प्रधानमन्त्रीको अनुभव: मैले ४३ हजारमा चुनाव लडेर १० हजार बचाएको थिएँ - nagariknews.nagariknetwork.com
नेपालमा चुनावी राजनीति महँगो र भड्किलो बन्दै गएको वर्तमान सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो निर्वाचनको अनुभव सुनाउँदै आफूले जम्मा ४३ हजार रुपैयाँमा चुनाव लडेर १० हजार रुपैयाँ बचाएको रोचक प्रसंग सुनाएका छन्।पैसा र शक्तिको आडमा नभई जनताको विश्वास र निष्ठाको बलमा पनि चुनाव जित्न सकिने बताउँदै उनले विगतको स्मरण गरे।आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको पुस्तक ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन ईतिहास’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो चुनावी यात्राका अविस्मरणीय पक्षहरू सुनाएका हुन्।आफ्नो पहिलो आम निर्वाचन २०४८ सालको स्मरण गर्दै उनले भने, ‘त्यो बेला मेरो निर्वाचनका लागि साथीहरूले चन्दा उठाएर जम्मा ४३ हजार रुपैयाँ जम्मा गर्नुभएको थियो। त्यसमध्ये २१ हजार निर्वाचनमा खर्च भयो, गाडीबाट खसेर घाइते भएका दुई जना साथीहरूको उपचारमा १२ हजार खर्च भयो र बाँकी १० हजार रुपैयाँ चुनावपछि पार्टीको कोषमा बचत रह्यो।’आफ्नो राजनीतिक यात्राको अर्को एक प्रसंग सुनाउँदै उनले पार्टीले दिएको बाटो खर्चको कथा पनि सुनाए।‘पार्टीले मलाई चुनावमा जानका लागि बाटा खर्च भनेर २०० रुपैयाँ दिएको थियो। बस भाडा १८० रुपैयाँ लाग्थ्यो, २० रुपैयाँ बीचमा खाना खानका लागि थियो,’ उनले भने, ‘एकजना साथीले मेरो पनि खानाको पैसा तिरिदिएपछि त्यो २० रुपैयाँ बच्यो। चुनावपछि साथीहरूले ‘एक कप चिया पनि नखुवाई चुनाव सिध्याउने ?’ भनेर गुनासो गरे। मैले भनेँ, ‘पार्टीले दिएको २० रुपैयाँ मेरो खल्तीमा सुरक्षित छ, त्यसैले चिया खुवाउँछु।’उनले निर्वाचनलाई कालो धनलाई ठीकठाक पार्ने समयका रूपमा व्याख्या गर्ने प्रवृत्ति गलत भएको बताए। उनले भने, ‘मेरो अनुभवले के देखाउँछ भने, इमानदारी र निष्ठाका साथ जनतामाझ जाँदा पैसा र शक्ति चाहिँदैन। जनताको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति हो।’