Redirecting...

कांग्रेसमा टिकट : गगन-देउवा ४०-४०, शेखर २० प्रतिशत ! - www.nepaliheadline.com

कांग्रेसमा टिकट : गगन-देउवा ४०-४०, शेखर २० प्रतिशत ! - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- निर्वाचन आयोगले गगन थापालाई आधिकारिक सभापतिको मान्यता दिएपछि तीन चिरा बनेको कांग्रेसमा प्रतिनिधि सभाको आसन्‍न निर्वाचनका लागि प्रतिशतका आधारमा सिटक बाँडफाँट गर्ने सहमति जुटेको छ। कांग्रेस सभापति गगन थापा निकटस्थ एक नेताका अनुसार सभापति थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले ४०-४० प्रतिशत सिटमा उम्मेदवारी दिने तय भएको छ। वरिष्‍ठ नेता डा. शेखर कोइरालाको समूहलाई पनि २० प्रतिशत सिटमा उम्मेदवार दिइने भएको छ। ‘नेपाली कांग्रेस एकजुट भएर चुनावमा होमिने निश्‍चित भएको छ। सोहीअनुसार सिट बाँडफाँटमा सहमति कायम भएको छ,’ ती नेताले नेपाली हेडलाइनसँग भने। टिकट बाँडफाँटमा पार्टी सभापति गगन थापा, निवर्तमान सभापति देउवा र डा. शेखरका समूहबाट एनपी साउद, जीवन परियार, बद्री पाण्डे, मिनेन्द्र रिजाल, रमेश लेखक, बालकृष्‍ण खाँडलगायत नेताहरू सहभागी रहेको गगन समूहका एक नेताले जानकारी दिए। डा. शेखरले भने टिकट बाँडफाँटमा आफ्नो संलग्नता नरहेको बताएका छन्। र, कहाँ बसेर कसले टिकट बाँड्दैछ भन्‍ने जानकारी नभएको उनले सचिवालयमार्फत प्रष्‍टीकरण दिएका छन्। ‘जसले जसरी टिकट बाँडे पनि कांग्रेस एकढिक्का भएर चुनावमा होमिने निश्‍चित भयो,’ लुम्बिनीको एक जिल्लाबाट टिकट पाएर उम्मेदवारी दर्ताका लागि जाँदै गरेका शेखर समूहका एक नेताले भने, ‘कांग्रेसको मत एक ढिक्का राख्न सक्षम हुन्छौं भन्‍ने विश्‍वासका साथ आजदेखि चुनावमा होमिँदै छौं।’ तथापि, कांग्रेस सभापति गगन थापा निकटस्थहरू भने संसदीय बोर्डको बैठकमार्फत टिकट बाँडफाँट भएको दाबी गरेका छन्। र, सबै पक्षलाई मिलाएर टिकट बाँडिएको दाबी पनि गरेका छन्। उक्त बोर्डमा सभापति थापा, उपसभापतिद्वय विश्‍वप्रकाश शर्मा र पुष्‍पा भुसाल, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल तथा आठैजना सह-महामन्त्री छन्।