लोकेन्द्रबहादुर चन्दलाई एक सय एक संस्थाको सामूहिक अभिनन्दन - ehimalayatimes.com
भक्तपुर । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक रूपमा अभिनन्दन गरिएको छ । तारा किशन फाउण्डेशन, साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाजको संयोजनमा एकसय एक संस्थाले भक्तपुर ठिमीमा एक विशेष कार्यक्रमबीच अभिनन्दन गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले उहाँ र उहाँकी धर्मपत्नीलाई दोसल्ला दुवोको माला टोपी लगाएर अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले चन्दका बारेमा विस्तृत परिचर्य राख्नुभएको थियो भने अध्यक्ष लेकालीले कार्यक्रमका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । यस्तै, श्रीओमले अभिनन्दन वाचन गर्नुभएको थियो । वरिष्ठ साहित्यकार चन्दले अख्यान र निबन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ । उहाँलाई एकसय एक संस्थाका प्रतिनिधिले अलग-अलग पनि खादा, माला दोसोल्लाले अभिनन्दन गरेका थिए । नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध चन्द विभिन्न समयमा चार पटक नेपालका प्रधानमन्त्री बन्नुभएको छ । उहाँ कुशल शब्द-शिल्पी हुनुहुन्छ । मदन पुरस्कारसहित विभिन्न मानसम्मान र पुरस्कारले विभूषित चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिनुहुन्छ । पञ्चायतकालमा दुई पटक तथा त्यसपछि दुई पटक गरी चार पटक देशका प्रधानमन्त्री भइसक्नुभएका चन्दसँग राजनीतिको लामो अनुभव त छ नै साहित्यमा पनि उहाँको निकै लामो र महत्वपूर्ण योगदान छ । उहाँको ‘बाह्रौँ खेलाडी’ कृति अत्यन्त लोकप्रिय भएका कारण कतिपयले उहाँलाई सम्बोधन गर्दा नै ‘बाह्रौँ खेलाडी’ पनि भन्ने गरेको पाइन्छ । बाह्रौँ खेलाडी किनारीकृत खेलाडी जस्तो मानिए पनि निर्णायक खेलाडी पनि बन्न सक्छ खेलमा । उहाँको व्यक्तित्व राजनीतिसँगै साहित्यिमा अझ चम्किलो छ । कुशल साहित्यकार उहाँका एक दर्जन साहित्यिक कृति प्रकाशित छन् भने केही पुस्तक प्रकाशनको तयारीमा छन् । यही उहाँको साहित्यिक र समाजिक व्यक्तित्वलाई सोमबार एकसय एक विभिन्न संस्थाले अभिनन्दन गरेका हुन् । समारोहमा उहाँका पारिवारिक सदस्यसँगै विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।