वैकल्पिक शक्तिको उभार, मन्त्रीदेखि तेस्रोलिंगीसम्मको नयाँ दल - pahichan.com
काठमाडौँ – जेनजी आन्दोलनपछि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको नाममा नयाँ राजनीतिक दल खोल्ने क्रम तीव्र बनेको छ। मङ्सिर १४ गतेसम्मको समयसीमाभित्र आगामी चुनावमा भाग लिनका लागि २६ नयाँ दलले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएका छन्। यससँगै, जेनजी आन्दोलनले पुराना दलप्रति देखाएको असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षालाई केन्द्रमा राख्दै वैकल्पिक राजनीतिक अभियानहरू सुरु भएका छन्। धरानका मेयर हर्क साम्पाङदेखि उर्जामन्त्री कुलमान घिसिङसम्मले नयाँ दल खोलेका छन्। आयोगमा दर्ता कायम दलको सङ्ख्या १२० पुगेको छ। ०६४ सालको पहिलो संविधानसभा चुनावमा ५४ दलले भाग लिएका थिए भने २०७० को दोस्रो संविधानसभा चुनावमा यो सङ्ख्या १३० पुगेको थियो। त्यसपछि २०७४ मा ८४ दल र २०७९ को प्रतिनिधिसभा चुनावमा ९५ दलले प्रतिस्पर्धा गरेका थिए। जेनजी आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको चुनावमा नयाँ दल दर्तामा उल्लेख्य उत्साह देखिएको छ। लोकतान्त्रिक र प्रजातान्त्रिक नाम राखेर दर्ता हुने १० दल, कम्युनिस्ट नाम राख्ने ७ दल र समाजवादी नाम राख्ने ५ दल रहेका छन्। महिला, अपाङ्गता भएका तथा दृष्टिविहीन व्यक्तिलगायत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय पनि पहिलो पटक छुट्टै दल दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा गठन गरिएको समावेशी समाजवादी पार्टीले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन दल दर्ता गराएको छ। निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलहरू एकता अभियानदेखि चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यमा जुटिरहेका छन्। धरानका मेयर हर्क साम्पाङले ‘हर्कवाद’ लागू गर्ने लक्ष्यसहित चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। बुधवार मात्र काठमाडौँमा वर्तमान सरकारका उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ले पनि तामझामका साथ औपचारिक रूपमा घोषणापत्र सार्वजनिक गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा मन्त्रीको हैसियतमा राजकीय ठाँटमा पुगेका घिसिङले आफ्नो मन्तव्यको प्रारम्भमा यो पार्टी आफ्नै हो भन्ने प्रष्टता भने जनाएनन्। पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूले ताली बजाएर स्वागत गर्दा घिसिङले आफू पार्टीको संरक्षक नभई मन्त्रीको रूपमा मात्र उपस्थित भएको प्रस्ट्याउन खोजे। https://pahichan.com/wp-content/uploads/2025/12/kulman-3.mp3 चुनाव गराउने जिम्मेवारी रहेको सरकारका मन्त्री घिसिङ भने राजनीतिक अभियान चलाइरहेका छन्। विद्युत् प्राधिकरणको नेतृत्वमा लोडसेडिङ अन्त्य गरेको लोकप्रियता बोकेर आएका उनले राज्य सञ्चालनमा पनि ‘राइट मेन, राइट प्लेस’ भए मात्र डेलिभरी दिन सकिने दाबी गरे। वर्तमान प्रमुख दलका बुढा नेतातर्फ लक्षित गर्दै घिसिङले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेनेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग “अनुभव बाहेक केही छैन” भन्ने टिप्पणी गरे। https://pahichan.com/wp-content/uploads/2025/12/kulman-1.mp3 रास्वपा छोडेकी नेतृ सुमना श्रेष्ठदेखि डा.सुन्दरमणि दीक्षितसम्म उपस्थित रहेको सो कार्यक्रममा सुमना श्रेष्ठले जेनजी आन्दोलनले सुरु गरेको नयाँ सोचअनुसार सबै नयाँ शक्ति एकै ठाउँमा आउनुपर्ने धारणा व्यक्त गरिन्। https://pahichan.com/wp-content/uploads/2025/12/sumana-1.mp3 घोषणापत्र पढेर सुनाउने जिम्मेवारी पाएकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले अन्य दलका जनप्रतिनिधिलाई पनि आफ्नो पार्टीमा आउन अपिल गरिन्। https://pahichan.com/wp-content/uploads/2025/12/Rima-3.mp3 जेनजी घाइते परिवारतर्फबाट केन्द्रीय सदस्य सिता पाण्डेले “नरसंहार मच्चाउनेलाई कारबाही गर्न नसकेको” भन्दै सरकारसँग जवाफ मागिन्। https://pahichan.com/wp-content/uploads/2025/12/aama-.mp3 ‘बलिरहेको चिम’ चुनाव चिह्न रहेको पार्टीले सभास्थलको प्रवेशद्वारमै ठूलो चिमको प्रतीकात्मक संरचना सजाएको थियो। कुलमान घिसिङको पार्टीको यही चुनाव चिन्हमा चुनावमा जाने सहमति गरेको खगेन्द्र सुनारको ‘हाम्रो पार्टी’ले सहमति भङ्ग गरेकाे छ। सुनारको पार्टीले बिहीबार घोषणापत्र सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।