के भइरहेको छ भन्ने कुराको नियन्त्रण गुमाउँदछौं । हाम्रो जीवन भाग्यद्वारा नियन्त्रित हुन्छ भन्ने कुरा संसारको सबभन्दा ठूलो झुट हो । बूढाले भन्यो, मलाई कहिल्यै यस्तो भएको छैन । यसपछि विस्तारै सान्टियागोलाई बूढाका कुरा मन पर्न लाग्यो । युवकले भन्यो, मेरा पिता मलाई पुजारी बनोस् भन्ने चाहन्थे तर मैले गोठालो बन्ने निर्णय गरेँ । धेरै राम्रो, बूढाले उत्तर दियो । किनकि तिमी वास्तवमा यात्रा गर्न मन पराउँछौं । म के सोचिरहेको छु भन्ने उसलाई थाहा थियो । युवकले मनमनै भन्यो । बूढो मानिस यही बीचमा किताबका पाना पल्टाइरहेको थियो । उसले त्यो पुस्तक फिर्ता गर्न चाहन्छ जस्तो लाग्दैनथ्यो । युवकले देख्यो, त्यो बूढाका कपडा धेरै विचित्रका थिए । ती अरबियनहरूको जस्ता देखिन्थे । अफ्रिका तारिफाबाट केही घण्टाको दूरीमा थियो । अरब प्रायः त्यो शहरमा देखिन्थे । केही किनबेच गर्थे र दिनमा धेरै पटक आफ्नो प्रार्थना गर्थे । तपाईं कहाँबाट आउनुभएको हो ? युवकले सोध्यो । कुनै ठाउँबाट, उसले उत्तर दियो । युवकले भन्यो, म भेडा गोठालो हुँ र म कयौं ठाउँमा गएको छु तर म केवल एकै ठाउँबाट आएको हुँ, एउटा शहरबाट, एउटा प्राचीन महल निकटबाट । त्यहीँ मेरो जन्म भएको हो । ठीक छ, हामी सलीममा पैदा भएका थियौं भन्न सक्छौं । युवकलाई सलीम कहाँ छ भन्ने कुरा थाहा थिएन । तर उसले आफू अज्ञानी देखिने डरले यसबारेमा सोधेन । युवकले एउटा चोकमा मानिसहरू आउँदै-जाँदै गरेको देख्यो र सबै मानिस धेरै व्यस्त देखिन्थे । त्यसपछि उसले सोध्यो, सलीम कस्तो छ ? उसले जसोतसो यो कुरा जान्ने इच्छा राख्यो । तर उसलाई सलीम कहाँ छ भन्ने कुरा थाहा हुनसकेन, किनकि सलीम अन्दालुसिया वरिपरि थिएन । यदि यस्तो हुन्थ्यो भने यो शहरको बारेमा गोठालालाई अवश्य जानकारी हुन्थ्यो । सलीममा तपाईं के गर्नुहुन्छ ? उसले जोड दिएर भन्यो । म सलीममा के गर्छु ! यसो भनेर बूढो हाँस्यो । ठीक छ, म सलीमको राजा हुँ । मानिस अचम्मका कुरा गर्छन्, युवकले सोच्यो । कहिलेकाहीँ भेडासँगै रहनु धेरै राम्रो हुन्छ, किनकि तिनीहरूले केही भन्दैनन् । योभन्दा पनि राम्रो कुरा त आफ्ना किताबहरूसँगै एक्लै रहनु ठीक हुन्छ । तिनीहरूले आफ्नो अविश्वसनीय कथा सुन्न चाहेको बेला मात्र बताउँछन् । तर मान्छेसँग कुरा गर्दा उनीहरू यस्ता कुरा गर्छन्, जुन यति विचित्र हुन्छ कि कुराकानीलाई कसरी जारी राख्ने भन्ने कुरासम्म बुझ्न सकिंदैन । मेरो नाम मेल्कीजेदेक हो, त्यो बूढाले भन्यो । तपाईंसँग कति भेडा छन् ? धेरै छन् ? युवकले भन्यो । ऊ बूढो व्यक्तिको बारेमा अझ बढी जान्न चाहन्थ्यो । यदि तपाईंसँग धेरै भेडा छन् भने म तपाईंलाई मद्दत गर्न सक्दिनँ । युवक रिसाउन लागेको थियो । ऊ मद्दत मागिरहेको थिएन । बूढो मानिसले ऊसँग सर्वत मागेको थियो र कुराकानी शुरु गरेको थियो । मलाई मेरो किताब दिनुहोस्, युवकले भन्यो । म यहाँबाट जानु छ र आफ्ना भेडा जम्मा गर्नु छ । बूढाले भन्यो, मलाई तिम्रा भेडाको दसौं हिस्सा देऊ । त्यसपछि म तिमीलाई गुप्त खजाना कसरी खोज्ने भन्ने कुरा बताउँछु ।अब युवकलाई अचानक आफ्नो सपनाको बारेमा स्मरण हुन्छ र उसलाई सबै कुरा स्पष्ट हुन्छ । बूढी स्त्रीले ऊसँग कुनै पैसा लिएकी थिइनन् तर बूढो मानिसलाई शायद तिनैले भनेकी हुन सक्छिन् । ऊ कुनै यस्तो चीजको जानकारीको बदलामा धेरै पैसा प्राप्त गर्ने मार्ग खोजिरहेको थियो । बूढो शायद जिप्सी पनि हुनसक्थ्यो । गोठालाले आफ्नो मनमा यस्तो कुरा सोच्न लाग्यो । तर युवकले केही भन्नुभन्दा पहिले नै बूढो मानिस झुक्यो र आफ्नो छडीले वालुवामा केही लेख्न लाग्यो । उसको गलामा झुन्डिएको केही चीज चम्किरहेको थियो । युवकलाई त्यो चमकबाट कतै अन्धो त हुँइदैन भन्ने लाग्यो । त्यो व्यक्तिले आफ्नो गलामा झुण्डिएको चीजलाई कपडाले ढाक्यो । केही देख्न लागेपछि युवकले वालुवामा त्यो व्यक्तिद्वारा लेखिएका शब्द पढ्न शुरु गर्‍यो । शहरको चोकको वालुवामा त्यो युवक उसका मातापिताको नाम पढिरहेको थियो । त्यहाँ उसले आफूले शिक्षा प्राप्त गरेको स्कूलको नाम पनि पढिरहेको थियो । बूढो मानिसले उसको बारेमा सबै कुरा वालुवामा लेखिदिएको थियो । उसले त्यहाँ व्यापारीको छोरीको नाम पनि पढ्यो, जसको बारेमा त्यो बूढो मानिसलाई केही पनि थाहा थिएन । त्यसपछि उसले त्यहाँ कहिल्यै कसैलाई नबताएको कुरा पनि पढ्यो ।बूढो मानिस भन्छ, म सलीमको राजा हुँ । एउटा राजाले एउटा गोठालोसँग किन कुरा गरिरहेको होला ? युवकले सोध्यो । किनकि युवक धेरै कारणले लज्जित र आश्चर्यचकित थियो । तर मानौं, सबभन्दा महत्त्वपूर्ण कुरा व्यक्तिगत कथाको खोजमा सफलता हासिल भयो । कुनै व्यक्तिको व्यक्तिगत कथा के हुन्छ भन्ने कुरा युवकलाई थाहा थिएन । बूढो व्यक्तिले भन्छ, यो यस्तो कुरा हो, जुन तिमी सधैं पूरा गर्न चाहन्छौं । जोकोहीले युवावस्थामा वास्तवमा आफ्नो जीवनबाट के चाहने भन्ने थाहा पाउँछ । त्यसबेला उसको जीवनमा सबै कुरा स्पष्ट हुन्छ र सबै कुरा सम्भव हुनसक्छ । ऊ सपना देख्नबाट डराउँदैन र हरेक चीजलाई प्राप्त गर्न चाहन्छ । उसले आफ्नो जीवनमा हरेक चीज प्राप्त भइरहेको हेर्न चाहन्छ । तर उमेर बढ्दै जाँदा एउटा शक्तिले उसलाई सम्झाउन लाग्छ कि उसको लागि अब केही पनि सम्भव छैन र उसले आफ्नो उद्देश्य के हो भन्ने कुरा भुल्छ । बूढो मानिसका कुनै पनि कुराको अर्थ युवकले बुझ्न सकेन । तर ऊ रहस्यमय शक्ति के थियो भन्ने कुरा जान्न चाहन्थ्यो । उसले यसको बारेमा बताएपछि व्यापारीकी छोरी प्रभावित हुनेछिन् । बूढो अगडि भन्दै जान्छ – यो एक यस्तो शक्ति हो, जुन नकारात्मक लागे पनि यसले वास्तवकि लक्ष्य के हो र यसलाई कसरी महसुस गरिन्छ भन्ने देखाउँछ । यसले अन्तर्हृदय र इच्छालाई तयार गर्छ, किनकि यो ग्रहमा एक महान सत्य हुन्छ । हामी जोसुकै भए पनि र जे गरे पनि वास्तवमा केही चाहन्छौं । यस्तो किन हुन्छ भने ब्रम्हाण्डको आत्मामा हामी उत्पन्न भएका हौं । यो पृथ्वीमा हाम्रो अभियान छ, यहाँसम्म कि हामीले सबै काम गर्न चाहन्छौ भने यो एक यात्रा समान हुन्छ । यदि हामीले खजानाको खोज गर्न चाहन्छौं भने त्यो पनि प्राप्त हुनसक्छ । विश्वको आत्मा मानिसहरूको खुशीबाट नै पोषित हुन्छ । कुनै पनि व्यक्तिगत लक्ष्यलाई महसुस गर्नु नै व्यक्तिको एकमात्र वास्तविक दायित्व हो । सबै चीज एकै हुन् र हामीले चाहेको खण्डमा सम्पूर्ण ब्रम्हाण्डले ती चीज प्राप्त गराउनको लागि मद्दत गर्छ । यसलाई प्राप्त गर्नमा हामीलाई सहायता गर्छ । प्लाजा र शहरवासीहरूलाई हेरेर ती दुवै व्यक्ति केही समयको लागि चुपचाप हुन्छन् । बूढो मान्छे पहिले बोल्छ, तिमी भेडाको समूह किन पाल्छौं ? युवकले भन्छ, मलाई यात्रा गर्न मन पर्छ, त्यसकारण पाल्छु । बूढाले प्लाजाको एउटा कुनामा आफ्नो दोकानको झ्यालमा उभिएको एउटा बेकरतिर सङ्केत गर्दछ । बाल्यकालमा ऊ पनि यात्रा गर्न चाहन्थ्यो तर उसले पहिले आफ्नो बेकरी किन्ने केही पैसा अलग्गै राख्ने निर्णय गर्‍यो; बूढो भएपछि उसले अफ्रिकामा एक महिना बिताउनेछ । उसले कहिल्यै मानिसले आफ्नो जीवनमा सपनाको कुनै काम गर्नमा सक्षम हुन्छ भन्ने महसुस गरेन । उसले गोठालो बन्ने निर्णय गर्नुपर्दथ्यो, युवकले भन्यो । ठिक हो, बूढाले भन्यो । तर गोठालाको तुलनामा बेकर बढी महत्त्वपूर्ण मान्छे हुन्छन् । बेकरहरूसँग घर हुन्छ, जबकि गोठाला बाहिर खुल्ला ठाउँमा सुत्छन् । व्यापारीको छोरीको बारेमा सोच्दै गर्दा युवकको हृदयमा एक पीडा उत्पन्न भयो । उनको शहरमा पनि निश्चित रूपमा कुनै बेकर त रहेकै हुनुपर्छ । युवकले बूढो मान्छेलाई बीचमा रोक्दै भन्यो, तपाईं मलाई यी सबै कुरा किन भनिरहनुभएको छ ? बूढाले भन्छ, तिमी आफ्नो व्यक्तिगत कहानीलाई बुझ्ने प्रयास गरिरहेका छौं, त्यसकारण मैले यो सबै कुरा गरिरहेको छु । तिमी ठीक त्यही मार्गमा छौं, जहाँ तिम्रो कहानीको लक्ष्य प्राप्त हुनेछ र त्यो त्यतिखेर हुनेछ, जब तिमी सधैं आफ्नो लक्ष्यमा दृष्टि दिनेछौं । सधैं यसरी होइन तर म सधैं एक वा अर्को रूपमा प्रकट हुन्छु । कहिले म एक समाधान वा एक असल विचारको रूपमा प्रकट हुन्छु र कहिले म एक महत्त्वपूर्ण क्षणमा । म चीजहरूलाई घटित हुनमा सहज बनाइदिन्छु । म अरू काम पनि गर्छु तर धेरैजसो मानिसलाई मैले उनीहरूको साथमा के गरेको छु भन्ने कुरा थाहा नै हुँदैन । बूढाले एक पटक पन्नाको खानीमा काम गर्ने एउटा कामदारको सामु कसरी पन्ना आयो भन्ने कुरा बतायो । वास्तवमा खानीमा काम गर्ने व्यक्तिले विगत पाँच वर्षदेखि एउटा मूल्यवान पन्ना खोजिरहेको थियो । तर पाँच वर्षमा पनि उसले त्यो पन्ना प्राप्त गर्न सकेन । हताश र क्रोधित भएर ऊ अझै उत्खनन् गरिरहेको थियो । त्यसपछि अचानक एक पत्थर बनेर उसको खुट्टामुनि आउँछ । खानीमा काम गर्ने व्यक्तिले त्यो पत्थरलाई उठाउँछ र जोडपूर्वक अर्को ठूलो पत्थरमा फ्याँक्छ । त्यसपछि ठूलो पत्थर टुक्रा-टुक्रा हुन्छ । अब त्यो ठूलो पत्थरबाट उसले खोजी गरिरहेको पन्ना उसको सामु प्रकट हुन्छ । बूढाले यो कहानी सुनाइसकेपछि फेरि अगाडि भन्छ, मानिस आफ्नो जीवनको शुरुवातमा नै आफू हुनुको कारण के हो भन्ने कुरा सिक्छन् । बूढाले केही तिक्ततापूर्वक भन्यो, शायद त्यही कारणले गर्दा उनीहरू यति छिट्टै छोडिदिन्छन् पनि । युवकले बूढो मानिसलाई गुप्त खजानाको बारेमा स्मरण गरायो । अब बूढाले भन्छ, खजाना बगिरहेको पानीको शक्तिबाट प्रकट हुन्छ र यसलाई त्यसैको धारामा गाडिन्छ । यदि तिमी आफ्नो खजानाको बारेमा जान्न चाहन्छौं भने तिम्रा भेडाको दसौं हिस्सा मलाई दिनुपर्छ । युवकले भन्छ, मेरो खजानाको दसौं हिस्सा दिँदा हुँदैन ? त्यसपछि बूढो निराश हुन्छ । यदि तिमी आफूसँग अहिलेसम्म केही नभएको कुरामा बाचा गरी काम शुरु गर्दछौं भने तिमी यसलाई प्राप्त गर्ने दिशामा काम गर्ने इच्छालाई गुमाउनेछौं । युवकले बूढालाई बतायो, मैले पहिले नै एक बूढी स्त्रीलाई आफ्नो खजानाको दसौं हिस्सा दिने बाचा गरेको छु । जिप्सीहरूलाई यस्तो काम गर्नमा पोख्त मानिन्छ । बूढो मानिसले भन्यो, तिमीले जीवनमा हरेक चीजको मूल्य हुन्छ भन्ने कुरा सिकेका छौं, कुनै पनि मामिलामा यो असल कुरा हो । प्रकाशका योद्धा पनि यही कुरा सिकाउने प्रयास गर्छन् । यसपछि बूढाले युवकलाई उसको किताब फिर्ता दियो र भन्यो, भोलि यही समयमा आफ्ना भेडाको दसौं हिस्सा मेरोमा ल्याउनु, त्यसपछि म तिमीलाई गुप्त खजाना कसरी खोज्ने भन्ने कुरा बताउँछु । त्यसपछि उसले युवकलाई बिदाई गर्‍यो र ऊ प्लाजाको कुनामा अलप भयो । सान्टियागोले पुनः आफ्नो किताब पढ्न लाग्यो तर अब ऊ आफ्नो ध्यान केन्द्रित गर्न सक्दैनथ्यो । ऊ तनावग्रस्त र दुःखित थियो । किनकि उसलाई बूढाले सही भनिरहेको थियो भन्ने थाहा थियो । युवक बेकरीमा गयो र उसले रोटीको एउटा टुक्रा किन्यो । ऊ सोच्छ, के बेकरलाई बूढो मान्छले आफ्नो बारेमा भनेको कुरा बताउनु हुन्छ ? कहिलेकाहीं चीजहरूलाई जस्तो छ, त्यस्तै छोडिदिनु राम्रो हुन्छ । उसले यो कुरा मनमनै सोच्यो र केही नभन्ने निर्णय गर्‍यो । उसले केही भनेको भए पनि यसबाट बेकरको दिन खराब हुन्थ्यो । युवक निश्चित रूपमा बेकरको लागि कुनै प्रकारको चिन्ता उत्पन्न गर्न चाहँदैनथ्यो । ऊ शहरमा यताउता भड्किन लाग्यो । त्यसपछि ऊ एउटा भवन निकट जान्छ, जसमा झ्याल थियो । त्यहाँबाट मानिस अफ्रिकाको लागि टिकट किन्थे । उसलाई मिश्र अफ्रिकामा छ भन्ने कुरा थाहा थियो । यही बेला कसैले सोध्यो, के म तपाईंलाई मद्दत गर्न सक्छु ? त्यो झ्याल पछाडि रहेको एउटा मानिस थियो । शायद भोलि हुनसक्छ, युवकले भन्यो । मलाई टाढा जानु छ र एउटा भेडा बेच्दा त्यहाँसम्म जानको लागि पैसा प्राप्त हुन्छ । तर ऊ भेडा बेच्ने विचारबाट नै डरायो । टिकट विक्रेताले आफ्नो सहयोगीसँग भन्यो, युवकसँग त टिकट किन्ने पैसा नै छैन । युवकलाई आफ्ना भेडाको बथानको स्मरण हुन्छ । त्यसपछि उसले आफू गोठालाकै रूपमा जानुपर्छ भन्ने निर्णय गर्छ । दुई वर्षमा उसले गोठाला बन्ने बारेमा सबै कुरा सिकेको थियो । भेडाको ऊन कसरी निकाल्ने ? गर्भवती भेडाहरूको हेरविचार कसरी गर्ने ? र, भेडाहरूलाई ब्वाँसाहरूबाट कसरी बचाउने ? जस्ता सबै कुरा उसलाई थाहा थियो । ऊ अन्दालुसियाका सबै क्षेत्र र गोठालाहरूलाई चिन्दथ्यो । उसलाई हरेक भेडाको उचित मूल्य कति हो भन्ने बारेमा पनि थाहा थियो । अब उसले सबभन्दा लामो मार्गबाट आफ्नो साथीको स्टेबलमा फर्किने निर्णय गर्‍यो । सान्टियागो शहरको महलबाट गुज्रिदै गर्दा रोकियो र फर्किएर पत्थरको ढलानमा चढ्यो, जुन पर्खालको माथिसम्म जान्थ्यो । त्यहाँबाट ऊ अफ्रिकालाई देख्न सक्थ्यो । आफू बसेको ठाउँबाट उसले लगभग सम्पूर्ण शहरलाई देख्न सक्थ्यो । त्यहाँ बूढो मानिससँग कुरा भएको चोक पनि थियो । उसले आफैलाई गाली गर्दै भन्छ, मैले किन त्यो बूढासँग भेट गरेँ ? म त सपनाको बारेमा बुझ्नको लागि एक स्त्रीलाई खोज्न आएको थिएँ । ती स्त्री र बूढो दुवैले उसलाई गोठालो भएकोमा प्रशंसा गरेनन् । उनीहरू एकान्त व्यक्ति थिए, जो चीजहरूमाथि विश्वास नै गर्दैनन् र गोठाला आफ्ना भेडाहरूसँग जोडिन्छन् भन्ने कुरा बुझ्दैनथे । सान्टियागो आफ्ना भेडाको बथानका सदस्यहरूको बारेमा सबै कुरा जान्दथ्यो । कुन भेडा लङ्गडो छ, कुन भेडाले दुई महिनापछि बच्चा जन्माउनेछ र कुन सबभन्दा अल्छी छ भन्ने जस्ता सबै कुरा उसलाई थाहा थियो । अब भेडाहरूलाई छोड्ने निर्णय गरेको खण्डमा ऊ दुःखित हुनेछ । युवकले सोच्यो, अब मैले भेडाको बथान वा खजानामध्ये कुनै एउटालाई छनौट गर्नुपर्छ । बथानमा ऊ अभ्यस्त भइसकेको थियो र त्यसलाई ऊ प्राप्त गर्न चाहन्थ्यो । व्यापारीकी छोरी पनि थिइन् तर उनी भेडाको बथान जति महत्त्वपूर्ण थिइनन् । युवकलाई ती युवतीले आफूलाई याद पनि गर्दिनन् होला भन्ने लाग्छ । यसबाट उनलाई केही पनि फरक पर्दैन भन्ने कुरा उसले स्पष्ट रूपमा बुझेको थियो । लेवान्तर हावा धेरै तीव्र रूपमा चलिरहेको थियो र ऊ यसको शक्ति आफ्नो अनुहारमा महसुस गर्न सक्थ्यो । त्यो हावा स्पेनमाथि आक्रमण गर्ने मूरसँग आएको थियो तर त्यसले मरुभूमि तथा बुर्का लगाएका महिलाहरूको गन्ध पनि ल्याएको थियो । यसले आफूसँगै मानिसहरूको पसिना र सपना पनि लिएर आएको थियो, जो खजानाको खोजमा पिरामिड जानको लागि निक्लिएको हुनुपर्छ । युवकलाई हावाको स्वतन्त्रताबाट जलन महसुस हुन्छ र उसले आफूलाई पनि त्यही स्वतन्त्रता प्राप्त हुनसक्छ भन्ने सोच्छ । उसलाई रोक्नको लागि स्वयंको अतिरिक्त अरु कोही पनि थिएन । भेडा, व्यापारीकी छोरी र आन्दालुसियाका खेत उसको व्यक्तिगत कथाको मार्गमा केवल केही कदम मात्र थिए । भोलिपल्ट दिउँसो युवकको भेट पुनः त्यही बूढासँग भयो । उसले आफूसँगै ६ वटा भेडा ल्यायो । युवकले भन्यो, म दुःखी छु । मेरो साथीले बाँकी सबै भेडा किन्यो । उसले भन्यो, म सधैं एक गोठालो बन्ने सपना देख्थेँ । यो एक राम्रो लक्षण थियो, सँधै यस्तो हुन्छ, बूढाले भन्यो । यसलाई अनुकूलताको सिद्धान्त भनिन्छ । तिमीले पहिलो पटक तास खेलेको बेलामा तिम्रो जित लगभग निश्चित हुन्छ । यस्तो किन हुन्छ भने तिमीले आफ्नो व्यक्तिगत कहानीको बारेमा महसुस गर्नुपर्छ भन्ने एउटा शक्तिले चाहन्छ । यो सफलताको स्वादसँगै तिम्रो भोक वृद्धि हुन्छ । अब बूढो मान्छेले भेडाहरूको निरीक्षण गर्नलाग्यो । उसले एउटा भेडो लङ्गडो भएको देख्यो । युवकले भन्यो, यो भेडो समूहमा सबभन्दा बुद्धिमान थियो र यसले सबभन्दा बढी ऊनको उत्पादन गर्दथ्यो । यसपछि उसले खजाना कहाँ छ भनेर सोध्यो । बूढो मान्छेले भन्यो, त्यो मिश्रको पिरामिड नजिक छ । सान्टियागोलाई उसको हात हेर्ने स्त्रीले पनि यही कुरा गरेकी थिइन् । त्यसकारण अब उसलाई यो कुरामा पूर्ण विश्वास हुन्छ । यसपछि सान्टियागोले अफ्रिका जाने टिकट किन्छ र जहाजमा चढ्नको लागि तयार हुन्छ । त्यसपछि बूढाले भन्छ, आफ्नो यात्रामा निरन्तर अगाडि बढ्नुपर्छ । तिम्रो साथमा जुनसुकै घटना घटे पनि तिनीहरू सबैलाई विश्वासपूर्वक मान्दै अगाडि बढ्नुपर्छ । त्यही बेला ती दुवैको बीचमा एउटा पुतली आउँछ र सान्टियागो यसलाई शुभ लक्षण मान्छ । जाँदै गर्दा बूढाले युवकलाई दुईवटा पत्थर (कालो र सेतो) दिन्छ र भन्छ – कालो पत्थरले स्वीकृति दर्शाउँछ र सेतोले अस्वीकृति । तिमीले कुनै कुरा बुझ्न सकेनौं भने यी पत्थरले प्रकृतिको सङ्केत बुझाउनमा तिमीलाई सहायता गर्नेछन् । तर सम्भव भएसम्म तिमीले आफ्नो निर्णय स्वयं लिनुपर्छ । सान्टियागोले ती पत्थरलाई आफ्नो गोजीमा राख्छ । त्यसपछि बूढाले भन्छ, सपनालाई कहिल्यै नछोड र त्यतिखेरसम्म सपनाको मार्गमा अगाडि बढ्, जबसम्म कुनै परिणाम निक्लिंदैन । त्यसपछि बूढो आफ्ना भेडालाई लिएर त्यहाँबाट जान्छ । बाटाभरि सान्टियागो अफ्रिका कस्तो होला भन्ने सोच्छ । सोच्दासोच्दै ऊ अफ्रिकाको एउटा शहर टेन्जियर प्रवेश गर्छ । ऊ त्यहाँ पुगेपछि बूढाले भनेका असल घटनाहरूको बारेमा सोच्न लाग्छ । त्यसपछि अचानक उसले पछाडिबाट एउटा आवाज सुन्छ । एउटा व्यक्तिले उसलाई तिमी को हौं भनेर सोध्छ । सान्टियागोले उसलाई आफ्नो बारेमा सबै कुरा बताइदिन्छ । उसले आफ्नो यात्राको कारण पनि बताइदिन्छ । त्यसपछि त्यो व्यक्तिले भन्छ, यदि तिमी चाहन्छौं भने म तिम्रो पथप्रदर्शक बन्न सक्छु । सान्टियागोलाई यो पनि बूढाले बताएको असल घटनामध्ये एक होला भन्ने लाग्छ । यसपछि ऊ सोच्छ, आफ्नो मद्दतको लागि ब्रम्हाण्डको आत्माले कसैलाई पठाएको हुनुपर्छ । सान्टियागोले भन्छ, के तिमीलाई खजाना भएको ठाउँसम्म पुग्ने कुनै मार्ग थाहा छ ? त्यो व्यक्तिले भन्छ, यसको लागि हामीले सम्पूर्ण मरुभूमिलाई पार गर्नुपर्छ र त्यसको लागि पैसाको आवश्यकता हुन्छ । त्यसपछि सान्टियागोले आफूसँग भएको पैसा त्यो व्यक्तिलाई देखाइदिन्छ । त्यसपछि ऊ चोरहरूद्वारा लुटिन्छ । किनकि वास्तवमा त्यो व्यक्ति चोर नै हुन्छ । सान्टियागो अत्यन्तै दुःखित हुन्छ । ऊ सोच्छ, यो भन्दा राम्रो त भेडासँग हुँदा नै थियो, खजाना अथवा असल घटना जस्ता सबै झुटा कुरा हुन् । तर त्यतिखेरै उसलाई बूढाले भनेको एउटा कुरा स्मरण हुन्छ । हामीले वास्तवमै कुनै चीजलाई पाउन चाहन्छौं भने सम्पूर्ण सृष्टिले त्यसको प्राप्तिमा मद्दत गर्दछ र त्यही नै परीक्षाको घडी हुन्छ । यही बेला हामीले आफ्नो साहसलाई बढाउनुपर्छ । यसपछि सान्टियागोलाई बूढाले दिएको पत्थरको स्मरण हुन्छ । उसले पत्थरको उपयोग गरेर अगाडि के हुनेछ भन्ने कुरा जान्न चाहन्छ । त्यसपछि सान्टियागोले एउटा पत्थर झोलाबाट निकाल्छ, जुन कालो वा स्वीकृतियुक्त हुन्छ । तर त्यो पत्थर हेर्नुभन्दा पहिले नै दुवै पत्थर उसको हातबाट खस्छन् र उसले कुनै उत्तर प्राप्त गर्न सक्दैन । केही समयपछि उसले पत्थरलाई फेरि राख्छ र सोच्छ; बूढाले सकेसम्म आफ्नो निर्णय स्वयं लिनु भनेको थियो । त्यसपछि ऊ स्वयं आफ्नो निर्णय लिन अगाडि बढ्छ । यस पटक ऊ पहिलेभन्दा बढी विश्वासले भरिएको थियो । ऊ कयौं मानिसहरूलाई मद्दत गर्दै अगाडि बढ्छ । उसलाई धेरै पटक कुनै विचित्र शक्तिले आफूलाई मद्दत गरिरहेको महसुस हुन्थ्यो । उसलाई आफूले विस्तारै धेरै कुरा सिकिरहेको पनि महसुस हुन्छ । हिड्दाहिड्दै ऊ एउटा बजारमा पुग्छ । एउटा क्रिस्टल व्यापारीलाई सरसफाई गर्ने एउटा मान्छेको आवश्यकता थियो । सान्टियागोले यो कुरा थाहा पाउँछ र व्यापारीलाई क्रिस्टलको सरसफाई गरिदिने कुरा गर्छ । उसले यसको लागि केही खानेकुरा दिनुपर्ने माग गर्छ । तर व्यापारीले केही उत्तर दिंदैन । सान्टियागोलाई शायद विचित्र शक्तिले निर्णय स्वयं लेउ भनेको हुनसक्छ भन्ने लाग्छ । त्यसपछि सान्टियागो व्यापारीलाई केही नभनीकन नै उसको दोकानको क्रिस्टल सफा गर्न लाग्छ । केही समयपछि व्यापारीले सान्टियागोलाई खानको लागि बाहिर लैजान्छ र उसलाई भन्छ, के तिमी मेरो दोकानमा काम गर्छौं ? त्यसपछि सान्टियागोले भन्छ, अवश्य ! तर म आज रातिसम्म मात्र काम गर्न सक्छु । म तपाईंको दोकानका सबै क्रिस्टल सफा गरिदिन्छु । यसको बदलामा तपाईंले मलाई इजिप्ट पुग्नको लागि पैसा दिनुपर्छ । यो कुरा सुनेपछि व्यापारी हाँस्छ र भन्छ, यदि वर्षभरी तिमीले मेरो दोकानमा काम गर्यौं भने पनि इजिप्टसम्म पुग्ने पैसा कमाउन सक्दैनौं । यसपछि सान्टियागो दोकानमा काम गरेर आफ्नो गाउँ जान र भेडा किन्न लायक पैसा कमाउने कुरा सोच्छ । यसरी ऊ त्यो व्यापारीको दोकानमा काम गर्न शुरु गर्छ । व्यापारीको दोकान धेरै उच्च पहाडमा थियो । त्यसकारण मानिसहरू उसको दोकानसम्म आउँदा धेरै थाक्थे । पहाडमा खानपिनको लागि पनि केही थिएन । त्यसपछि सान्टियागोले क्रिस्टल व्यापारीलाई चिया पशल गर्ने विचार प्रदान गर्छ; यसबाट बढी पैसा पनि कमाइ हुन्छ र क्रिस्टल पनि बढी विक्री हुन्छ । व्यापारीलाई यो विचार मन पर्छ र ऊ एक विशेष प्रकारको चिया पशल शुरु गर्छ । यसपछि धेरै मानिस त्यो चिया पिउन माथिसम्म आउन शुरु गर्छन् र व्यापारीको विक्रीमा धेरै वृद्धि हुन्छ । एक वर्षभित्र नै तिनीहरू दुवै धनी हुन्छन् । सान्टियागोले अब भेडा किन्ने पैसा जम्मा गर्छ र गाउँ फर्किने निर्णय गर्छ । तर यही बेला सान्टियागोले बूढो राजाको एउटा कुरा स्मरण गर्छ; आफ्नो सपनलाई कहिल्यै पनि अधुरो छोड्नु हुँदैन । यसपछि ऊ इजिप्ट जाने क्याराभानमा सामेल हुन्छ । त्यो क्याराभानमा सान्टियागोको एउटा अंग्रेजसँग भेट हुन्छ, जो एउटा प्रसिद्ध अलकेमिस्ट वा धातु बनाउने व्याक्तिको खोजी गर्न गइरहेको थियो । उसले कुनै पनि धातुलाई पगालेर सुन बनाउँछ भन्ने सुनिएको थियो । मरुभूमिमा यात्रा गरिरहेको बेलामा अंग्रेजले सान्टियागोलाई धेरै रहस्यको बारेमा बताउँछ । हिंड्दाहिड्दै केही समयपछि त्यो अंग्रेजले सान्टियागोको किताब पढ्छ र ती दुई पत्थरलाई पनि देख्छ, जसलाई सान्टियागो जादूगरी पत्थर ठानिरहेको थियो । सान्टियागोलाई यो कुरा राम्रो लाग्दैन र उसले आफ्ना किताब र पत्थर फिर्ता लिन्छ । अंग्रेजसले सान्टियागोलाई भन्छ, यी पत्थर मलाई दिन्छौं ? यी जादूगरी पत्थर हुन्; यी बेच्ने चीज होइनन्; सान्टियागोले भन्यो । अब अग्रेजले भन्छ, तिमीलाई यी पत्थर जादूगरी हुन् भनेर कसले भन्यो ? यो संसारमा यस्ता त करोडौं पत्थर छन् । त्यसपछि सान्टियागोले बूढाद्वारा भनिएको सबै कुरा अंग्रेजलाई सुनाउँछ । त्यहीबेला अंग्रेज पनि त्यही राम्रा र नराम्रा घटनाहरूको बारेमा कुरा गर्न लाग्छ, जसको बारेमा बूढाले सान्टियागोलाई बताएको थियो । सान्टियागो चकित भएर सोध्छ, तपाईंलाई राम्रा र नराम्रा घटनाहरूको बारेमा कसरी थाहा भयो ? अंग्रेजले भन्छ, यसमा थाहा हुने कुरा नै के छ र ? हाम्रो जीवनमा जे राम्रो हुन्छ, त्यो असल घटना हो र जे नराम्रो हुन्छ त्यो खराब घटना नभएर एक शिक्षा हो, त्यसबाट सिकेर हामी अगाडि आउने जिन्दगीलाई उत्कृष्ट बनाउन सक्छौं । यो कुरा सबैलाई थाहा छ तर मानिस जीवनमा जे हुन्छ त्यो राम्रो नै हुन्छ भन्ने कुरा भुल्छन् । यसरी कुरा गर्दागर्दै उनीहरूको क्याराभान अलकेमिस्टको गाउँ अल्फ्यूम पुग्छ । तर त्यतिबेलै त्यहाँ कबिलामा युद्ध शुरु हुन्छ र सान्टियागो इजिप्टको लागि अगाडि बढ्न पाउँदैन । अब मरुभूमिमा क्रूर आदिवासीहरूको लडाइँबाट बच्नको लागि क्याराभानले एउटा लामो प्रवास गर्नुपर्ने हुन्छ । त्यसपछि सान्टियागो अंग्रेजसँगै अलकेमिस्टको घर खोज्नमा उसको मद्दत गर्छ । सान्टियागो र अंग्रेज अलकेमिस्टलाई खोज्दै त्यही गाउँको एउटा कुवा नजिक पुग्छन् । त्यहाँ सान्टियागोले फातिमा नामकी एक सुन्दर युवतीलाई भेट्छ । उनीसँग तुरुन्तै उसको प्रेम हुन्छ । फातिमाले ती दुवैलाई अलकेमिस्टको ठेगाना बताउँछिन् । तर फातिमासँग भेटेपछि सान्टियागो इजिप्ट जान चाहँदैन र दैनिक फातिमासँग भेट गर्न त्यो कुवामा जान्छ । अर्कोतिर अलकेमिस्टले अंग्रेजलाई भन्छ, तिमी मलाई दस वर्षदेखि खोजिरहेका छौं, यत्रो समयमा तिमी आफैले सुन बनाउने प्रयास गरेनौं र ? अंग्रेज भन्छ, गरिनँ । अलकेमिस्टले फेरि भन्छ, त्यसो भए जाउ र प्रयास गर्न शुरु गर, किनकि कुनै पनि चीजको आविष्कार गर्नको लागि निरन्तर प्रयास गर्नु नै सबभन्दा सरल उपाय हो । यदि तिमीले प्रयास गरेको भए आफैले सुन बनाउन सिकेका हुन्थ्यौं । मसँग आउने आवश्यकता नै पर्दैनथ्यो । मरुभूमिमा चहलपहल गर्दै गर्दा सान्टियागोले एउटा सङ्केतको व्याख्या गर्छ । एकदिन सान्टियागोले दुई बाजहरूलाई लडाइँ गरिरहेको देख्छ, त्यसपछि उसलाई त्यो गाउँमा कुनै सेनाले आक्रमण गर्दैछन् भन्ने कुराको आभास हुन्छ । यो कुरा सान्टियागोले त्यो गाउँको सरदारलाई बताउँछ । सरदारले सान्टियागोको कुरा सुनेर आफ्ना सेनालाई तयारी अवस्थामा राख्छ । तर उसले सान्टियागोलाई भन्छ, यदि तिम्रो आभास वा सपना गलत सावित भयो भने म तिम्रो गर्दन काटिदिन्छु । भोलिपल्ट वास्तवमै एउटा सैन्य दस्ताले त्यो गाउँमा आक्रमण गर्छ तर सरदार पहिलेदेखि नै तयार भएकोले गर्दा उसले लडाइँ जित्छ । यसबाट खुशी भएर सरदारले सान्टियागोलाई ५० सुनका मोहर दिन्छ र गाउँको परामर्शदाता बनाइदिन्छ । अब सान्टियागो फातिमासँगै नखलिस्तान अर्थात् अलफयूम ओएसिसमै बस्ने विचार गर्छ । किनकि अब उसको लागि फातिमा नै सबभन्दा ठूलो खजाना थिइन् । भोलिपल्ट सान्टियागोले यही कुरा फातिमालाई बताउँछ । त्यसपछि फातिमाले उसलाई भन्छिन्, तिमीले आफ्नो सपनालाई पूरा गर्न जानुपर्छ । किनकि साँचो प्रेमले कहिल्यै पनि आफूलाई मन पराउनेलाई उसको सपना पूरा गर्नबाट रोक्दैन । उनी अगाडि भन्छिन्, म यहीं बसेर तिम्रो प्रतीक्षा गर्नेछु । यसपछि अलकेमिस्टले सान्टियागोलाई खजाना भएको ठाउँसम्म लैजाने कुरा गर्छ र उनीहरू त्यसको खोजमा निक्लिन्छन् । अगाडि बढ्दै गर्दा पिरामिड नजिकै सान्टियागो र अलकेमिस्टलाई एक युद्धरत आदिवासीद्वारा बन्दी बनाइन्छ र दुवैमाथि जासूसीको आरोप लगाइन्छ । यसपछि त्यो अलकेमिस्टले आदिवासीहरूलाई भन्छ, हामीलाई केही पनि थाहा छैन, हामी त केवल शिकार गर्न निक्लिएका हौं । अलकेमिस्टले आदिवासीहरूलाई भन्छ, सान्टियागो एक शक्तिशाली जादूगर हो, उसले स्वयंलाई हावामा परिवर्तित गर्न सक्छ । आदिवासी यो कुराबाट प्रभावित हुन्छन् र भन्दछन्, यदि सान्टियागोले जादू गरेर देखायो भने उनीहरूलाई मुक्त गरिनेछ । तर समस्या के हुन्छ भने सान्टियागोलाई जादू कसरी गर्ने भन्ने कुरा थाहा नै हुँदैन । उसले अलकेमिस्टलाई भन्छ, तपाईंले त मलाई फसाइदिनुभयो र अब हामी दुवै मारिनेछौं । यसपछि अलकेमिस्ट भन्छ, तिमी मृत्यु र हार्ने डरलाई भित्रैबाट अन्त्य गरिदेउ र आफ्नो ध्यान मरुभूमिमा लगाउ । तिमी सजिलैसँग हावामा हराउन सक्छौं । सान्टियागो अब ध्यान गर्न लाग्छ । पहिले ऊ मरुभूमिलाई सोध्छ, अनि हावालाई सोध्छ, सूर्यलाई पनि सोध्छ र अन्ततः आफ्नो अन्तर्हृदयको संसारलाई सोध्छ, के म स्वयंलाई अलप बनाउन सक्छु ? त्यही बेला हावाद्वारा सान्टियागोलाई एक कोर्रा मारिन्छ र ऊ अलप हुन्छ । ऊ शिविरको अर्कोतिर पुनः देखा पर्छ । अब उनीहरू दुवैको जीवनको रक्षा हुन्छ ।यसपछि केही दिन यात्रा गर्दै उनीहरू एउटा सन्यासीकोमा पुग्छन् । अलकेमिस्टले त्यो सन्यासीको घरमा तामालाई सुनमा परिवर्तित गरेर देखाउँछ र त्यसलाई चार टुक्रा बनाइदिन्छ । एउटा टुक्रा आफूसँगै राख्छ, एउटा सान्टियागोलाई दिन्छ र बाँकी दुई सन्यासीलाई दिन्छ । उसले सन्यासीलाई भन्छ, एक टुक्रा तपाईंको लागि हो र एक टुक्रा सान्टियागो पिरामिडबाट फर्किएपछि उसको लागि हो । त्यसपछि अलकेमिस्ट त्यहाँबाट फर्किन्छ । सान्टियागो अरु केही समय यात्रा गरेर पिरामिडको निकट पुग्छ र खजानाको लागि उत्खनन् शुरु गर्छ । त्यहीबेला त्यहाँ केही मानिस आउँछन् र उसबाट त्यो सुनको टुक्रा खोस्दछन् । उनीहरूले यो सुन उसले यहीं उत्खनन् गरेर निकालेको होला भन्ने सोच्छन् । उनीहरूको सरदारले सान्टियागोलाई हिर्काउँदै भन्छ सबै सुन दिन भन्छ । त्यसपछि सान्टियागोले आफ्नो सपनाको सम्पूर्ण कुरा बताउँछ । लुटेराहरूमध्ये एक जना उसको कुरा सुनेर हाँस्छ र भन्छ, मैले पनि यस्तै सपना देखेको थिएँ; स्पेनको एउटा चर्चमा रूखमुनि एउटा गोठालो भेडासँगै सुत्ने गर्छ, त्यो रुखमुनि खजाना लुकाइएको छ । तर म यति मूर्ख छैन कि सपनाको पछाडि गएर उत्खनन् गर्न लागूँ । त्यसपछि ती मानिस सान्टियागोलाई पागल ठान्छन् र उसलाई त्यही छोडेर जान्छन् । उनीहरू गएपछि सान्टियागो धेरै खुशी हुन्छ र हाँस्न लाग्छ । सान्टियागोलाई अचानक आफूले सपना देखेको र सुतेको खण्डहर चर्चको बारेमा स्मरण हुन्छ । अब उसलाई के महसुस हुन्छ भने खजाना त उसले सपना देखेकै चर्चमा थियो । यसपछि ऊ आफ्नो गाउँ फर्किन्छ र त्यो चर्चमा जान्छ । त्यहाँ साइकोमोरको रूख थियो र त्यसको मुनि ऊ सुत्ने गर्दथ्यो । साइकोमोर इजिप्टको सङ्केत भएकोले सपनामा उसले त्यही देखेको थियो । उसले त्यहाँबाट खजाना निकाल्छ; त्यसमा धेरै डाइमण्ड र सुनका सिक्का हुन्छन् । र, उसले यसको दसौं हिस्सा हात हेर्ने महिलालाई दिने कुरा सोच्छ । त्यसपछि ऊ मरुभूमि फर्किन्छ, जहाँ फातिमा उसको प्रतीक्षा गरिरहेकी थिइन् । मरुभूमिमा आएर उसले फातिमासँग विवाह गर्छ र तिनीहरू दुवैले आफ्नो जीवन खुशीपूर्वक बिताउन लाग्छन् । सन्दर्भ स्रोतहरू 1. Coelho, Paulo. The Alchemist, HarperOne, 1993 (English Translation).2. Khan, A. (2015). Symbolism in The Alchemist. International Journal of English and Literature.3. Rahmawati, L. (2020). The Journey of Self-discovery in Paulo Coelho’s The Alchemist. Journal of Language and Literature.4. http://www.paulocoelho.com/5. https://ia601006.us.archive.org/13/items/OceanofPDF.comTheAlchemist/_OceanofPDF.com_The_Alchemist.pdf6. Study and Research of various websites, blogs, online portals, youtube channels, etc. The post सपनाको खोजमा निरन्तर यात्रारत एक युवकको गाथा ‘अलकेमिस्ट’ appeared first on साहित्यपोस्ट.