कपिलवस्तु कारागारमा लागु औषध मुद्दाका कैदीबन्दी धेरै - nagariknews.nagariknetwork.com
कपिलवस्तु कारागारमा सबैभन्दा बढी कैदीबन्दी लागु औषध मुद्दाका छन् । कारागारमा रहेका ४ सय ४८ कैदीबन्दीमध्ये १ सय ३७ जना लागु औषध मुद्दाका हुन् । सो मुद्दामा ७८ जना नेपाली कैदी र ५० थुनुवा रहेको कारागारका प्रशासक रेमलाल न्यौपानेले बताए । सो मुद्दामा ७ जना भारतीय कैदी र १ जना भारतीय थुनुवा छन् । यस्तै दोस्रोमा जबरजस्तीकरणी मुद्दाका १ सय २१ छन् । जबरजस्तीकरणी मुद्दामा ८५ जना नेपाली कैदी र ३२ जना नेपाली थुनुवा रहेको कारागार प्रशासक न्यौपानेले बताए । सो मुद्दामा भारतीय कैदी ३ जना र एक जना थुनुवा छन् । तेस्रोमा कर्तव्य ज्यान मुद्दाका ८७ जना कैदीबन्दी छन् । जसमध्ये नेपाली ६७ कैदी र १८ जना थुनुवा तथा भारतीय एक कैदी र एक थुनुवा छन् । सवारी ज्यानमा ३५ जना कैदीबन्दी, चोरीमा २१, डाकाचोरीमा ११, अपहरणमा ७, जिउ मास्ने बेच्नेमा ६, ज्यान मार्ने उद्योगमा ४ जना, ठगीमा ३, बहुविवाहमा ३ जना छन् । यस्तै कुटपिट अंगभंग, आत्महत्या दुरुत्साहन, अखेटो प्रहारमा दुई–दुई जना तथा अभद्र व्यवहार, हातहतियार खरखजाना, सरकारी छाप किर्ते, पशुपंक्षी सम्बन्धी कसुर, बाल विवाह, वन ऐन, बाल यौन दुरुपयोगमा एक–एक जना छन् । कुल २२ मुद्दाका ४ सय ४८ कैदी र थुनुवा कारागारमा रहेको न्यौपानेले बताए । ३ सय १६ कैदी र १ सय ३२ थुनुवा छन् । ए र बी ब्लक गरी २ कारागार भवनको ३ सय ५२ क्षमता रहेको छ ।