Redirecting...

‘पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य’ - nagariknews.nagariknetwork.com

‘पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य’ - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको इतिहासमै कार्यक्रम काठमाडौंबाहिर हुन लागेको यो पहिलोपल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्ट्स समिट पनि आयोजना गरिएको छ। मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो। मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन्।‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ। अब हामी अवार्ड कार्यक्रमकै व्यग्र प्रतीक्षामा छौं,’ उनले भने, ‘हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपर्ने लागेको थियो तर पोखरामा आएपछि हामीले चुनौतीभन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तव्य बन्नेछ।’त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेलइतिहासमै नयाँ अध्याय थपिएको बताए। ‘पोखरा सहर स्पोटर्स हबको रूपमा स्थापित हुँदै छ। अब स्पोर्ट्स अवार्डको सफल आयोजनाले पोखराको खेलक्षेत्र अझ विस्तृत र फराकिलो हुनेछ,’ उनले भने।अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ। अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ। स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्। यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ।त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन्। पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल छन्। यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ।