झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ - bankingsamachar.com
काठमाडौं – प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका– १७ घर भई हाल काठमाडौं तारकेश्वर– ८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका– ३ घर भई हाल ललितपुर महालक्ष्मी– १ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका– ९ घर भई हाल काठमाडाैं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ परेकाहरूमाथि नागरिकता, लिखत किर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए ।